अस्पतालमा एउटै बेड पनि छैन खाली, किन ढाँट्यो स्वास्थ्य मन्त्रालयले?
चिकित्सकले भने : बेडका बिरामीले ज्यान गुमाए नयाँले पालो पाउँछन्

कोरोना संक्रमितको उपचारका लागि तयार काठमाडौंका निजी तथा सरकारी अस्पतालमा कयौँ बेड खाली रहेको विवरण सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्यो।

कोरोना संक्रमितको उपचार गरिरहेका उपत्यकाका १९ अस्पताल आइसोलेसन बेड, आइसियु र भेन्टिलेटर खाली रहेको भन्दै मन्त्रालयले सार्वजनिक भएको उक्त विवरण नै झुटो रहेको खुलेको छ।

संक्रमितको संख्या अत्यधिक थपिएपछि अस्पताललाई व्यवस्थापन गर्न धौ धौ भएको छ। उपचारमा खटिएका स्वास्थ्यकर्मीले रात दिन खटिनुपरेको छ। बेड सबै भरिएपछि अस्पतालहरुले प्यासेज,सिँढी र आँगनमा समेत रहेका संक्रमितको उपचार गरिरहेका छन्।

गलत विवरण

सोमबार प्रकाशित स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भेन्टिलेटर र आइसियु पर्याप्त खाली रहेको देखाइको छ। मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेपछि घरमै रहेका संक्रमितका आफन्तहरुले ती अस्पतालमा सम्पर्क गरे। तर उनीहरुले एउटा पनि बेड निकाल्न सकेनन्। 



फरकधारले बेड खाली रहेका भनिएका ती अस्पतालमा सम्पर्क गर्दा एउटा पनि नरहेको जानकारी मिल्यो। ‘दिन दिनैको तथ्यांक पठाइरहेका छौं । स्वास्थ्य मन्त्रालयले किन पुरानो विवरण राख्यो थाहा भएन’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागरकुमार राजभण्डारीले भने। उनका अनुसार अस्पतालमा समय समयमा भेन्टिलेटर र आइसियु संख्या फेरबदल हुन्छ, तर अहिले खाली छैनन् ।

टेकुमा छैन बेड, भुइँमा उपचार



कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एउटै बेड छैनन् । बेड सकिएको निकै दिन भइसकेको छ। अहिले बिरामीलाई कुर्सी र भुइँमा राखेर उपचार गराइँदैछ। बिरामीको संख्या अत्यधिक धेरै भएकाले अस्पतालमा शय्याभन्दा करिब दोब्बर संख्यामा बिरामीको उपचार गराइरहेको निर्देशक राजभण्डारीले जानकारी दिए ।

बलम्बुमा थपिएका बेड पनि भरिए

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा अहिले २०० भन्दा बढी कोरोनाका बिरामी छन् । कोरोना संक्रमण भएर आएका बिरामीलाई उपचारका लागि छुट्याइएका १४० बेड पहिले नै भरिएका थिए।

अहिले सामान्य बेड, आइसियु र भेन्टिलेटर समेत भरिभराउ छन् । ठाउँ थपेर १८० बनाउँदा पनि नपुगेर भुइँ, बेन्च र कुर्सी मिलाएर २०० जनाभन्दा बढी बिरामीलाई उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका सूचना अधिकृत डाक्टर प्रवीण नेपालले स्वास्थ्य मन्त्रालयको डाटामा राखिएको तथ्याङ्कबारे जानकारी नभएको बताए । उनी भन्छन्, ‘हामीसँग बेड छैनन्। मध्यान्ह १२ बजे १५ जना बिरामी सन्चो भएर जान्छन्। ३ बजे नै त्यो स्थान भरिन्छ।’ यस्तो अवस्थामा बेड खाली छ भनेर तथ्याङ्क नपठाएको उनले बताए । नेपालले अन्य स्थानमा व्यवस्थापन गरेर बिरामी थप्न अक्सिजनको समस्या भएको जानकारी दिए।

त्रिवि शिक्षणको बरन्डामा बिरामी

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि बेड छैनन्। 'स्वास्थ्य मन्त्रालयसँग दिनहुँ अपडेटमा हुँदा किन तथ्यांक फरक भयो? थाहा भएन?', अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले फरकधारसँग भने।

‘अस्पतालमा भएको क्षमता अनुसार सबै बेड भरिएका छन्', उनले भने, 'खाली छैनन्। तथ्यांकमा मन्त्रालयले कसरी गडबडी गर्यो? जानकारी भएन।'

कोभिड वार्डमा नअटेपछि बरन्डा र अर्को विभागको आइसियुमा कोरोनाका बिरामी राखेर उपचार भइरहेको उनले बताए।  उनका अनुसार अब अस्पतालमा खाली बेड छैनन् भने थप बिरामी भर्ना गर्न सक्ने क्षमता पनि छैन।

'बिरामीको मृत्यु भएमा मात्रै बेड खाली हुने अवस्था छ', उनले भने, 'अर्को अस्पतालबाट बिरामी सिफ्ट भइहाल्ने भएकाले बेड खाली हुने अवस्था छैन।' कोरोनाका ७५ जना बिरामी अहिले शिक्षणमा छन् । जसमा ५२ जना आइसियु र भ्यान्टिलेटरमा १८ जनाको उपचार भइरहेको छ। बाहिर ५ जना बिरामी उपचाररत छन् । 

दिनहुँ आइएमई एपको माध्यमबाट स्वास्थ्य मन्त्रालयले अस्पतालको तथ्यांक लिइरहेको हुन्छ। यसरी विवरण लिँदा पनि किन फरक आइरहेको छ? यसबारे अस्पताललाई जानकारी नभएको चिकित्सकहरु बताउँछन्।

  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १९:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया