इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले उनी तत्काल पोर्चुगल फर्कन सम्भव नभएको बताएका छन् ।
पछिल्लो समय रोनाल्डो पोचुगिज क्लब स्पोटिङ सिपी फर्कने हल्ला चलिरहेका बेला मेन्डिसले उनी पोर्चुगल फर्कने सम्भावना नरहेको बताएका हुन् ।
रोनाल्डोकी आमाले केही समयअघि उनी अर्को सिजन स्पोटिङ सिपी फर्कने बताएकी थिइन् । रोनाल्डोले पनि स्पोटिङबाटै आफ्नो करियरको अन्त्य गर्ने इच्छा व्यक्त गरेका थिए ।
क्लबले यो सिजन पोर्चुगिज लिग जितेकाले पनि रोनाल्डो स्पोटिङ फर्कन सक्ने अनुमान गरिएको हो ।
‘स्पोटिङले लिग उपाधि जित्दा रोनाल्डोले पनि गर्व महसुस गरेका छन् तर करियरको योजनाअनुसार उनी तत्कालै पोर्चुगल फर्कर्दैनन्’ मेन्डिसले भने ।
रोनाल्डेले आफ्नो व्यावसायिक करियरको सुरुवात स्पोटिङबाटै गरेका थिए । सन् २००३ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड आएपछि उनको चर्चा हुन थाल्यो ।
रोनाल्डोले आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण स्पेनिस क्लब रियल मड्रिडमा बिताए । सन् २००९ देखि २०१८ सम्म त्यहाँ रहँदा उनले धेरै उपलब्धि हात पारे ।
२०१८ देखि युभेन्टसमा रहेका रोनाल्डोले क्लबको उद्देश्य अनुसार उपलब्धि हात नपारेको भन्दै आलोचना खेप्दै आएका छन् ।
युभेन्टसमा निकै निरास रहेका रोनाल्डोले यही सिजनबाट क्लब छाड्न सक्ने हल्ला चल्न थालेको छ ।
स्पोटिङले पनि रोनाल्डोको सम्मान स्वरुप आफ्नो घरेलु मैदानलाई उनको नाम दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।