एमाले मिलाउने कार्यदलमा टोपबहादुर रायमाझी पनि !

सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन बनाउन लागिएको कार्यदलमा माओवादीबाट आएका नेता टोपबहादुर रायमाझीलाई पनि राखिने भएको छ। उनलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कार्यदलमा राख्ने तयारी भएको हो।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको ओली-नेपाल पक्षको वार्तापछि कार्यदल बनाउने जिम्मा दुई शीर्ष नेतालाई दिने निर्णय लिएको थियो। 

१० सदस्यीय हुने कार्यदलको संयोजकमा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेललाई बनाउने करिब सहमति भइसकेको छ। कार्यदलमा दुवै पक्षका ५/५ जना नेता रहनेछन्। 

चपली हाइटमा बिहीबार ओली-नेपाल वार्ताले पार्टीलाई सहमतिको दिशामा अघि बढाउने निर्णय लिएपछि शुक्रबार सिंहदरबारमा दोस्रो तहका नेताहरुसहित अर्को वार्ता भएको थियो। 

उक्त वार्ताले कार्यदलका सदस्य छान्ने जिम्मेवारी ओली-नेपाललाई दिएको हो। हिजोको वार्तामा माओवादीबाट आएका नेता रामबहादुर थापा बादल पनि सहभागी भएका थिए।

नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ मा लैजाने अडान लिइरहेका बेला २०७७ पुस ५ पछि एमालेमा आएका बादल पनि ओली पक्षबाट बैठकमा सहभागी भएपछि त्यसलाई अर्थपूर्ण रुपमा लिइएको छ।



हिजोको बैठकले आज पनि वार्तामा बस्ने सहमति जुटाएको थियो। यदि आज वार्ता भएन भने ओली-नेपालले कार्यदलका सदस्य छान्ने छन्। कार्यदल सदस्यमा ओलीको तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, सुवास नेम्बाङ र टोपबहादुर रायमाझी रहने करिब पक्का भएको छ। 

असन्तुष्ट नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलाई राख्ने तयारी भएको छ। रघुजी पन्त र बेदुराम भुसालको नाममा अझै सहमति भइसकेको छैन। बिहीबार र शुक्रबार दुई पटक भएको वार्ताले एमालेलाई २०७५ जेठ २ आसपास लैजान ओली तयार भएको वरिष्ठ नेता नेपाल पक्षले बताउँदै आएको छ। 



  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १७:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया