कमरेड मदनसँग ती कठिन दिनका सम्झना !
मदनले दिएको पेस्तोल पार्टीले कहाँ राख्यो थाहा भएन?
सुरेन्द्र पाण्डे
फरकधार / ३ जेठ, २०७८

आज जेठ ३ गते। सबै वर्षहरुमा झैँ आज पनि स्वर्गीय कमरेडहरु मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जलीको लागि पार्टी अफिस बल्खु पुगेँ। सालिकमा फूल चढाइरहँदा ममा उहाँहरूसँग सम्वन्धित राजनीतिक, सैद्धान्तिक, वैचारिक र पार्टी निर्माणमा सँगै हिँडेका धेरै कुरा मेरो मनमा ताजा बने। केही हरफ कोरूँ जस्तो लाग्यो। आजै त राजनीतिक कुराहरु धेरै भन्न सम्भव छैन। मनमा उठेका टुक्राटुक्री घटनाबारे मात्र उल्लेख गर्न गइरहेको छु।



कमरेड मदन भण्डारीसँग मेरो पहिलो भेट २०३७ को कात्तिक मंसिरतिर तिर मोरङ जिल्लाको हरैँचा भन्ने गाउँमा एउटा भूमिगत भेलामा भएको थियो। त्यो भेला मजदुर फाँटका केन्द्रीय कमिटीमा रहेका अगुवा नेताहरु र मजदूर फाँटदेखि पार्टीको तर्फबाट नेतृत्व प्रदान गर्ने कमरेडहरूको भेला थियो। त्यतिखेर मेरो काठमाडौंको मजदुर फाँटको पनि जिम्मा भएकोले त्यो भेलामा पुग्न पाएको थिएँ। 

त्यसबेलाका तत्कालिन नेकपा (माले) का महासचिव सिपी मैनाली, कोशीका पार्टी प्रमुख मदन भण्डारी, मजदूर फाँटका प्रमुख मुकुन्द न्यौपानेसहितको उपस्थिति थियो। भेलामा पार्टीको महासचिव उपस्थित भएकाले मदन भण्डारीले खासै भूमिका निभाउनु पर्ने अवस्था भएन। त्यसपछिका समयमा मेरो मदन कमरेडसँग भेटघाट हुन थाल्यो। कमरेड मदन भण्डारी ०४१ सालमा पोलिटब्युरोमा समाविष्ट भएपछि पोलिटब्युरोका बैठक लगातार काठमाडौंमा हुन थाल्यो। 

त्यसक्रममा म काठमाडौंको सचिव भएका कारण ती बैठकका लागि वा काठमाडौं आउने नेताहरुका लागि बसोबास र सेल्टरको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी नियमित रुपमा ममा हुने गर्दथ्यो। त्यस्तो जिम्मा जो कोहीलाई दिनु वा बताउनु धेरै जोखिमपूर्ण पनि थियो त्यो बेला। त्यसपछिका समयमा कमरेड मदन भण्डारीसँग महिना वा दुई महिनामा लगातारजसो भेट हुन थाल्यो। उहाँले मेरो काम गर्ने तरिका र क्षमतालाई नजिकबाट नियाल्न थाल्नुभयो र उहाँको भूमिका र क्षमताबारे पनि मलाई थप जानकारी हुँदै गयो। 



कमरेड मदनसँग जोडिएको एउटा ज्यादै गम्भीर घटना मलाई सम्झना छ। २०४३/०४४ सालतिरको कुरा हो अमृत साइन्स क्याम्पसमा पढ्ने तेह्रथुमका अनेरास्ववियू प्रारम्भिक कमिटीका एकजना विद्यार्थी नेता तथा पार्टी कार्यकर्ताले पार्टी च्यानलमार्फत ‘पार्टीका जिम्मेवार कमरेडसँग तुरुन्त भेट्न पर्ने भयो’ भनेर खबर पठाउनु भएको मैले थाहा पाएँ। त्यसपछि म वहाँलाई भेट्न अस्कल छात्रावासको गेटमा पुगेँ। वहाँले मलाई हतार हतार दुई पन्नाको कागज थमाइदिनु भयो। 

त्यस कागतमा लेख्ने र वहाँको कोठामा छोड्ने व्यक्ति मदन कमरेडको घर भएको मोरङकै इटहरा घर भएको पदम चुँडाल भन्ने व्यक्ति रहेछन् र उनी त्यस अगाडि नेकपा मालेको मोरङका सचिव रहेछन्। ती व्यक्ति मितभाइको नाताले उनको डेरामा बसेका रहेछन्। सायद उनले खेस्रा गरेको कागज नष्ट गर्न बिर्सेछन् र उनको हातमा परेछ। त्यो कागज दिँदै ‘मेरो पार्टीलाई घात गर्ने काममा मेरो मित दाइ लागेका रहेछन् मलाई सह्य भएन’, भनेर गम्भीर भएँ। 

त्यो भयंकर षडयन्त्रको कागज थियो। त्यसमा पदम चुँडालले लेखेका थिए, ‘मदन भण्डारी भन्ने झट्ट हेर्दा पञ्जावी जस्तो लाग्ने, सागर, एसएसआर, श्वेत सार्दुल, वर्वरिक जस्ता नामबाट पार्टीभित्र चिनिने व्यक्ति मालेका केन्द्रीय सदस्य हुन्।’ त्यो कागजमा मोरङका विभिन्न व्यक्तिका नाम र ठेगाना लेखिएको थियो र उल्लेखित नाम भएका व्यक्तिहरु पार्टीका कार्यकर्ता र सेल्टरदाताहरु हुन् भन्ने कुरा उल्लेख गरिएको थियो। 

त्यसैगरी कोशी अञ्चलका विभिन्न जिल्ला पार्टी सचिवको नामहरू पनि उल्लेख गरेका थिए। केही सेल्टरहरूमा संवेदनशील सामान रहेको र हतियारहरू पनि रहेका हुन सक्ने भनी लेखेका थिए। मैले त्यो पत्र तत्कालीन महासचिव झलनाथ खनाल (पंकज) र पार्टीका उपत्यका प्रमुख माधव नेपाल (रञ्जन) लाई  देखाएँ। वहाँहरूसँग ती कार्यकर्ताले बताएको सबै कुरा सुनाएँ। 

उहाँहरू धेरै गम्भीर हुनु भयो र एकजना कर्मचारी कार्यकर्तालाई प्लेनबाट विराटनगर पठाउने निधो भयो। मदन कमरेडलाई भेटी त्यसको जानकारी गराउने, सबै सामाग्री र सेल्टर सुरक्षित राख्ने र वहाँलाई काठमाडौं आउने सल्लाह दिएर पठाइयो। त्यस सूचनापछि सबै सेल्टरहरू र कार्यकर्तालाई सतर्क पार्ने काम भयो र सम्भावित नोक्सानीबाट पार्टी जोगियो। 

त्यस्तै अरु केही घटना कमरेड मदन भण्डारीसँग सम्वन्धित रहेका छन् र मेरा मानसपटलमा नाचिरहेका छन्। घटना के हो भने २०३८ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अनेरास्ववियु पाँचौं र नेविसंघबीच झडप हुँदा नेविसंघका विद्यार्थी नेताले हानेको गोलीबाट अखिलका विद्यार्थी नेता फणीन्द्र तिमल्सिनाको हत्या भयो।

फणीन्द्र गोलीले ढलेपछि नेविसंघका विद्यार्थीबाट दुई थान पेस्तोल र दुईवटा गोली अखिलका विद्यार्थीहरुले खोसे। त्यो पेस्तोल र गोली कमरेड मदन भण्डारीलाई बुझाइदिए। पछि मदन कमरेडले त्यसलाई सुरक्षित राख्न मलाई जिम्मा दिनुभयो, मैले त्यसलाई पार्टीमा बुझाइदिएँ। पार्टीले कहाँ राख्यो थाहा भएन। 

एक दिन काठमाडौं पाँगाका रामकृष्ण दुवाल कमरेडले पार्टीका जिम्मेवार कमरेडलाई भेट्न जरुरी छ भनेर खबर पठाउनुभयो। यो सम्भवत ०४१/०४२ सालतिरको कुरा हो। वहाँको पसल थानकोट प्रहरी चौकी नजिकै थियो। मैले ठाउँ पत्ता लगाउँदै वहाँको पसलमा पुगेँ। वहाँले एउटा ठूलो फाइल मेरो हातमा थमाइदिनु भयो। त्यसभित्र एउटा पन्ना आधा गरी पट्याएको थियो। 

त्यो पन्नामा लेखिएको थियो, ‘झापालीहरुका नक्सलाइट गुटका निम्न लिखित व्यक्तिहरु केन्द्रीय सदस्य भएको र निम्न स्थानमा आवत जावत गर्ने बुझिएकोले निजहरुलाई तुरुन्त गिरफ्तार गर्नु’ भनी लेखिएको थियो। जसमा कमरेड मदन भण्डारी, सिपी मैनाली, माधव नेपाल, जीवराज आश्रित, अमृत बोहोरा, इश्वर पोखरेलसहितको नाम थियो। मैले त्यो फाइल र पत्र कमरेड माधव नेपाललाई हस्तान्तरण गरें। 

सुरक्षालाई ध्यानमा राखी त्यो पत्रमा उल्लेखित सेल्टरहरू प्रयोग नगर्ने सल्लाह गरी निर्देशन जारी गरियो सबै सेल्टरहरू र पार्टीका नेताहरुलाई बचाइयो। त्यसपछि मैले रामकृष्ण कमरेडसँग त्यो कसरी हात लाग्यो भनेर सोधेँ। थानकोट चौकी अगाडि सानो कुर्सी र टुल राखी प्रहरी बसेका रहेछन्। गाडीबाट आवतजावत गर्ने मान्छेलाई उनीहरु निगरानी गर्दा रहेछन्। त्यसै बखत दुवालजीका करीब तीन वर्षको बच्चाले खेल्दै गएर टेबलको फाइल बोकेर आएको रहेछ। पार्टीको, नेता तथा सेल्टरहरूको सुरक्षाको निम्ति त्यो अबोध बालकबाट पनि ठूलो सहयोग भएको थियो। 

जीवराजको सम्झना

यस्तै प्रसंग कमरेड जीवराज आश्रितसँग पनि रहेको छ। २०३३ चैत १२ गते ललितपुरको नख्खु जेल तोडेर १५ जना कमरेडहरु उम्किनु भयो। त्यसमध्ये कमरेड प्रदीप नेपाल सुरक्षित तवरले बनारस पुग्नु भयो। कमरेड जीवराज आश्रितसहितका कमरेडहरुले पुष्पलाल समूहबाट विद्रोह गरी मुक्ति मोर्चा समूह बनाउनु भएको थियो।

बनारसमा प्रदीप कमरेड र जीवराज आश्रितबीच सम्पर्क भएपछि २०३४ सालको वैशाखतिर सम्पर्क सूत्रको आधारमा कमरेड आश्रित नरदेवीस्थित हामी बसेको डेरामा आइपुग्नु भयो। कमरेड राजेन्द्र पाण्डेले वहाँलाई कमरेड सिपी मैनाली (जय) सँग भेटाउने व्यवस्था गर्नुभयो। केही चरणको छलफलपछि २०३४ भाद्रमा जीवराज आश्रितको नेतृत्वमा मुक्ति मोर्चा समूह कोअर्डिनेशन कमिटी (कोके) मा सामेल भयो। 

मुक्ति मोर्चाको तर्फबाट कोकेमा सामेल हुनेमा कमरेड मदन भण्डारी, मोदनाथ प्रश्रित र वामदेव गौतम लगायतका कमरेडहरु हुनुहुन्थ्यो। कमरेड जीवराज आश्रितसँग धेरै लामो कालसम्म राजनीतिक सहकार्य मात्रै होइन, एउटै सेल्टरमा वर्षौं सँगै बसी एकै भान्सामा खाना खाने गर्दथ्यौं। दुःखको कुरा कमरेड मदन भण्डारी र जीवराज आश्रित रहस्यमय दुर्घटनामा परी सहादत हुनुभयो। आज वहाँहरुको २८ औं स्मृति दिवस हो। दिवंगत कमरेडहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार २०:५१:५०,   अन्तिम अपडेट : जेठ ३, २०७८ साेमबार २०:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया