हेटौंडाका अस्पतालमा बेड भरिए, अक्सिजन सकियो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) मा अक्सिजन र बेड अभाव भएको छ । कोरोना संक्रमणका जटिल बिरामी भर्ना हुँदा अस्पतालले धान्न नसक्ने जनाएको हो । हेटौंडा अस्पतालमा अहिले ६० भन्दा धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो अस्पतालमा आइसियु १७ बेड,  एचडियु २० बेड, १६ स्टेपडाउनबेड र ५ भेन्टिलेटर रहेकोमा सबै बेड भरिएका छन् । कोरोना संक्रमित सबैलाई अक्सिजन लगाउन परेको अस्पतालले जनाएको छ । यस्तै इमर्जेन्सीमा अन्य कुनै पनि बिरामी भर्ना लिइएको छैन भने इमर्जेन्सीमा आएका कोरोना संक्रमितबाहेक सबै बिरामी बेड अभावमा फर्किनुपरेको छ । अस्पताल अन्तर्गत रहेका ७ वटा इमर्जेन्सी बेडमा कोरोना संक्रमित छन् ।

बेड नपाएका संक्रमित बिरामी कोही कुर्सीमा बसिरहेका छन् भने कोही एम्बुलेन्समै अक्सिजन लिएर बेड कुरिरहेका छन् । इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार एचडियु र आइसियुका बिरामी रेफर वा मृत्यु भएमा मात्रै इमर्जेन्सीका बेड खाली हुने स्थिति छ ।  हेटौंडाका अन्य कोभिड अस्पतालमा समेत बेडको अभाव भएको छ ।  

सरकारले नसकेको हामीले कहाँबाट ल्याउने ?

अस्पतालले बिरामी आफैंले अक्सिजनको व्यवस्था गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेपछि बिरामीका आफन्तहरू अस्पताल माथि खनिएका छन् । बिरामीका आफन्तहरू अक्सिजन र बेड नपाएर सरकारसँग आक्रोश व्यक्त गरिरहेका छन् । अहिले हेटौंडा अस्पतालमा ६० भन्दा धेरै बिरामीलाई हाइफ्लो अक्सिजन दिएर राखिरहेको छ ।

मदन भण्डारी प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईँका अनुसार अब हाइफ्लो अक्सिजन दिनेको संख्या कम गर्ने तयारी गरिएको छ ।  आफ्नो दाइको कोभिड उपचार गर्न आएकी एक युवतीले आक्रोश व्यक्त गर्दै भनिन्, ‘सरकारले दिन नसकेको अक्सिजन हामीले कहाँबाट ल्याउने ? पहुँच हुने ठूलाबडाले पो ल्याउँछन् अक्सिजन हामीले कसरी ल्याउने ?’ अस्पतालमा आएको अधिकांश बिरामीका आफन्तले सरकारप्रति चर्को आक्रोश व्यक्त गरिरहेका थिए ।      



अब भर्ना लिन सक्दैनौं : फोकल पसर्न 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले अब हेटौंडा अस्पतालमा बिरामी भर्ना लिन नसक्ने बताए । काफ्ले बिहीबार बेलुकादेखि नै कतैबाट पनि अक्सिजनको व्यवस्थापन गर्न नसकिएको भन्दै अस्पताल भर्ना भएका बिरामीलाई अक्सिजन दिन सक्ने अवस्था नरहेको बताए ।



उनले  हेटौंडामा अक्सिजन प्लान्ट नभएको कारण अन्य जिल्लाकै भर परिरहेको बताए । उनले बिरामीलाई अक्सिजन बिना अस्पतालमा राख्न पनि नसकिने र छोड्न पनि नसक्ने अवस्था भएकाले बागमती प्रदेशकै सिन्धुली जिल्लाको अस्पताल जान बिरामीलाई आग्रह गरिएको बताए । काफ्लेका अनुसार सिन्धुली अस्पतालमा १० जनासम्म बिरामी पठाउन मिल्ने अन्यको के गर्ने भन्ने अहिलेसम्म निचोड नआएको बताए ।

निजी अस्पतालले उठाए हात 

अक्सिजनको अभावमा हेटौंडास्थित दुईवटा निजी अस्पतालले कोभिड-१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका छन् । केही दिनअघि मात्रै कोभिड अस्पतालका रूपमा सेवा सुरु गरेका दुवै अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा शुक्रबारदेखि कोभिड संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा उपचार प्रभावित हुने जनाएका छन् । हेटौंडा-१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालमा ६ जना उपचाररत छन् भने हेटौंडा-११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलमा ४ जना कोभिड-१९ संक्रमित बिरामी उपचाररत छन् । दैनिक दुवै अस्पताललाई करिब ३० सिलिन्डर अक्सिजन आवश्यक हुने बताइएको छ ।

चुरेहिल हस्पिटलले बिहीबार ५ सिलिन्डर मात्रै अक्सिजन प्राप्त गरेको अस्पतालका प्रशासन प्रमुख विवेक मानन्धरले जानकारी दिएका छन् । यस्तै मकवानपुर सहकारी अस्पताललाई भने शुक्रबार ५ सिलिन्डर अक्सिजन उपलब्ध गराउन सक्ने जानकारी प्राप्त भएको सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मीले जानकारी दिए । पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा सेवा प्रभावित हुने निश्चित भएको दुवै अस्पतालका अधिकारीको भनाइ छ ।

  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १८:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया