लमजुङ भूकम्प अपडेट : ६ जना घाइते, २ सय घर भत्किए

लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान गएको ५.८ म्याग्‍निच्यूडको भुकम्पमा परेर ६ जना घाइते भएका छन् भने २ सय घर भत्किएका छन्। 

भूकम्पले संरचना भत्किँदा घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द अधिकारी र दोर्दी गाउँपालिका-७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका–८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लागेर घाइते भएका हुन् । घाइतेहरूलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।  

उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपछि गोविन्दबाहेक सबै घर गएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदीश मिश्रले बताए।

२ सय घरमा क्षति

जिल्लामा करिब २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए। 'जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ,' उनले भने, 'नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ।'



 मर्स्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर  मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताएका छन्। 

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ।



अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ । प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरूका धनीलाई वडाध्यक्ष र प्रहरीको मुचुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने बताए।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार २१:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया