गाजा तनाव : इजरायलको आक्रमणबाट अलजजिरा र एपीको कार्यालय भवन ध्वस्त

इजरायली सेना र हमास विद्रोही समूहबीचको तनाव बढेसँगै प्यालेस्टाइनको गाजामा एक सातादेखि रकेट युद्ध जारी छ । यसक्रममा इजरायली सेनाको आक्रमणबाट गाजाका भौतिक संरचनामा अत्यधिक क्षति पुगेको छ ।

हमासको कब्जामा रहेको गाजामा इजरायली सेनाले लगातार रकेट बम प्रहार गरिरहेको छ । यसैक्रममा सेनाको प्रहारबाट गाजामा अन्तर्राष्ट्रिय मिडिया अलजजिरा र एसोसिएट प्रेसको कार्यालय रहेको भवन पूर्णरुपमा ध्वस्त भएको छ । 

इजरायली सेनाको रकेट आक्रमणमा परेर शनिबार अलजजिरा र एपीको कार्यालय रहेको १५ तले भवन ध्वस्त भएको हो । इजरायली सेनाले भने उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ । 

सेनाले आक्रमण गर्नुभन्दा पहिला नै भवन छोड्न चेतावनी दिएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित स्थानमा गइसकेको हुँदा उनीहरुको अवस्था सुरक्षित रहेको बताइएको छ । उक्त भवनमा हमास समूहको कुनै कार्यालय नभएको पनि दाबी गरिएको छ ।

इजरायली सेनाको आक्रमणबाट आफ्नो कार्यालय रहेको भवन ढल्दै गरेको दृश्य अलजजिरा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । इजरायली आक्रमणको उसकै नागरिकले पनि विरोध गर्दै आएका छन् । 



आज बिहान पनि इजरायली सेनाले हमास प्रमुखका घरमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ देखि हमासको राजनीतिक र सैन्य विभाग प्रमुख रहेका येहा अल सिनवारको घरमा आक्रमण गरिएको समाचारमा जनाइएको छ । 

इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा ४१ जना बालबालिकासहित १४९ जनाले ज्यान गुमाएका छन् । हमासको आक्रमणबाट इजरायलतर्फ २ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । 



  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ९:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया