नेपाल सुपर लिग : कति सफल कति असफल !
आगामी योजनाबारे के भन्छन् आयोजक ?

 यस वर्ष महामारीका कारण नेपाली खेलकुद वैशाख १६ यता ठप्प छन् । सबै खेलकुद बन्द भए पनि निषेधाज्ञाअघि देखि नै सुरु भएको नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिगले भने प्रतियोगिता पूरा गर्यो । दर्शकको उपस्थितिविना नै भएको खेलमा नेपाली फुटबलका केही उत्कृष्ट प्रदर्शन देखिए । यो लिगले उत्कृष्टता हासिल गरे पनि विवादमुक्त भने हुन सकेन । 

वैशाख १६मा निषेधाज्ञा सुरु भएपछि अन्य सबै खेलकुद बन्द भए । सुपर लिग भने खेलाडी तथा व्यवस्थापन टोलीका सम्पूर्ण सदस्यलाई स्वास्थ्य मापदण्द पालना गराएर सम्पन्न भयो ।  फाइनल खेलपछिको समारोहमा उपस्थित अतिथि तथा कार्यक्रम आयोजक सबै मास्कलगायत स्वास्थ्य मापदण्ड पालना गर्दै समारोहमा उपस्थित थिए । प्रतिकूलताका बीच पनि सम्पन्न भयो, नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग । 

लिगको फाइनलमा भिडेका थिए, काठमाडौं रेर्जस र धनगढी फुटबल क्लब । दुई पटकसम्म धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाडौं रेर्जसले फाइनल खेलमा दुवै खेलको बदला लियो । रेर्जसले तेस्रो खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याई उपाधि नै हात पार्यो । 

यो खेल जति रोचक रह्यो, त्यति नै रोचक रहे यसका उपाधि, खेलाडी र रेफ्रीका प्रस्तुति । 

विवादमा तानिए नेपाली रेफ्री  

पहिलोपटक नेपालमा सञ्चालित फ्रेन्चाइज लिगमा रेफ्री पनि नेपाली नै थिए । नेपाली रेफ्रीको निर्णयमा विदेशबाट आएका प्रशिक्षक निकै असन्तुष्ट देखिए । विराटनगर सिटी एफसीका प्रशिक्षक यान ल ले नेपालका रेफ्रीलाई ‘निकै तल्लो स्तरको’ समेत भन्न भ्याए । खेलदौरान पनि निकैपटक खेलाडीको रेफ्रीसँग मतभेद भयो । नकारात्मक नै सही, यस लिगबाट नेपाली रेफ्रीले अन्तर्राष्ट्रिय चर्चा पाए ।  



उत्कृष्ट दुई गोलकिपर आमनेसामने

यस वर्ष सुपर लिगमा नेपालका विभिन्न खेलाडीलाई विभिन्न क्लबले अनुबन्ध गरेका थिए । यसै सिलसिलामा नेपाली टोलीका कप्तान तथा पहिलो नम्बरका गोलकिपर किरण चेम्जोङ धनगढी फुटबल क्लबमा आबद्ध थिए । दोस्रो उत्कृष्ट गोलकिपर मानिएका विकेश कुथु काठमाडौंंं रेजर्स फुटबल क्लबमा आबद्ध थिए । यस प्रतियोगितामा दुवै गोलकिपर कप्तानको भूमिकामा थिए । 



अघिल्ला दुईपटकसम्म आमने–सामने भएका यी दुई गोलकिपर फाइनलमा पनि आमने–सामने भए । यी दुई गोलकिपर फइनलमा भेट हुँदा नेपाली फुटबलप्रेमी पनि यो खेल हेर्न थप उत्साहित थिए । मैदानमा आएर खेल हेर्न नपाए पनि दर्शकले टेलिभिजन र युट्युबबाट खेलको भरपूर आनन्द लिए । टेलिभिजनबाट १ लाखभन्दा बढी तथा युट्युबमा ६० हजारभन्दा धेरै दर्शकले यो खेल हेरेका थिए । 

व्यवस्थापन पक्षबाट खेलाडी सन्तुष्ट 

सुपर लिगमा बाहिरबाट पनि खेलाडी आएका थिए । खेलाडीमध्ये सुपर मिडफिल्डर चुनिएका क्यामरुनी खेलाडी मेसोके ओलोमोउले फाइनल खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा आफू पहिले पनि नेपालबाट खेल्दै आएको, तर यसपटकको हरेक कुरा राम्रो रहेको बताएका थिए । उनले भनेका थिए, ‘यसपटक टिम तथा व्यवस्थापन निकै राम्रो थियो ।’

नेपाली खेलाडीले पनि यसपटकको व्यवस्थापन निकै राम्रो रहेको बताए । बसाइदेखि, हरेक खेलाडीको स्वास्थ्यको हेरचाह पनि राम्रोसँग गरिएको भन्दै खेलाडीले व्यवस्थापन पक्षको तारिफ गरेका थिए ।  

नेपाली खेलकुदका लागि उपयोगी साबित

नेपाल सुपर लिगजस्ता लिग नेपाली खेलकुद विकासका लागि निकै महत्वपूर्ण रहेको खेलाडीहरु बताँछन् । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ भन्छन्, ‘यस्ता लिगले नेपाली फुटबललाई व्यावसायिक बनाउन निकै मद्दत गर्दछ ।’ उनका अनुसार खेलाडीको जीवनस्तर उकास्न यस्ता लिग तथा प्रतियोगिता भइराख्न जरुरी छ।

अहिले राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयारी अवस्थामा छन् । खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । नेपाली टोलीका खेलाडीलाई प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुल्ताइरीले प्रशिक्षणमा राखेका हुन् ।  

आगामी सुपर लिगमा थप तीन टोली

नेपाल सुपर लिगकी अध्यक्ष आश्वेता कार्की चौधरीले यस वर्षको सुपर लिग निकै धुमधाम बनाउने सोच रहेको, तर दर्शक उपस्थित हुन नपाएकाले निकै खल्लो भएको बताइन् । कोरोनाको दोस्रो लहरले गर्दा लिग खल्लो हुन पुगेको उनले फाइनल खेलअघि बताएकी थिइन् । 

यसवर्ष सात टोलीबीच खेलाइएको नेपाल सुपर लिगमा आगामी वर्ष भने थप तीन टोलीसहित खेलाइने बताएकी छिन् । नेपाल सुपर लिगले आउँदा दिनमा क्रिकेट, भलिबल, बास्केट बल र र्याकेट स्पोर्टस्समेत आयोजना गर्ने तयारीमा रहेको उनले बताएकी छिन् । 

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १७:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया