माओवादीले भन्यो : बादल प्रतिगमनका मतियार भए, खिमलाललाई जिताउनू

माओवादी केन्द्र बागमती प्रदेश कमिटीले राष्ट्रिसभा सदस्यमा नेकपा एमालेका माधवकुमार नेपालनिकट खिमलाल देवकोटालाई विजयी गराउन ह्वीप जारी गरेको छ ।

माओवादी केन्द्रका वागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमरकट्टेलले संयुक्त विज्ञप्ति निकालेर देवकोटालाई मत हाल्न ह्वीप जारी गरेका हुन्।

उनीहरुले निकालेको विज्ञप्तिमा संघीयता र गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा विषय विज्ञ, ज्ञाता र सक्षम व्यक्ति डा. देवकोटालाई विजयी गराउन संघीयता पक्षधरहरुको दायित्व हुने जिकिर गरिएको छ।

देवकोटा माओवादी, कांग्रेस र माधवकुमार नेपाल समूहको समर्थनमा कलम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन्। ‘बागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख र अध्यक्ष र उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन अनुरोध गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले निकालेको विज्ञप्तिमा अर्का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिगमनको मतियार भनिएको छ। उनले  पार्टीको विधि, विधान र अनुशासन नमानी प्रतिगामी तत्वको मतियार भएको आरोप उनीहरुले लगाएका छन्। 

विज्ञप्तिमा बादलमाथि संविधान र संघीयता विरोधी काममा लागेको आरोप पनि लगाइएको छ।  बागमती प्रदेशको उपनिर्वाचनमा नेकपा एमालेबाट बादल र कांग्रेस-माओवादीको समर्थनमा देवकोटा उठेका छन्। 



तर एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल फेरि मिल्ने पक्षमा गएपछि बागमतीमा यही ६ गते हुने चुनावमा बादल विजयी हुने सम्भावना बलियो बन्दै गएको छ। 



  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार २०:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया