नेपाली राष्ट्रिय फुटबल टोलीमा परिवर्तन : नयाँ प्रशिक्षकले चुने नयाँ पुस्ता

नेपालको राष्ट्रिय फुटबल टोलीमा यस वर्ष उल्लेखनीय परिवर्तन देखिएको छ । यस वर्षदेखि जिम्मेवारी सम्हाल्ने गरी गत चैत २२ गते कुवेतका अब्दुल्लाह अलमुताइरी प्रमुख प्रशिक्षकमा नियुक्त भए । भर्खरै सम्पन्न नेपाल सुपर लिगमा उनले प्रत्यक्ष अवलोकन गरी राष्ट्रिय खेलाडीमा पनि परिवर्तन गरेका छन् । आफैं बसेर मूल्याङ्कन गरेर उनले यस वर्ष ६ नयाँ अनुहारलाई नेपाली फुटबलको राष्ट्रिय टोलीमा समावेश गरेका हुन् । 

फेरिएका प्रशिक्षकको फेरिएको रणनीति 

गत चैत २२ गते नेपाली फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुने दिन अलमुताइरी केही विशेष कुरा सुधार्न चाहेको बताएका थिए । उनले नेपालको फुटबलमा धेरै सुधार ल्याउन सकिने बताए । विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई प्रो लाइसेन्स भएकालाई मात्रै प्रमुख प्रशिक्षकमा नियुक्त गर्न पाउने निर्णयबमोजिम उनी यो जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

अलमुताइरी कतार, किर्गिस्तान, अरेबिया र कुवेतका प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

उनी यस वर्ष आफ्नो कार्यभार सम्हालेपछि निकै व्यस्त देखिए । उनी नेपाल आइपुगे पश्चात् नै सुरु भयो नेपाल सुपर लिग । नेपालको पहिलो फ्रेन्चाइज लिग यसमा धेरै नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पनि पाए । यस खेललाई नजिकबाट नियाल्दै प्रशिक्षक अलमुताइरीले केही खेलाडीलाई विशेष अवसर पनि प्रदान गरे । यस वर्ष भएको एनएसएलमा गरेको प्रदर्शनलाई आधार मानी उनले ६ नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा अनुबन्ध गरेका हुन् ।

अलमुताइरीले मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरे । यस टोलीमा पहिलो पटक ६ नयाँ खेलाडीले सिनियर टोलीमा मौका पाएका हुन् । यस क्रममा पुराना ७ खेलाडीले पुनरागमन गरेका छन् । त्यस्तै गत चैतमा भएको थ्री नेसन्स कपको उपाधि हात पार्दाका १० खेलाडीले निरन्तरता पाएका छन् ।



नयाँ खेलाडीमा विशाल सुनार, गौतम श्रेष्ठ, कमल थापा, आयुष घलान, मनिस डाँगी र सुरज ज्यू ठकुरी रहेका छन् ।

त्यस्तै थ्री नेसन्स कप नखेलेका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, पुजन उपरकोटी, विकास खवास, सुमन अर्याल, सुमन लामा र आशिष लामाले टोलीमा पुनरागमन गरेका हुन् । 



यसरी नयाँ युवा खेलाडीलाई मौका दिँदा केही नाम चलेका राष्ट्रिय खेलाडीहरू भने टोलीबाट बाहिर छन् । जसमा राष्ट्रिय टोलीको कप्तानी गरेका भरत खवासदेखि रञ्जित धिमाल जस्ता खेलाडी टोलीबाट बाहिरिए । 

नयाँ ६ युवा अनुहार कसले कुन पोजिसनमा खेल्ने छन् ?

विशाल सुनार (गोलकिपर)

विशाल सुनार अब इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलमा गोलकिपरको भूमिकाबाट खेल्ने छन् । उनले यसअघि नेपालका लागि यू-१६ र यू-१८ का खेल खेलिसकेका छन् । यस पटकको नेपाल सुपर लिगमा उनले चितवन एफसीबाट खेलेका थिए । चितवनबाट उनले ५ खेल खेले ।

उनले पाँचौं खेलमा पोखरा थन्डर्सविरुद्ध रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । यसअघि पनि उनले ए डिभिजन लिग, आहा रारा गोल्डकप खेलेका हुन् । काठमाडौं रेजर्सका कप्तान तथा नेपालका उत्कृष्ट गोलकिपर विकेश कुथुले स्थान नपाउँदा उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

कमल थापा (मिडफिल्डर)

कमल थापा उमेर समूहमा खेलिसकेका खेलाडी हुन् । उनले यस पटकको एनएसएलमा पोखरा थन्डर्सबाट खेलेका थिए । उनले प्रतियोगिताको ३ खेल मात्रै खेले । वैकल्पिक खेलाडीका रूपमा मात्रै मैदान प्रवेश गर्ने उनले प्रशिक्षक अल्मुल्ताइरीको मन जित्न सफल भए ।

सुरज ज्यू ठकुरी (मिडफिल्डर)

विराटनगर सिटी एफसीबाट यस पटक एनएसएल खेलेका सुरज यस लिगमा निकै चर्चामा रहेका खेलाडी हुन् । उनले यस लिगको पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै, बाँकी तीन खेलमा पूरै समय मैदानमा रहेर खेलेका थिए । उनले यसअघि ए डिभिजन लिग समेत खेलेका थिए । उनको खेल र मैदानमा देखाएको छरितोपनले प्रशिक्षकको रोजाइमा पर्न सफल भए सुरज ।

गौतम श्रेष्ठ (डिफेन्डर) 

गौतमले एनएसएलमा पोखरा थन्डर्सबाट खेलेका थिए । यस प्रतियोगितामा उनी ६ मध्ये चार खेलमा सहभागी भए । उनले यस पटकको एनएसएलमा रक्षा पङ्क्तिमा देखाएको खेलका कारण उनी अलमुताइरीको छनोटमा परेका हुन् । उनले यसअघि ए डिभिजन लिग तथा यु २३ टोलीबाट खेलिसकेका छन् । रञ्जित धिमाल जस्ता नियमित खेल्ने खेलाडी टोलीमा नपरेपछि उनले यस पटक सिनियर टोलीमा मौका पाएका हुन् । 

मनिस डाँगी (मिडफिल्डर)

मनिसले एनएसएलमा विराटनगर सिटी एफसीबाट खेलेका थिए । विराटनगर एफसीले हिडन ट्यालेन्टको नाममा उनलाई अनुबन्ध गरेको थियो । विराटनगरका लागि लिगको ६ खेलमा वैकल्पिक खेलाडी भई मैदान प्रवेश गरेका उनले साँच्चै नै आफ्नो हिडन ट्यालेन्ट प्रस्फुटन गरे । आफ्नो खेलद्वारा प्रशिक्षक अलमुताइरीको मनमा बस्न पनि सफल भए । यसअघि उनले सी डिभिजन लिग र यु-१८ साफ च्याम्पियनसिप पनि खेलिसकेका छन् ।

आयुष घलान (मिडफिल्डर)

आयुष पनि हिडन ट्यालेन्टकै नाममा पोखरा थन्डर्सबाट एनएसएलमा अनुबन्ध भएका खेलाडी हुन् । यसअघि विरलै नाम सुनिएको उनी यस लिगबाट धेरैको मन मस्तिष्कमा बस्न सफल भए । यसअघि उनले घरेलु प्रतियोगिता तथा बी डिभिजन लिगका खेलेका थिए । उनी थोरै प्रतियोगिताबाट नै राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । उनको राष्ट्रिय टोलीको ढोका भने यही एनएसएल नै हो । यसै लिगबाट उनलाई प्रशिक्षक अल्मुल्ताइरीले छनोट गरेका हुन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १८:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया