समाचारले संक्रमितलाई तनाव : डाक्टर भन्छन्, 'समाचार सत्य नै हुन् तर आत्तिनु भएन'

विश्वमै पहिलो पटक चीनमा कोरोना भाइरस भेटियो रे ! त्यसको कुनै औषधि उपचार छैन रे ! भन्दा हामी नेपालमा निकै भयभित हुने गर्थ्याैँ। 

कोरोना संक्रमणबाट चीनको वुहानमा मान्छेको मृत्यु भएको, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीका हैरानी, अस्पतालमा बिरामीको थेगि नसक्नु भीड यस्ता समाचारले कतै त्यो भाइरस नेपाल पनि आयो भने? भन्ने प्रश्न हाम्रो मनमा उब्जिरहेको हुन्थ्यो। 

त्यसको एक–दुई महिनामा त्यो विश्वभर फैलियो। चीनमा देखिएको नेपालमा त्योबाट अछुतो रहेन। अहिले कोभिड–१९ भाइरसको दोस्रो लहरको सामना नेपालले गरिरहेको छ। 

करिब डेढ वर्ष अगाडि चीनको वुहान सहरमा कोरोना संक्रमणको जुन अवस्था थियो। अहिले नेपालको अवस्था त्यो भन्दा कयौँ गुणा बढी भयावह छ।

संक्रमितको संख्या चीनको भन्दा ५ गुणा नाघिसक्यो। दैनिक २०० जनाको मृत्युलाई सामान्य मान्नु पर्ने अवस्था अहिले नेपालमा छ। 

नेपालका कोरोना संक्रमणको बढ्दो ग्राफ, अस्पतालमा बिरामीको बिचल्ली, तिनका आफन्तको पीडा, अक्सिजन नपाएर ज्यान गुमाउनु परेको अवस्था जस्ता समाचारले अहिले आम नेपालीलाई पीडा दिइरहेको छ। 



यस खालका खबरले आफैँ संक्रमणको शिकार भएर आइसोलेसनमा बसिरहेकाहरूलाई झन तनाव थप्ने गरेको देखिन्छ।  आफूमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि हुनेबित्तिकै मनमा एकखालको डर पैदा हुने संक्रमितहरू बताउँछन्।  

मलाई पनि केही हुने त होइन? गाह्रो भए अस्पतालमा बेड नपाउँदा के होला ? यस्तै कुरा मनमा खेल्दा केही तनाब हुने गरेको उनीहरूको भनाइ छ।



कतै हिड्न नमिल्ने, प्राय एउटै कोठामा बसिरहनु पर्ने हुँदा यस समय अधिकांशको समय कटाउने माध्यम सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू नै हुन्। उनीहरूले सञ्चार माध्यममा आएका समाचार हेरिरहेका हुन्छन्।

मृत्युको खबर सुनेर आफैं पनि मरिने हो कि भन्ने डर लाग्ने गरेको बताउँछन् रुपक बाँनिया। उनलाई कोरोना संक्रमण भएको शनिबार ५ दिन भयो। संक्रमण पुष्टि भएसँगै उनी घरमा नै आइसोलेसनमा बसेका छन्। उनी सञ्चार माध्यममा आउने समाचार नियमित हेरिरहेका हुन्छन्। 
शव जलाउने ठाउँ नभएको, अस्पतालमा भएको नाजुक अवस्था जस्ता समाचारले आफूलाई मानसिक तनाव थप्ने गरेको उनको भनाइ छ। 

‘कोरोनाले गर्दा जिउ दुखेर, ज्वरो आएर यसै कमजोर भएको छु’ बानियाँ भन्छन्, ‘त्यसमाथि मृत्यु भएको खबर, अक्सिजनको कमी जस्ता समाचारले मलाई त नबाँचिएला कि, बाँच्ने दिन सकिएको होकि जस्तो लाग्छ।’ 

३१ वर्षीय बाँनिया सँगै उनकी श्रीमती र आमालाई पनि संक्रमण देखिएको छ।  आफ्नो मात्रै नभएर आमा र श्रीमतीलाई केही होला कि भन्ने चिन्ता उत्तिकै छ उनलाई। 

देशमा कोरोनाको भयावह अवस्था, संक्रमितको शव बोकेको जलाएका, फोटो। भिडियो देखेर मनमा एक किसिमको डर र तनाव पैदा हुने बानियाँ सुनाउँछन्।

कोरोना संक्रमण भई हाल संक्रमणमुक्त भएका मनोज खत्री पनि सञ्चार माध्यममा आउने समाचारहरू हेर्न थालेपछि निकै तनाव थपिने गरेको बताउँछन्। 

समाचार हेर्दै जाँदा सामान्य अवस्थामा पनि आफूलाई गाह्रो भएको जस्तो लागेर डराएको अनुभव खत्रीसँग छ। 

‘कोठामा झ्याल खोल्न बिर्सिएको रहेछु। टेलिभिजनमा समाचार हेर्दै थिएँ। सास फेर्न गाह्रो भएको जस्तो भयो। समाचार हेरेर निकै आत्तिएँ' उनले सुनाए ।  उनी निकै

आत्तिएर हतार–हतार गएर झ्याल खोले। झ्याल खोलेपछि सहज महसुस भयो। ‘अनि पो मलाई थाहा भयो, समाचारका कारण तनाव भएर म धेरैे आत्तिएको रहेछु’ खत्रीले भने।  झ्याल लगाएका कारण सास फेर्न अलि असहज भएको रहेछ भन्ने थाहा पाए उनले। 

सञ्चार माध्यममा कोभिड सम्बन्धि जानकारी दिँदा निको भएका, कोरोना जितेका कुरालाई पनि प्राथमकिता दिए अन्य संक्रमितको मनोबल बढ्ने खत्रीको बुझाइ छ।  

चिकित्सक भन्छन्–समाचारले आत्तिनु पर्दैन

हाल अस्पतालमा बेड नहुनु तथा अक्सिजनको कमी हुनु सत्य कुरा भएकाले ती समाचार दिनु सञ्चार माध्यमको काम, कर्म भएको चिकित्सकको भनाइ छ। 

त्रिवि शिक्षण अस्पतालका डाक्टर निरज बम समाचार सत्य भएपनि त्यो हेरेर आत्तिने भन्दा पनि आफ्नो स्वास्थ्यमा ख्याल गर्न सुझाव दिन्छन्। 

‘सञ्चार माध्यममा आउने प्राय समाचार सत्य छन्। विशेषतः यस महामारीको समयमा सत्य घटना प्रसारण/प्रकाशन गर्नु सञ्चार माध्यमको दायित्व हो’ डा.बम भन्छन्, ‘अहिले जो कोही बिरामी अथवा स्वस्थ्य व्यक्ति घरमा हुनुहुन्छ,आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, स्वास्थ्य मापदण्ड पालना गर्नुहोस् नआत्तिनुस्।’ 

घरमा बसेर समाचार हेरेर÷सुनेर आत्तिने कोरोनाले लाग्यो मर्छु कि भन्ने खालका सोच नल्याउन उनको आग्रह छ। सकेसम्म दिमागलाई रमाइला कुरा र काममा केन्द्रीय गरेर तनावमुक्त हुन् डा. बमको सुझाव छ , ‘समाचार प्रसारण गर्नु सञ्चार माध्यमको काम हो तर समाचार हेरेर चिन्ता लिएर, अनेक परिकल्पना गर्न हुँदैन’ उनी भन्छन्।  

यो महामारी भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित बस्दै यसलाई परास्त गर्नेमा लाग्नुपर्ने उनको भनाइ छ।  ‘यो समय छिट्टै टरेर जानेछ। कोरोनाको पहिलो लहरमा जसरी हामीले एकता देखाएर परास्त गर्यौं त्यसरी नै यो पनि गर्नेछौं’ डा. बम विश्वस्त हुन आग्रह गर्छन्।  

कोरोना लाग्दैमा मृत्यु भइहाल्ने नभएर निको हुने कै संख्या अधिक भएकाले धेरै डराउनु आवश्यक नभएको शिक्षण अस्पतालका त्यस्तै टिचिङ अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्ले बताउँछन्। संक्रमण देखिएका केहीमा मात्रै गम्भीर अवस्था देखिएर मृत्युसम्म पुग्ने गरेकाले सामान्य अवस्थाको व्यक्ति आत्तिनु नपर्ने उनको भनाइ छ।  

‘कोरोना भन्दैमा मृत्यु हुने होइन। नआत्तिऔँ, स्वास्थ्य मापदण्ड पालना गरौं’, डा. काफ्लेको आग्रह छ।  कोरोना जित्नेको संख्या विस्तारै बढ्दो अवस्थामा रहेकाले केही दिन धैर्य गरेमा अवस्था सामान्य तिर जाने उनको ठहर छ।

संक्रमितको संख्या ठूलो भएका कारण अस्पतालमा बिरामीको चाप बढेको तर बिरामी हुने भन्दा सामान्य अवस्थामै धेरैले कोरोना जितिरहेको काफ्लेले बताए। 

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १०:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया