राष्ट्रिय सभामा खिमलाल कि बादल ?

नेकपा एमाले नेता माधव नेपाल समूहबाट बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले पछि नहट्ने घोषणा गरेपछि राष्ट्रिय सभाको उम्मेदवार एमालेबाट को बन्ने भन्ने विषय अन्योलमा परेको छ ।

बादल आधिकारिक, खिमलाललाई विकल्प  

नेकपा एमाले बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले पार्टीको आधिकारिक उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भएकाले उनलाई नै एमालेको उम्मेदवारका रूपमा जिताउने बताए । उनले भने, ‘एमालेको चुनाव चिह्न सूर्य हो, सूर्य जसले लिएर उठेको छ हामी एमालेले त्यसैमा भोट हाल्ने हो । अन्य विकल्प सोच्दैनौँ ।’ पाण्डेले डा. खिमलाल पनि एमालेको बौद्धिक नेता भएकाले अर्को राष्ट्रिय सभाको चुनाव वा पार्टीले अन्य विकल्पमा अधिकार दिनसक्ने बताए ।

पर्ख र हेरमा कांग्रेस

बागमती प्रदेशमा माधव पक्षका एमाले नेता खिमलालको समर्थक बनेको नेपाली कांग्रेस भने अहिले आफ्नो उम्मेदवार नहुँदा संकटमा परेको छ । एमाले मिलेका अवस्थामा कांग्रेसले भोट हाल्नु र नहाल्नुको खासै अर्थ नरहेको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ लामाले बताए । लामाले भने, ‘राष्ट्रिय राजनीतिमा के परिवर्तन हुन्छ, हेरौं तर हाम्रो उम्मेदवार नै भएन भने त कसरी भोट हाल्न जानु खै ?’ 

केन्द्रको निर्णय कुर्दै माओवादी 



माधव पक्षका एमाले नेता खिमलालको प्रस्तावक बनेको नेकपा माओवादी केन्द्र भने केन्द्रको निर्णयको पर्खाइमा छ । अप्रत्यासित रूपमा एमाले एक भएकाले राष्ट्रिय सभामा के गर्ने विषयमा छलफल नभएको भन्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकी उपनेता कुमारी मोक्तान भन्छिन्, ‘हामी डा. देवकोटाको समर्थक हौं, तर बागमती प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवारीमा जुन माहोल थियो अहिले त्यो छैन, केन्द्रले के भन्छ त्यही अनुसार हामी अगाडि बढ्छौं ।’

एकता भए सूर्यलाई भोट : माधव पक्ष  



बागमती प्रदेशमा नेकपा एमाले माधव पक्षका नेताको हैसियत बनाएर उम्मेदवारी बनाएका खिमलालले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएपछि माधव पक्ष पनि पार्टी एकतालाई हेरिरहेको छ । बागमती प्रदेशको माधव नेपाल पक्षले पार्टीमा एकताको अधिकतम प्रयास भइरहेका बेला ६ गतेसम्म पार्टी एकता भए सूर्य चिह्नमा भोट हाल्ने एक सांसदले बताए ।

एमाले माधव पक्षकी नेतृ प्रदेश सभा सदस्य मुनु सिग्देलले भने पार्टीको आधिकारिक उम्मेदवारलाई नै भोट हाल्ने बताइन् । उनले अहिलेसम्म देवकोटालाई नै उम्मेद्वारको रूपमा हेरेको भन्दै ६ गतेसम्म पार्टीको केन्द्रमा के हुन्छ भन्ने कुराको पर्खाइमा रहेको बताइन् ।

एमालेको एकल बहुमत 

बागमतीमा राष्ट्रियसभाका लागि एमाले एक्लैको बहुमत रहेको छ । देवकोटाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा केही मत बाँडिन सक्ने जोखिम कायमै छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकजना प्रदेशसभा सदस्यको मत बराबर ४८ मत तथा स्थानीय तहका प्रमुख-उपप्रमुखको एक मत बराबर १८ मत गणना हुनेछ । बागमती प्रदेशभित्र ११० प्रदेशसभा सदस्यको ५ हजार २८० र ११९ स्थानीय तहका २३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २८४ सहित जम्मा ९ हजार ५६४ मत छ ।

बागमतीमा एमालेको एक्लैको मतसंख्या ९ हजार ५५६ छ । एमाले अब एक भइसकेकाले बागमतीमा ५६ जना प्रदेशसभा सदस्यको २ हजार ६४० मत छ । त्यहाँ माओवादी केन्द्रका २३ प्रदेशसभा सदस्यको १ हजार १०४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ । नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन् । स्थानीय तहतर्फ एमालेका १३३ अध्यक्ष/उपाध्यक्ष छन् ।

  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार २१:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया