अभिनेता पल शाह कोरोनाको जोखिम मोलेर देशका विभिन्न स्थानका अस्पताल दौडिरहेका छन् । उनी विभिन्न स्थानमा रहेका रित्ता अक्सिजन सिलिन्डर कलेक्सन गर्छन् । ती सिलिन्डरमा अक्सिजन भर्छन् र आवश्यकता देखिएका अस्पतालमा पुर्याउँछन् ।
यहीबीचमा नेपाल सरकाले कोरोना संक्रमणका कारण मृत्यु भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गर्यो । पर्यटनमन्त्री भानुभक्त ढकालले यो निर्णय सार्वजनिक गरेसँगै उनको मन नराम्रोसँग भाँचियो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका छन् ।
पलले लेखे, ‘सरकारले ४ सय रुपैयाँको अक्सिजन दिन छोडेर, जनता तिमी मर, म तिम्रो लास जलाउनेका लागि एक हजार भत्ता दिनेछु । वाह सरकार तिम्रो नियत ।’
अक्सिजन अभावका कारण कुनै पनि सर्वसाधारणले ज्यान गुमाउनु नपरोस् भनेर आफूहरु लागिपरेको उल्लेख गर्दै सरकारको बेवास्ताले मन आक्रोशित पारेको बताएका छन् । पलले कोरोनाका कारण मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।
हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन र आवश्यकता भएका अस्पतालमा वितरण गर्दै आएका पल हिजो मात्रै जितपुर–सिमरा, बारा लगायतका स्थानमा पुगेर काठमाडौं फर्किएका छन् । काठमाडौंपछि दाङ जाने पलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।