‘हामी थाकेका छैनौं, थाक्ने अवस्थामा भने पुगिसकेका छौं’
‘सरकारी निकायबाटै सहयोग भएन’

कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अवस्था निकै सकसपूर्ण बनेको छ । एकातिर अक्सिजन नपाएर मानिसहरू प्राण त्याग्न बाध्य भइरहेका छन् । अर्कोतिर देशभर विभिन्न जिल्लामा जारी निषेधाज्ञा, लकडाउनका कारण जनजीवन प्रभावित बनेको छ । 

ठूला र सुविधा सम्पन्न मानिएका निजी अस्पतालहरूले उपचारबाट हात झिक्न थालेका छन् । 
बिल्डिङ माथि हेलिप्याड बनाएर बिरामीलाई हेलिकोप्टरमै ल्याउने अस्पताल यतिबेला थाङ्नामा सुतेका छन् । एउटा अक्सिजनको व्यवस्था गर्न नसकेर थप बिरामी भर्ना गर्न सक्दैनौं भन्दै विज्ञप्ति सार्वजनिक गर्न बाध्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अस्पतालका सबै बेड भरिएकाले नयाँ बिरामी भर्ना गर्न नसक्ने भन्दै दायित्वबाट पन्छिरहेको छ ।

गत ११ चैत २०७७ मा देशभर लकडाउन गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणमा लागिपरेको छ । मन्त्रालयले महामारी नियन्त्रणका लागि गर्दै आएको काम कारबाहीबारे जानकारी दिँदै आएका छन्, प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले । 

सरकारले महामारी नियन्त्रणमा गर्दै आएको प्रयास, यसको प्रभावकारिता, भावी योजना लगायतका विषयमा गौतमसँग फरकधारका लागि गरिएको कुराकानीको सम्पादित अंश : 

दिन प्रतिदिन संक्रमणसँगै मृत्युदर बढ्दो छ । यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकासँग केही योजना छैन ?

हामीले विभिन्न चार चरणमा काम गर्दै आएका छौं । पहिलो प्रिभेन्सन नै हो । हामीले सुरुदेखि नै भन्दै आएको कुरा यही हो, सावधानी अपनाउने ।



रोगबारे नबुझेका मान्छेहरूले गर्दा समस्या भइरहेको छ । पहिलो कुरा यसको उपचार छैन भन्ने अझै पनि धेरै मानिसहरूले थाहा पाएका छैनन् । संसारमा आज पनि कोभिड–१९ को उपचार छैन । यो कुरा नेपालीहरूले याद गरेको देखिँदैन । यो रोगलाई नेपालीले चिनेनन् । यसमा स्वास्थ्यकर्मीहरूले गर्ने काम एकदमै कम छ ।

जनताले गर्ने काम मात्रै धेरै छ । यसको रोकथाम गर्ने हो, त्यो भनेको जनताले गर्ने हो । त्यसका लागि हामीले जनचेतना फैलाउने, सचेत गराउने काम गर्दै आएका छौं । यसलाई थप प्रभावकारी ढंगले अगाडि बढाइरहेका छौं ।



विज्ञानले के भन्छ भने एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा दुई मिटरभन्दा नजिक भए सरेर जान्छ । ९० प्रतिशत संक्रमण त्यसरी नै सर्ने हो । १० प्रतिशत मात्र हो, सतह छोएर जाने भनेको । बोलेर, श्वास फेरेर ९० प्रतिशत रोग सर्छ । त्यसो भए दुई मिटरको भौतिक दूरी कायम गरिदिएको भए, मास्क लगाइ दिएको भए, ९० प्रतिशत संक्रमण त रोक्न सकिने रहेछ नि । यो रोक्न सकिएको भए आज हामी यो अवस्थामा आउने थिएनौं । त्यसैले ९० प्रतिशत काम भने व्यक्तिमा नै भर पर्छ । 

भनेपछि सरकारको काम त १० प्रतिशत मात्रै रहेछ । त्यति १० प्रतिशत काम पनि गर्न सकिएन छ ?

हो, १० प्रतिशत काम सरकार, स्वास्थ्यकर्मी, आइसियु, अक्सिजन आदिको हो । ९० प्रतिशतले सावधानी अपनाएनन् भने १० प्रतिशत हामीले केही गर्न सक्दैनौं । 
यस्तो अवस्थामा हामीले बहकिएर आइसियु र भेन्टिलेटरका पछि लाग्यौं भने ठूलो संख्यामा मृत्यु हुन्छ । त्यो तपाईं हामीले कल्पना गरेभन्दा बढी हुन्छ । त्यसैले पहिलो काम भनेको व्यक्तिले सावधानी अपनाउने नै हो ।

यसका लागि रोग सर्ने चेन ब्रेक गर्ने कुरा हामीले बारम्बार भनिरहेका छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तपाईंलाई मात्र बताइरहेको छैन, सरकारका अन्य मन्त्रालय, निकायलाई पनि बताइरहेको छ । ३ करोड जनताले अनिवार्य मास्क लगाएर दुई मिटर दूरी कायम गरिदिने हो भने अरू केही गर्नै पर्दैन । अहिले भएका बिरामीको त उपचार गर्न त्यति समस्या हुँदैन ।

स्वास्थ्य मन्त्रालयलाई प्रभावकारी ढंगबाट काम गर्न कतैबाट अवरोध आइरहेको हो ?

अवरोधभन्दा पनि रोगबारे नबुझ्दा समस्या भइरहेको छ । जनताले त बुझका थिएनन् नै सरकारी निकायले पनि रोगबारे बुझ्न सकेको छैन । अहिले त हामी एक्लै भएका छौं । किनभने विज्ञान बुझ्ने त हामी हौं । मेडिकल साइन्स बुझ्ने त हामी हौं । सरकार अन्य निकायबाट पनि धेरै सहयोग पाइएको छैन । त्यो सरकारको अंगमा आउने भने पनि त्यही समाजका मान्छे हुन् । 

मन्त्रालयले निषेधाज्ञा गरेपछि संक्रमण घट्ने भनेको होइन ? अहिले त झन बढिरहेको छ ? 

अहिले काठमाडौंमा निषेधाज्ञा गर्नुभन्दा तीन साताअघि निषेधाज्ञाका लागि अनुरोध गरेका थियौं । ६ सातादेखि हामीले चेतावनी दिँदै आएका थियौं । त्यसमा पनि निकै ढिला भयो ।
सरकारी निकायबाटै कुनै चासो नदिए पनि पछि हामीले सर्वसाधारणलाई नै विभिन्न अपिल ग¥यौं । अभिभावकहरूलाई तपाईंहरूका बच्चा स्कुल नपठाउनूस् भनेर सार्वजनिक रूपमै अपिल गर्नुप¥यो । त्यो निकै दुःखद् कुरा हो । हाम्रा लागि एकदमै ग्लानि हुने कुरा हो । 

हामीले कराइरहेको, भनिरहेको, आग्रह गरिरहेको कसैले पनि सुनेनन् । न भित्रकाले सुने, न त बाहिरकाले सुने । सरकारी निकायले नै नसुनेपछि जनताले सुन्ने कुरै भएन । त्यही भएर अहिले लकडाउन गर्नुपर्‍यो ।

त्यसैको परिणाम अहिले भोगिरहेका छौं । हामीले वैशाख १६ गतेबाट निषेधाज्ञा गर्‍यौं । तर, हामीले त दुई साता अगाडि नै प्रस्ताव गरेका थियौं । कसैले सुनेनन् । अन्तिममा अब केही भएको खण्डमा मन्त्रालय जिम्मेवार नहुने भन्दै चेतावनी दिएपछि निषेधाज्ञाबारे निर्णय भएको हो । अब विस्तारै विस्तारै कम हुन्छ । 

अहिले अक्सिजन, भेन्टिलेटर आदिको अभावले बिरामी मरिरहेका छन् । मन्त्रालय भने केहीको पनि अभाव भएको छैन भन्दै हिँडेको छ । के साच्चै त्यस्तै छ र ?

हामीले यो रोगको उपचार छैन भन्ने कुरा बुझाउन सकेका छैनौं । अक्सिजन भेन्टिलेटर नभएर पो मान्छे मरेको भन्नेखालको बुझिएको छ । जुन गलत हो ।

भेन्टिलेटरमा गएपछि कति प्रतिशत मानिसहरू फर्किन्छन्, भन्ने कसैले अनुमान गरेका छैनन् । किनभने यो रोगको उपचार छैन । रोगी आफैंलाई बिस्तारै आफ्नै इम्युनिटी पावरले (रोगको विरुद्धमा लड्ने क्षमता बढाएर) भेन्टिलेटरबाट फर्केर आउने हो । त्यो फर्केर आउनका लागि समय चाहिन्छ । हो, त्यो केही समयसम्म लम्ब्याउने काम अक्सिजन, भेन्टिलेटरको हो । त्यो लम्ब्याउँदा ऊ बाच्न पनि सक्छ, मर्न पनि सक्छ । किनभने उपचार त छैन ।

जस्तो मलेरियाको बिरामी छ भने आज औषधी खुवायो भने ५-७ दिनमा रोग ठिक हुन्छ मान्छे बाँच्छ । कोरोनाको त उपचार छैन । शरीरले नै लडेर जित्ने हो । लड्दा लड्दै रोगले जित्यो भने मान्छे मर्छ, शरीरले जित्यो भने बाँच्छ । हो, त्यो दिनसम्म बचाउने काम आइसियु, भेन्टिलेटर, अक्सिजनको हो । यही कुरामा मान्छेहरूमा अहिले पनि भ्रम छ । 

अहिले हामी जुन कुरा गरिरहेका छौं । भेन्टिलेटर जोडिरहेका छौं, आइसियु जोडिरहेका छौं । राज्य संघीय संरचनामा गइरहेको छ । यसले पनि स्वास्थ्य क्षेत्र प्रभावित छ ।   

भनेपछि संघीयताका कारण तपाईंहरूले काम गर्न नसक्नु भएको हो ? 

संघीय संरचनामा २५ हजार स्वास्थ्यकर्मी पालिकामा छन् । ३ हजार प्रदेशमा छन्, २५ सय स्वास्थ्यकर्मी मात्र संघमा छन् । अहिले हामीले प्रदेशको स्वास्थ्य निर्देशनालयलाई लेख्नु पर्‍यो भने मन्त्रिपरिषद्को कार्यालयमार्फत चिठ्ठी पठाउनुपर्छ । जुन हाम्रो च्यानल छ, पूरै ध्वस्त छ । 

यदि मैले कुनै प्रदेशको निर्देशकलाई डाक्टर साप यस्तो गर्नुपर्‍यो भन्दा उहाँले मैले मेरो मन्त्रीलाई सोध्नुपर्छ भन्नुहुन्छ । अनि त्यो मन्त्रीसँग कुरा गर्ने अधिकार मलाई छैन । मैले पालिकाको स्वास्थ्य प्रमुखलाई यसो गर्नुहोस् भनें भने होइन मैले त मेयरसँग सोध्नुपर्छ भन्ने जवाफ आउँछ । समाज मेडिकल साइन्सका कुरा कति बुझ्छ ? त्यही समाजको उपज मेयरले स्वास्थ्य क्षेत्रको कुरा कति बुझ्ने ? त्यसकारण संघीयतामा स्वास्थ्य संघ अन्तर्गत नै हुनुपर्छ ।

संक्रामक रोग भनेको वार लडेजस्तै हो । यो मेडिकल वार हो । वार लड्नलाई २५ हजार कर्मचारी तल पठाइदिएको छ, त्यसको नेतृत्व गर्छ पालिकाको प्रमुखले । पालिका प्रमुखलाई केही भन्नुपर्‍यो भने हामीले सामान्य प्रशासन मन्त्रालयमा भन्नुपर्छ । प्रदेशलाई भन्नुपर्दा मन्त्रिपरिषद् कार्यालयमा भन्नुपर्छ । हाम्रो च्यानल टुटेको छ । संघमा २५ सय कर्मचारी छन् । २५ सय कर्मचारीले यत्रो लडाईं लड्न सक्छ ? त्यसकारण स्वास्थ्यमा संघीयता ठिक छैन । त्यसको मापदण्ड अब नबनाइ हुँदैन ।

त्यसो भए अहिलेको स्वास्थ्य संरचना नै फेलियर भएको हो ?

प्रदेशमा सामाजिक विकास मन्त्रालय बनाएर केन्द्रका ९ वटा मन्त्रालय त्योभित्र राखिदिएको छ । त्यहाँ सचिव छ प्रशासनको । मन्त्री छ मेडिकल साइन्स पढ्दै नपढेको । नौ वटा मन्त्रालय नौ तिर छ । स्वास्थ्यका लागि त प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय हुनुपर्छ । काम गर्ने सबै सिस्टम बिगारेको छ, अनि स्वास्थ्य मन्त्रालयले गरेन भनेर हुन्छ । यसको रिजल्ट महामारीमा हामीले धेरै राम्रो गर्न सकेका छैनौं । 

हामीले अहिले सबैसँग समन्वय गरेर काम गर्न चाहिरहेका छौं । स्कुल चाँडै बन्द नगरेर कति बच्चा संक्रमित भए ? भीडका भीड मान्छेहरू बाटामा हिँडिरहेका छन्, त्यो नियन्त्रण गर्ने स्वास्थ्य मन्त्रालयले हो ? त्यसकारण सबै मिलेर लड्नुपर्ने बेला हो । यही बेला संघीयता आएको, यही बेला स्वास्थ्यकर्मीको समायोजन भएको, मान्छेहरू कुरा नबुझ्ने यी सबैको संयोजन हो, अहिले महामारीको अवस्था ।

अर्को कुरा भारतमा संक्रमण बढेको छ । बर्डर खुला छ । अनि बर्डरको व्यवस्थापन गर्ने स्वास्थ्यले हो ? अनि जे हुँदा पनि स्वास्थ्य मन्त्रालयले यो गरेन त्यो गरेन भनेर हुन्छ ?

यो त भयो अहिलेसम्मको कमीकमजोरी । अबको योजना के छ ?

स्वास्थ्य मन्त्रालय कन्भिन्स छ । काम गरिरहेको छ । त्यसका लागि त सरकारलाई सोध्नुपर्छ । प्रधानमन्त्रीलाई सोध्नुहोस्, जुन मन्त्रालयका कारण काम रोकिएको छ, त्यो मन्त्रालयलाई गएर सोध्नुहोस् । हामी आफ्नो गन्तव्यमा गइरहेका छौं । हाम्रो काम भनेको बिरामीको जसरी भए पनि उपचार गरेर निको बनाएर घर फर्काउने हो । त्यो काम हामीले गरिरहेकै छौं ।

देशका नेताहरू आफैं ठूल्ठूला आमसभा गर्दै हिँडेका छन् । तेरो आमसभा ठूलो कि, मेरो आमसभा ठूलो भन्दै देखाउँदै हिँडेका थिए । जसको परिणाम अहिले भोग्नुपरिरहेको छ । जनता मरेपछि कसका लागि राजनीति गर्ने ? त्यतातिर मान्छेको कुनै जोड छैन । खाली स्वास्थ्य मन्त्रालयले यसो गरेन उसो गरेन मात्र भनिरहेका छन् । स्वास्थ्य मन्त्रालयका सबैले छोडिदियो भने भोलि कसले गर्छ काम ? हामी थाकेका छैनौं, थाक्ने अवस्थामा भने पुगेका छौं । 

रात-दिन, घाम-पानी केही नभनेर काम गरिरहेका छौं । अहिले जो होचो छ, उसैलाई हानिरहेका छन् । अनि हामी भोलि हात बाँधेर बस्यौँ भने कसले गर्छ ? डाक्टरहरूको कस्तो हालत भइरहेको छ ? त्यो नेपालगञ्जको अवस्थाले पनि देखाइरहेको छ । यस्तै अवस्था अन्यतिर पनि छ । डाक्टर भन्ने कुरा आजको भोलि नै उत्पादन गर्न सकिँदैन ।

पहिलो लहरको समयमा त आइसोलेसन, क्वारेन्टिन बनेका थिए । तिनको प्रयोग गर्न सकिँदैन ? 

गत वर्ष स्थानीय तहले आइसोलेसन, क्वारेन्टिन बनाएका थिए । अब रोग सकियो भनेर सबैले भत्काएर लिएर गए । कतिपय स्कुलमा थिए । अहिले राख्ने ठाउँ छैन ।
त्यो समयको सबै पूर्वाधार स्थानीय तहले नै भत्काएर लगे । हामीले तत्काल नभत्काउन भनेका थियौं । तर, उहाँहरू नै बढी विज्ञ भएर भत्काउनु भयो । अहिले फेरि बनाउन बजेटको अभाव भयो भन्नु हुन्छ । 

अस्पतालहरू भरिएका छन्, आइसियु भरिएका छन् । आइसियु, अस्पताल तत्काल भनेर बन्दैन । त्यो बनाइयो भने पनि डाक्टर त तुरुन्तै बन्दैनन् । काठमाडौंबाट, अन्यत्रबाट डाक्टर त्यहाँ पठाउँदा पनि एक दुई दिन त लागिहाल्छ । तँ हिँड् भन्दा पनि त मान्छे त्यही बेला दौडिँदैन नि । त्यो बेलासम्म सम्बन्धित ठाउँमा निकै समस्या भइसकेको हुन्छ ।

अहिले जताततै बेडको अभाव भयो भन्ने सुनिन्छ । के साँच्चै बेडको अभाव हो कि यो हल्ला मात्र हो ?

हामीसँग बेडकै समस्या भएको चाहिँ होइन । त्यसका लागि सरकारले प्राइभेटका बेड लिएर पनि चलाउन सकिन्छ । बेड मात्रै सोलुसन होइन, आइसियु मात्र सोलुसन होइन, सबैभन्दा ठूलो कुरा भनेको रोकथाम गर्ने, समस्यामा परेकालाई अक्सिजन दिने हो । अक्सिजन आधारभूत आवश्यकता हो । 

अक्सिजन त राम्रै बन्दोरहेछ । तर, त्यसको भण्डारण गर्ने भाँडोको अभाव रहेछ । जहाँ अक्सिजन बिक्री हुँदैन त्यो ठाउँमा धेरै अक्सिजन पठाउँदैनन् । त्यसैले सीमित ठाउँमा अक्सिजनको भण्डार हुने समस्या छ ।

अक्सिजन उद्योगलाई ८ घण्टाको साटो १६ घण्टा चलायो भने दुईवटा अस्पताललाई पुग्ने भयो । त्यसरी चलाइरहेका छौं । यो पनि एलपी ग्यास जस्तै हो । ग्यास छैन भन्यो कि ५-६ सिलिन्डर किनेर घरमै थुपारिदिन्छन् । हो, अक्सिजन सिलिन्डरमा पनि त्यस्तै भइरहेको छ । सिलिन्डर त सीमित हुन्छन् । तर, मानिसहरू अभाव भयो भन्दै एलपी ग्यास जस्तै थुपारेर बसेका छन् । जसले गर्दा समस्या भइरहेको छ ।

स्वास्थ्य संक्रमणकाल घोषण गर्न सकिँदैन ?

त्यो पनि हामी होमवर्क गरिरहेका छौं । अहिले नै त्यो बेला पनि भएको छैन भन्छन् । जसमा सरकार पनि चल्नु पर्‍यो, अर्थतन्त्र पनि चल्नु पर्‍यो  रे । हामीले त्यस बाटोमा जानुपर्ला कि भनेर अलि-अलि होमवर्क गरिरहेका छौं । आपत्काल घोषण गरियो भने हामीले निजी स्वास्थ्य संस्था तथा सम्पत्तिलाई सरकारले आवश्यकताअनुसार चलाउँछ । जे जे आवश्यक पर्छ त्यो हामीले गर्दै जान्छौं । अर्को कुरा भनेको हामीले केही काम गर्दा पनि कानुनी अड्चन आउँदैन ।

निषेधाज्ञाकै लागि हामीले प्रस्ताव पठाएका बेला सरकारले पास नै गरेन । बल्ल-बल्ल कन्भिन्स गर्न सक्यौं । तर, त्यो बेला निकै ढिला भइसकेको थियो । मलाई अहिले नेपाली दाजुभाइको माया छ । मेरो आफ्नो जागिरको, स्टाटसको माया छैन । म हातमा स्किल भएको मान्छे हो, गरेर खानसक्छु । 

तपाईं मन्त्रालयमा आउँदा र अहिलेको कुरा गराइमा निकै फरक पायौं । अहिले के तपाईं फ्रस्टेसनमा हो ?

मलाई फ्रस्टेसन भएको छैन । यो एक वर्षको अवधिमा धेरै कुरा सिकेको छु । हाम्रो स्वास्थ्य मन्त्रालयको टिम संसारमा राम्रो व्यवस्थापन गर्ने २० वटा देशमा नेपाल थियो । त्यो समयमा हामीले सीमित स्रोत र साधनकाबीच कसरी कोरोना नियन्त्रणमा लिएको थियौं । त्यही देखेर विश्वले प्रशंसा गरेको थियो । 

अहिलेको र पोहोर सालको रोग फरक छ । त्यो बेला हामीले सुरुमै लकडाउन ग¥यौं । लकडाउनले धेरै असर गर्‍यो गर्न हुने थिएन पनि भने धेरै मानिसहरूले । तर, हामीले त्यसो भनेनौँ किनभने हाम्रा मान्छे लठ्ठी नलगाइकन काम गर्दारहेनछन् । बुझियो नि त अहिले सेल्फ लकडाउन गर्नुहोस् भनेका त थियौं नि । तर, कसैले मानेनन् । त्यसपछि बाध्य भएर सरकारले लकडाउन गर्नुपर्‍यो । 

स्कुल बन्द गर्नुहोस् भन्दा प्रधानाध्यापकलाई पक्रेर लग्नुपर्ने अवस्था आयो । यसपटक ढिलो भयो । म आमसभा, जुलुस जस्ता कुराबाट फ्रस्टेड भएको हुँ । राज्यले जे नगर भन्यो त्यही गर्नुपर्ने, नेतालाई जे मन लाग्यो त्यही गर्नुपर्ने ? अनि जिम्मेवार स्वास्थ्य मन्त्रालय हुनुपर्ने ? त्यसको जिम्मेवार हामी बन्नुपर्ने ? त्यही भएर अहिले उनीहरूका गतिविधि देखेर म फ्रस्टेड छु ।

यो महामारी सहज रूपमा नियन्त्रणमा कसरी ल्याउने ? 

अझ पनि कन्ट्रोल गर्न सकिन्छ । सबैले यो रोगलाई बुझ्नुपर्‍यो । अहिले त मेडिकल साइन्स बुझेको मान्छेको कुरा सुन्नुपर्‍यो । पहिलो एउटा मान्छे मर्दा म कति दुःखी हुन्थेँ । अहिले दिनमै कति धेरै मान्छे मरिरहेका छन् । यस्तो अवस्थामा फ्रस्टेसन नभएर के हुन्छ ? तर, फ्रस्टेसन भनेर काम रोकेर बसेको छैनौं । 

तेरो आमसभा ठूलो कि मेरो आमसभा ठूलो भन्दै हिँडियो । अहिले आएर यस्तो अवस्था आयो । हामी अहिले जागिरभन्दा माथि उठेर काम गरिरहेका छौं । जनताको स्वास्थ्यका लागि भनेर हामीले आफ्नो केही पनि भनेका छैनौं । मानव जातिको ज्यान बचाउनका लागि हामी लागि परेका छौं । 

हामी बल्ल-बल्ल सपारेर मान्छे बचाउने अवस्थामा पुग्छौं । हुलका हुल मान्छे जम्मा गरेर रोग फैलाइदिएर फेरि उस्तै अवस्था बनाइदिन्छन् ।

अनि हामी ठूलो नोक्सानीमा जान्छौं । अहिले पनि मानिसहरूको बुद्धि पलाएको छैन । प्रहरीले पक्राउ गरेर राख्नुपर्ने अवस्था छ । केका लागि दौडेको । मर्नलाई किन त्यति धेरै हतार गरेको । मर्न र मार्न मान्छेहरू हतार-हतार गरेर लुकेर चलाएर हिँडेका छन् । यस्तो बेला त चुप लागेर घरमा बसे हुँदैन । दुई छाक नभए एक छाक खाए नि हुन्छ । एक दिन भोको बस्दा पनि मरिँदैन । रोग लाग्यो भने त बाँच्ने वा मर्ने ठेगान हुँदैन ।

अहिले हामी धेरै अँध्यारो सुरुङभित्र पसिसकेका छौं । स्वास्थ्य संकटकालले पनि धेरै त गर्न सकिँदैन । त्यो सुरुङबाट पछि फर्किने ठाउँ छैन । अँध्यारोमा यात्रा गन्तव्य विहीन हुन्छ । त्यसकारण एकमात्र उपाय भनेको नेपालका तीन करोड मान्छेले दुई मिटरको भौतिक दूरी कायम गरिदिने हो भने अरु केही पनि गर्नुपर्दैन ।

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १४:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया