सरकारमा आउन जसपालाई प्रधानमन्त्रीको प्रस्ताव, तर तत्काल नजाने

जनता समाजवादीको महन्थ ठाकुर समूह तत्काल सरकारमा नजाने भएको छ। तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले अहिले नै सरकारमा आउन प्रस्ताव गरे पनि जसपाले अझै केही दिन निर्णयका लागि समय लगाउने भएको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई ‌ओलीले बिहीबार दुई पटकसम्म बालुवाटारमा बोलाएर सरकारबारे छलफल गरेका थिए। तर दुवै नेताहरुले आफूहरुका माग पनि सम्बोधन हुँदै गएकाले उपयुक्त समयमा निर्णय लिएर सरकारमा आउने जवाफ दिएका छन्। 

ठाकुर-महतोले मधेस आन्दोलनका क्रममा परेका मुद्दा फिर्ता, संविधान संशोधनका लागि मस्यौदा समिति, टीकापुर हत्याकाण्डमा जेलमा रहेका रेशम चौधरीबारे ठोस निर्णय, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत कुरा सम्बोधन हुनुपर्ने मत राख्दै आएका छन्। उनीहरुले विस्तारै आफूहरुका माग सम्बोधन भएपछि सरकारमा जान समस्या नहुने मत राखेका छन्। 

'सरकारमा सहभागी हुन प्रस्ताव आएको छ। तर हाम्रा एजेण्डा सम्बोधन नभई सरकारमा जाने कुरा हुँदैन', ठाकुरनिकट एक नेताले भने, 'प्रधानमन्त्रीले केही मन्त्रीको नाम पनि मागेर आजै सपथ ग्रहण गराउने भन्‍नुभएको थियो तर हामी तत्काल सरकारमा जाँदैनौं।'

जसपाले अहिले बनेको ओलीको अल्पमतको सरकारलाई संसदबाट विश्वासको मत लिने क्रममा समर्थन गरेर सरकारमा जाने रणनीति बनाएको छ। त्यसबेलासम्म ओलीले आफ्ना केही माग पूरा गरिसक्ने मत उनीहरुको छ। 

जसपामा ठाकुर र महतो यसअघि ओलीकै पक्षमा थिए। वैशाख २७ मा ओलीले विश्वासको मत लिन नसकेपछि जसपाको उपेन्द्र यादव, माओवादी केन्द्र र कांग्रेसले नयाँ सरकार गठन थाल्न राष्ट्रपतिलाई भनेका थिए। 



त्यसपछि तीन दलले बहुमतको सरकार बनाउने प्रयास तीन दिनसम्म गरेका थिए। तर हिजो राति ९ बजेसम्म तीन दल सरकार बनाउन असफल रहे। यस्तोमा ठाकुर समूहले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वरस्थित रिसोर्टमा राखेको थियो। ठाकुर समूहले सांसद लुकाएपछि उपेन्द्र यादवसहित ठूला दुई दल सरकार बनाउन चुक्दा ओली तेस्रो पटक प्रधानमन्त्री भएका छन्। 



  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १३:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया