काठमाडौंबाट कोरोनाका २२ गम्भीर बिरामी 'हवाई लिफ्ट' गरेर बिएन्डसी लगियो
अस्पतालको दाबी : निको हुने दर उच्च छ, शय्या बढाउँदैछौँ

देशभर कोरोना संक्रमण बढिरहँदा सबैभन्दा सुविधासम्पन्न मानिने काठमाडौंमा आइसियु र भेन्टिलेटर हाहाकार छ। यस्तो अवस्थामा काठमाडौंमा उपचार नपाएका कोरोनाका गम्भीर बिरामीलाई धमाधम झापाको बिएन्डसी अस्पताल लगिँदैछ। 

बिर्तामोडस्थित उक्त अस्पतालमा कोरोना निको भएर घर फर्किनेको दर उच्च रहेको बताइएको छ। अस्पताल प्रशासनले दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणसहितको सेवाले यो सम्भव भएको दाबी गरेको छ।

अहिले यो अस्पताल प्रदेश १ र २ का कोरोनाका गम्भीर संक्रमितको उपचार केन्द्र त बनेको छ नै राजधानी काठमाडौंबाट पनि हवाई लिफ्ट गरेर बिरामी लान थालिएको छ। अहिले त्यहाँ हवाई लिफ्ट गरेर काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन, कास्की, बाँके, मुगु, डोटी र कैलालीबाट पनि बिरामी पुर्‍याइएको छ।

५ देखि १० लाखसम्म खर्चिएर ‘हवाई लिफ्ट’ गरी लगिएका कोरोनाका गम्भीर संक्रमित २२ जनाको अहिले बिएन्डसीमा उपचार चलिरहेको छ। काठमाडौं र देशका अन्य जिल्लामा भेन्टिलेटर,आइसियु र अक्सिजन अभाव भएपछि उपचारको वैकल्पिक गन्तब्य बिएन्डसी भएको हो। 

अन्यत्रबाट ल्याएर भर्ना गरिएका संक्रमितहरु डिस्चार्ज हुने क्रममा रहेको अस्पतालले जनाएको छ। आजै मात्रै ग्लोबल आईएमई बैंकका निर्देशक केशव रायमाझी र  पत्नी पवित्रालाई ‘हवाई लिफ्ट’ गरेर बिएन्डसीमै भर्ना गरिएको छ।

बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले कोरोना जितेर घर फर्किने दर उच्च रहेको बताएका छन् उनले जटिल संक्रमितको पनि मृत्यु दर न्यून रहेको भन्दै खुसी व्यक्त गरेका छन्। 



'हस्पिटलमा कोरोना संक्रमितको उपचारमा आवश्यक भेन्टिलेटर,एचडियु, आइसियु र अक्सिजन अभाव छैन', उनले भनेका छन्, 'बिरामीको जीवन बचाउने सामग्रीको पर्याप्त व्यवस्था गरेका छौँ।'

यो अस्पतालले कोरोना संक्रमित उपचार गर्न २ सय शय्या छुट्याएको छ। ‘हवाई लिफ्ट’ गरेर धमाधम गम्भीर संक्रमितहरु  आउने क्रम बढेपछि विशेष कोभिड शय्या थपिएको हो। प्रसाईले आवश्यकता अनुसार अझै शय्या थप्दै जाने बताएका छन्। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट पनि सञ्चालन तयारी गरेको छ।



अस्पतालले ६५ भेन्टिलेटरसहितका आइसियु गम्भीर संक्रमितका लागि छुट्याइएको जनाएको छ। कोरोना संक्रमितको उपचारका लागि ६० चिकित्सकसहित स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका प्रसाईले बताएका छन्। 

सँगै रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटल र बिएण्डसीमा ९ सय शय्या रहेका छन्। संक्रमित बढ्दै गएमा सिंगै अस्पताल संरचनालाई कोभिड अस्पतालमा परिणत गर्ने योजना प्रसाईले सुनाए। 'उपचार अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस्', उनले भने, 'यही उद्देश्यसहित हामी काम गरिरहेका छौँ।'

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार २०:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया