खबर नेपालगन्ज डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँकेका सदस्य रइस साईको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको छ । उपचारका क्रममा साईको शनिबार भेरी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारीको कोरोना संक्रमणका कारण वैशाख दोस्रो साता मृत्यु भएको हो । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा दुई जना पत्रकारको ज्यान गइसकेको छ । भने ७५ जना संक्रमित रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले जनाएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काका अनुसार दाङमा २२, रुपन्देहीमा २३, बाँकेमा १७, बर्दियामा ५, कपिलवस्तुमा २, नवलपरासीमा ४ र पाल्पामा २ जना गरी ७५ जना संक्रमित उपचाररत छन् । संक्रमितको उपचारका लागि संघले आपसी समन्वय गरिरहेको उनले बताए । जसका लागि कोभिड कोष स्थापना समेत गरिएको उनले बताए ।
जिल्ला-जिल्लामा प्रारम्भिक आइसोलेसन
लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सञ्चारकर्मी पनि कोरोना संक्रमित हुन थालेपछि जिल्ला-जिल्लामा रहेका नेपाल पत्रकार महासंघका संरचनामा प्रारम्भिक आइसोलेसन कक्ष निर्माण गएको छ । दाङ शाखाले ६ बेड, रोल्पामा ५, अर्घाखाँचीमा ५, गुल्मीमा ५ बेडको प्रारम्भिक आइसोलेसन कक्ष निर्माण गरिएको महासचिव खड्काले जानकारी दिए ।
आइसोलेसन तयार भए पनि प्राविधिक र चिकित्सकको अभावमा उपचार सेवा सुरु गर्न नसकिएको उनले बताए । शाखाहरूमा तयारी अवस्थामा रहेका आइसोलेसन सञ्चालनमा आउन नसक्दा हाल संक्रमित सञ्चारकर्मी कोरोना विशेष अस्पतालमा उपचारार्थ रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।