'मदन भण्डारी जस्तो साहसी नेता मैले देखेको छैन'
उहाँकै ऊर्जाले हामी यहाँसम्म आएका छौँ
सुवास नेम्वाङ
फरकधार / ३ जेठ, २०७८

मलाई राम्रोसँग सम्झना छ, ०४६ सालमा जब निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध हामीले आन्दोलन गरेका थियौं, त्यही आन्दोलनको परिणाम २०४७ सालमा नयाँ संविधान बन्यो । त्यो संविधान बन्दा हाम्रो तर्फबाट पनि प्रतिनिधि हुनुहुन्थ्यो । संविधान बन्ने बेलामा पार्टीको तर्फबाट ‘रिजर्भेसन’ रह्यो । 



त्यो रिजर्भेसनका साथमा यो संविधानलाई स्वीकार्दै अघि बढ्छौँ भनेर त्यतिबेला जननेता मदन भण्डारी नेतृत्वको हाम्रो पार्टीले स्वीकार्यो । त्यो जति बुँदाको ‘क्रिटिकल रिजर्भेसन’ राखिएको थियो, अहिले हामीले पल्टाएर हेर्‍यौँ भने देख्छौँ, त्यसपछि पार्टी निरन्तर सदनमा सडकमा शान्तिपूर्ण ढंगले आन्दोलनमा अघि बढ्यो । ती कुराहरु हामी उठाउँदै आयौं, तिनै कुरालाई जनताबीच लग्दै गयौं । 

निरंकुश पञ्चायती व्यवस्थाको उत्तरार्द्धमा जनपक्षीय उम्मेदवारको रुपमा निर्वाचन लड्न थालेका थियौं हामी । तर, ०४७ सालको परिवर्तनपछि खुलेरै संविधानअन्तर्गत क्रियाशील भयौं । त्यतिबेला त्यो संविधानमा हामीले केही बुँदामा ‘क्रिटिकल रिजर्भेसन’ मा राखेर शान्तिपूर्ण ढंगले सहभागी हुन थालेका थियौं । तर हामी आन्दोलनरत थियौँ। 

०६२/०६३ को आन्दोलनपश्चात संविधानसभाबाट बनेको संविधान हेर्दा हामीलाई थाहा हुन्छ, त्यतिबेला हामीले राखेका ‘क्रिटिकल रिजर्भेसन’ का ती बुँदाहरु सबैजसो समेटिएका छन् । त्यसकारण प्रष्ट सोचका साथ, प्रष्ट दृष्टिकोणका साथ, मान्यताका साथ हामी यहाँसम्म आइपुगेका हौं भन्ने मेरो बुझाई छ । आज जननेता मदन भण्डारीको २८ औं स्मृति सभामा आएर उहाँलाई सम्झिँदै गर्दा उहाँको प्रष्ट प्रभावले हामी यहाँसम्म आइपुगेका छौँ। 



मेरो नजरमा मदन

कमरेड मदन भण्डारी एउटा दूरदर्शी सोचाइ भएको, गहिरो विश्लेषण गर्ने क्षमता भएको र एकदमै प्रष्ट वक्ता हुनुहुन्थ्यो । त्यसबारे धेरै व्याख्या गर्नुपर्दैन जस्तो लाग्छ मलाई । उहाँ एकदमै साहसी र भविष्यद्रस्टा नेता हुनुहुन्थ्यो । म अरु धेरै चर्चा गर्दिनँ, कम्युनिस्टबीचमा बहुदलीय प्रतिस्पर्धा अनि कानुनको शासन भन्ने नेता चानचुने होइनन् । त्यसो गर्न साह्रै ठूलो साहस चाहिन्छ । 

यो त हामीले व्यवहारमा पनि देखेका छौं । यो कति धेरै महत्वपूर्ण कुरा हो भनेर हामीले व्यवहारमा पनि देखेका छौं । यही बहुदलीय प्रतिस्पर्धा र कानुनी शासनसहितको जनताको बहुदलीय जनवाद, जननेता मदन भण्डारी भन्नासाथ हामी सम्झन्छौं । यसको परिणाम हामी देखिरहेका छौं, यसको व्याख्या हामीले गरिराख्न पर्दैन । 

विश्वमै कम्युनिस्टहरु ‘डिफेन्सिभ’ भएका थिए । अझै सोभियत युनियनको पतनपश्चात जुन एउटा समय आएको थियो, त्यतिबेला धेरै देशहरुमा कम्युनिस्टहरूले आफ्नो पार्टीको नाम नै परिवर्तन गरे । हामी प्रष्टै देख्छौँ, युरोपियन र अन्य देशहरुमा । तर, नेपालमा कम्युनिस्टहरु ‘डिफेन्सिभ’ होइन, ‘अफेन्सिभ’ थिए । निरन्तर कम्युनिस्टहरु अगाडि बढे, जनताको मत लिएर कम्युनिस्टहरु बढे । 

क्यालिफोर्नियामा तेर्सिएका प्रश्न

मलाई राम्रो सम्झना छ, ०४८ साल पछाडिको पार्लियामेन्टमा हामी प्रमुख प्रतिपक्षी थियौं । त्यतिबेलाको एउटा पार्लियामेन्ट डेलिगेसनको समय थियो । त्यसका लागि संयुक्त राज्य अमेरिका पुगेको बेलामा मलाई क्यालिफोर्नियामा भएको एउटा नागरिक अभिनन्दन कार्यक्रममा प्रश्नको ओइरो लागेको थियो । उनीहरु छक्क परेका थिए । त्यतिबेला अमेरिकामा कम्युनिस्टहरु भनेको संसारबाटै हराइसके, हामीले कम्युनिस्टलाई पूरै पराजित गरिसक्यौँ भनेर उनीहरुकँहा प्रचार थियो । तर, अहिले अमेरिकामा पार्लियामेन्ट डेलिगेसन आएको छ भ्रमणमा, त्यसको प्रमुख प्रतिपक्षीको हैसियतमा सांसदहरु उपस्थित छन् । उनीहरु छक्कै परे । र, उनीहरुका प्रश्न टन्नै थिए ।

त्यतिबेला मैले शिर ठाडो पारेर पूरै गर्वका साथ भनेँ, ‘नेपालको आन्दोलनमा, नेपालको निरंकुशताविरुद्ध आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा तपाईं कम्युनिस्टलाई माइनस गर्दिनुस् वा बिर्सिदिनुस् । नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार प्रत्याभूतिको आन्दोलन कुनै पनि आन्दोलनको इतिहास पूरा हुँदैन। कम्युनिस्टहरूको त्यहाँ महत्वपूर्ण भूमिका छ । र, लेखेर राख्नुस्, बुलेटमार्फत होइन्, हामी अर्को पटकको चुनावमा हामी जनताको मत लिएर चुनाव जितेर देखाउँछौँ ।’ 

मैले क्यालिफोर्नियामा ती प्रश्नहरुको जवाफ दिएँ । र, अहिले पनि मलाई सम्झना छ, त्यतिबेलाको घटना । ‘मैले भन्न त भनेँ, त्यो उत्साह हो । हामी आशावादी पनि हौं तर, के हुन्छ होला जस्तो लागेको थियो ।’ तर, साँच्चै नै त्यस पछाडिको चुनावमा हामी ठूलो पार्टी भएर पहिलो मनमोहन अधिकारीको सरकार पनि बन्यो । संयोग र सौभाग्यले म कानुनमन्त्री बन्न पुगे । 

मदनको साहस

त्यो साहस नेपालका कम्युनिस्टहरूमा कहाँबाट आयो ? अलिकति पनि निधार नखुम्चाइ, धेरै सोच्नै पर्दैन । त्यो साहसका लागि आधार प्रदान गर्ने काम जननेता मदन भण्डारीले गरे । जनताको बहुदलीय जनवादले गर्‍यो । जसले बहुदलीय प्रतिस्पर्धा, कानुनको शासन भनेर जुन भन्यो, जुनको आधारमा उभियो त्यही आधारले हामीमा त्यो ऊर्जा पैदा गर्‍यो । र, हामी अहिले यो ठाउँसम्म आइपुगेका छौं । 

आजको दिनमा हामीले उहाँलाई यही रुपमा सम्झनुपर्छ भन्ने मलाई लाग्छ । र, पार्टीलाई एकतावद्ध बनाउने, एकढिक्का बनाउने, सिंगो देश र जनताको हितमा नेपालका कम्युनिस्टहरूले नै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । 

त्यो भूमिका भनेको आवधिक निर्वाचन, जनताको जनादेश, बहुदलीय प्रतिस्पर्धा र कानुनको शासन, मानव अधिकारमार्फत नै हामी त्यो ठाउँमा पुग्न सक्छौं भनेर जननेता मदन भण्डारीले हामीलाई सिकाएका छन्, त्यही बाटोबाट नै त्यो ठाउँमा पुग्न सकिन्छ भन्नेमा म विश्वस्त छु । 

अन्तिममा दुई कुरा

जतिबेला निरकुंशताविरुद्धको आन्दोलनबाट सफल भएर हामी आयौं, त्यतिबेलाका दुई कुरा म कहिल्यै बिर्सन्नँ । त्यो के हो त भन्दा, हामीभित्र भनेको कम्युनिस्ट आन्दोलनभित्र रहेका साथीभाइहरु, विशिष्ट वुद्धिजीवीबीचमा यो जम्मैका जम्मै कम्युनिस्टहरु चुनाव लडे भने त पार्टी नै स्वाट्टै बिग्रियो भने त सिद्धियो त भन्ने एउटा डर थियो । इमान्दारीपूर्वक डर त्यहाँ देखिन्थ्यो । र, यो कुरा हामी मदन भण्डारीलाई भन्ने गर्थ्यौँ। 

त्यतिबेला बागबजारमा पार्टी कार्यालय थियो । हामी गएर भेटेर भन्ने गथ्र्यौं, ‘यस्तो भयो भने त सिद्धिन्छ त कमरेड!’ भनेर । धेरैजसोले हामीले त्यही सुझाव दिएका थियौं, हामीलाई त्यही उचित लाग्यो, त्यही जान्यौँ र भन्यौं । 

जवाफमा हामीलाई उहाँले के भन्नुहुन्थ्यो भने–‘त्यसरी हुँदैन । हामीले बहुदलीय प्रतिस्पर्धा, कानुनको शासन, जनतामाथि विश्वास गरेर अगाडी बढ्ने हो, त्यसैले यस्तो कुरा गरेर हुँदैन। मेची–महाकाली, तराईदेखि हिमालसम्म जो जति कमरेडले सक्नुहुन्छ, सबैका सबै चुनावमा उत्रनुपर्छ । जनताबीचमा जाने हो । जनताको आशीर्वाद लिएर अनि सेवा गर्न अघि बढ्ने हो ।’ 

प्रष्ट मान्यताका साथ उहाँले बोल्नुभयो । हामीलाई कन्भिन्स गर्नुभयो । त्यसैको परिणाम हो, जुन कारणले आज हामी यहाँसम्म आइपुगेका हौं । उहाँले दिएको ऊर्जा, प्रष्ट दृष्टिकोण, त्यो साहस अहिले पनि म झल्झली सम्झन्छु।

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:३६:५९,   अन्तिम अपडेट : जेठ ३, २०७८ साेमबार १८:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया