प्लाज्मा किन र कुन समयमा दान दिने

कोरोना भाइरसको दोस्रो लहरले संक्रमितको संख्या बढिरहेको छ । यस क्रममा उनीहरूमध्ये उपचारका क्रममा केहीको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ । प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा बिरामीको शरीरमा प्लाज्मा (रगत) दिनुपर्छ । कोरोना संक्रमितलाई सामान्य तथा स्वास्थ्य व्यक्तिको रगत दिन मिल्दैन । कोरोना भाइरसको एन्टिबडी तयार भइसकेको रगत अर्थात् प्लाज्मा नै दिनुपर्छ ।

अहिले कोरोनाबाट धेरै स्वास्थ्यकर्मी आफैं पनि संक्रमित भएका छन् । यस क्रममा अस्पतालमा प्लाज्माको कमी रहेको उनीहरू आफैंले महसुस गरेका छन् । आफैंले भोगेको हुनाले संक्रमण मुक्त भए पश्चात् उनीहरू प्लाज्मा दान गर्न सक्रिय भएका छन् ।

यस्तै बिरामीलाई प्लाज्माको अभाव भएको महसुस गरी कलाकार तथा प्रतिष्ठित व्यक्तिहरूले पनि कोरोना संक्रमण मुक्त भएपछि प्लाज्मा दान गर्ने गरेको तथा दान गर्ने संकल्प गरेको पाइएको छ । 

प्लाज्मा दान भनेको के हो ?

कोरोना संक्रमण मुक्त भएपछि संक्रमित व्यक्तिको शरीरमा त्यससँग लड्न सक्ने क्षमता जम्मा भइसकेको हुन्छ । प्रतिरक्षा क्षमता भएको रगत अर्को बिरामी व्यक्तिको शरीरमा ट्रान्सफर गर्नु नै प्लाज्मा ट्रान्फर अर्थात प्लाज्मा दान गर्नु हो । शरीरमा प्रतिरक्षा क्षमता कम भएको खण्डमा प्लाज्मा दानले रोगसँग लड्ने क्षमताको विकास गर्दछ । कुनै एक व्यक्तिको शरीरमा जम्मा भएको एन्टिबडी अर्को शरीरमा राख्ने काम हो प्लाज्मा ट्रान्सफर ।

कुनै रोगसँग लड्न नसकेको अथवा निको हुन ढिलो भएको अवस्थामा व्यक्तिलाई एन्टिबडीको आवश्यकता पर्छ । सोही अनुरूप यो कोरोना संक्रमितलाई पनि छिटो सन्चो हुन र शरीरलाई आवश्यक प्रतिरक्षा क्षमता वृद्धि गर्न प्लाज्माको जरुरत पर्छ । 



कुन समय प्लाज्माका लागि उपयुक्त ?

सामान्यतः निकै जटिल अवस्थामा बाहेक दुई साता नियमित औषधी सेवन तथा स्वास्थ्य हेरचाहपछि कोरोना सन्चो हुन्छ ।



कोरोना संक्रमण मुक्त भएको दुई सातापश्चात् शरीरमा राम्रो एन्टीबडी अर्थात् प्रतिरक्षा क्षमता विकास हुने विज्ञहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्छन्, ‘प्लाज्मा भनेको कोरोनाको रेडिमेट एन्टिबडी हो । यसले प्रतिरक्षा क्षमता वृद्धि गर्न मद्दत गर्छ ।’

प्लाज्मा दान गर्न संक्रमण मुक्त भएको दुई सातापछि ३ महिना सम्मको समय उपयुक्त हुने विशेषज्ञहरू बताउँछन् । दुई सातापछि ३ महिनासम्म कोरोनासँग लड्ने प्रतिरक्षा क्षमता बिरामीको शरीरमा रहिरहने भएकाले प्लाज्मा दानका लागि यो समय उपयुक्त हुन्छ । 

कोरोना संक्रमितलाई प्लाज्माको महत्त्व के हो ?

कोरोना संक्रमितलाई प्लाज्माको महत्त्व धेरै हुन्छ । सामान्य भाषामा कोरोनासँग लड्न सक्ने क्षमताको कमी भएका बिरामीलाई प्लाज्माको आवश्यकता पर्छ । कोरोना संक्रमण मुक्त भएका व्यक्तिको शरीरमा तयार भइसकेको आर्मी एन्टिबडी ट्रान्सफर गर्दा बिरामीको प्रतिरक्षा प्रणाली सक्रिय र सशक्त हुने भएकाले ज्यान बचाउन मद्दत गर्छ ।

कोरोना संक्रमितमा ज्वरो आउने तथा भाइरसको प्रभावका कारण प्रतिरक्षा क्षमता कम हुने भएकाले शरीरमा एन्टिबडी प्लाज्मा राख्दा बिरामीलाई रोगसँग लड्न सहज हुने बताउँछन्, टिचिङ अस्पतालका छाती रोग विशेषज्ञ निरज बम ।

कोरोना भाइरस संक्रमित सबैमा प्लाज्माको जरुरत पर्दैन । सबैको प्रतिरक्षा क्षमता समान नहुने भएकाले कोहीमा यो समस्या देखिन्छ भने धेरैलाई समस्या नहुने उपचारमा संलग्न डाक्टरहरू बताउँछन् ।

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १७:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया