logo-img

भारतको भन्दा नेपालमा संक्रमण उच्च, मृत्युदर दोब्बर बढी

नेपालमा भारतमा भन्दा कोरोना संक्रमणको अवस्था निकै भयावह देखिएको छ। पछिल्लो एक सातामा भारत र नेपालमा देखिएको संक्रमण पुष्टि  हुनेको संख्या, मृत्युदर, परीक्षणमा पोजेटिभ रिपोर्ट आउनेको दर, संक्रमण फैलिएको दर हेर्दा नेपालमा कोरोना महामारीको अवस्था भारतमा भन्दा निकै जटिल देखिएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा डा.विराजमान कर्माचार्यले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रिपोर्ट प्रस्तुत गरेका छन्। डा. कर्माचार्यले प्रस्तुत नेपालमा पछिल्लो साताको कोरोना संक्रमणको अवस्थाका सातै भारत र नेपालमा देखिएको कोरोनाका विभिन्न तथ्यांक पनि प्रस्तुत गरे। 

अघिल्लो साताको तुलनामा नेपालमा गतसाता कोभिड–१९ संक्रमणको दर १४ प्रतिशतले बढेको डा. कर्माचार्यले बताएका छन्। 

उनका अनुसार अहिले विश्वमा तीब्र गतिमा कोरोना संक्रमण फैलिएको देश मध्येमा नेपाल निकै अगाडि छ। पछिल्लो अवस्था हेर्दा नेपालमा संक्रमणको अवस्था चरम विन्दुमा पुगेर ओरालो लाग्न लागेको हो की भन्ने आँकलन गरिएको उनले बताए। 

नेपालका ७ प्रदेश मध्ये लुम्बिनीमा १ प्रतिशतले संक्रमितको संख्या घटेको छ। भने सबैभन्दा धेरैे कर्णालीमा १३४ प्रतिशतले बढेको देखिएको छ। बागमती प्रदेशमा ४ प्रतिशतले संक्रमित बढेका छन्। 



नेपाल र भारतको तुलना

रिपोर्ट अनुसार प्रति १० लाखमा थपिने संक्रमित, मृत्युदर, कुल परीक्षणमा पोजेटिभ रिपोर्टको दरमा नेपाल भारत भन्दा निकै अगाडि देखिएको छ। संक्रमण फैलिने दरमा नेपाल भारतको हाराहारीमा देखिएको छ। 



दैनिक थपिने संक्रमितमा नेपाल र भारतको स्थिति

पछिल्लो हप्ता दैनिक थपिने संक्रमितहरुको तथ्यलाई हेर्दा नेपाल भारत भन्दा अगाडि देखिएको छ। एकसाताको औसत हिसाब गर्दा नेपालमा हरेक दिन प्रति १० लाख जनामा करिब ३०३.१ जनामा कोरोना संक्रमण भइरहेको छ। भारतमा प्रति १० लाखमा २१५ जना संक्रमित थपिने गरेका छन्।

भारतमा पछिल्लो साता थपिने संक्रमितको संख्यामा निरन्तर घटिरहेको छ। नेपालमा पनि केहीदिन देखि नयाँ संक्रमितको संख्या घटिरहेको भएपनि यस साताको सुरुका दिनमा उच्च विन्दुमा पुगेको थियो। थपिने संक्रमितको संख्यामा पनि त्यति धेरै कमी आएको छैन। 

कोरोनाबाट मृत्यु हुनेमा नेपाल र भारतको स्थिति

कोरोना संक्रमणबाट मृत्यु हुनेमा अघिल्लो साता नेपालको भन्दा भारतको दर कही बढी थियो तर यससाता नेपालको मृत्युदर निकै बढेको छ। भारतमा भन्दा नेपालमा मृत्युदर २ गुणा भन्दा बढी देखिन्छ। 

यससाता प्रति १० लाखमा कोरोनाबाट मृत्यु हुने संख्या भारमा २.५ जना देखिएको छ। नेपालमा प्रति १० लाखमा दैनिक ६ जना मृत्यु भइरहेको छ।

पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आउने दर 

पिसिआर परीक्षण गरिएकामा पोजेटिभ रिपोर्ट देखिनेमा भारत भन्दा नेपाल निकै माथि देखिएको छ। पछिल्ला दिनमा भएका परीक्षणमा नेपालमा कुल परीक्षणको करिब ४६.७ प्रतिशतलाई कोरोना संक्रमण देखिएकोमा भारतमा त्यो दर २०.२ प्रतिशत छ। 

यो तथ्यांक हेर्दा नेपालमा भारतको तुलनामा परीक्षण निकै कम भइरहेको र समुदायमा ठूलो संख्यामा संक्रमितहरु रहेको डा.कर्माचार्यले बताए। 

संक्रमण फैलने दरमा नेपाल र भारत

नेपालमा कोभिड–१९ फैलने दरमा भारत र नेपालको अवस्था करिब उस्तै देखिएको छ।  यस साताको तथ्यांक अनुसार भारतमा एक संक्रमितले अन्यलाई कोभिड–१९ सार्ने दर १.४ जना रहँदा नेपालमा एक संक्रमितले सार्ने दर १‍.१ रहेको देखिन्छ। 

देशका ग्रामिण क्षेत्रमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको कर्माचार्यले बताए। गाउँमा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था गर्नुपर्ने उनले बताए। एउटा गाउँ र अर्को गाउँमा आवत-जावतमा रोक लगाउने, उच्च जोखिम भएको गाउँमा सामूहिक रुपमा परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिएमा संक्रमण फैलनबाट रोक्न सक्ने डा. कर्माचार्यले बताए। 

गाउँको घरमा छुट्टै क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न गाह्रो हुने भएकाले स्थानीय तहको पहलमा संस्थागत आइसोलेसनको व्यवस्था गर्न उनले सुझाव दिए।  
 

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया