सहज छैन कोरोना संक्रमितको शव व्यवस्थापन
तस्बिर : नेपाली सेना कृष्णदल गण

गएको दशैँको अष्टमीको दिन सबैतिर चाडबाडको रमझम थियो । तर, काभ्रेका गणेश गौतमले भने त्यही दिन आठवटा शव गाडे ।
 
बिहान ७ बजेबाट सुरु भएको शव गाड्ने काम राति साढे १० बजे मात्रै सकियो । उनले गाडेका शव सबै कोरोना लागेर मृत्यु भएकाहरुको थियो । 

गौतम विगत १८ वर्षदेखि नेपाली सेनामा कार्यरत छन्  । कोरोना महामारी सुरु भएपछि कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनाले पायो । 

सेनाले शव व्यवस्थापन गर्ने जिम्मा पाएपछि कृष्णदल गणमा कार्यरत गौतमलाई शव व्यवस्थापन गर्ने काममा खटाइयो । 

४ दिनको तालिम सेनाकै चिकित्सक र डाक्टरले दिए । त्यही तालिमका भरमा उनी कोरोना संक्रमित भई मृत्यु भएकाहरुको अन्त्येष्टि गर्ने काममा लागे । 

न मलामी न अरु कोही ! घरदेखि शव गाड्न तोकिएको स्थानसम्म अरु दुईजना सहकर्मीको सहयोगमा उनी कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि गर्दै आइरहेका छन् । 

‘सुरुमा त पिपिई लगाउन नै आएन । लाएपछि पनि हिँड्न नै जानिएन । मनमा डर पनि थियो । उनी भन्छन्, ‘तर दिएको जिम्मेवारी पूरा गर्न डरले भएन । खुसीकै साथ काम गरिरहेको छु ।’



पहिलोपटक उनले सुनसरीको धरानका कोरोना संक्रमण भई मृत्यु भएका मानिसको शव हरियाली सामुदायिक वन उपभोक्ता समितिको जंगलमा व्यवस्थापन गरे । 

पहिलो काम भएकाले डर लाग्यो । तर, पिसिआर चेकजाँच गर्दा उनको रिर्पोट नेगेटिभ नै आयो । उनी भन्छन्,‘ त्यसपछि डर लागेन । कोरोनाको डर सबैतिर छ । मानिसहरु मरिरहेका छन् । छेउमा जानुहुँदैन भनिएको छ । तर, कोरोना लागेर मृत्यु भएकाहरुको दैनिक शव व्यवस्थापन गरिरहेको छु । उनलाई आफूले पाएको जिम्मेवारी निभाउन सकेकोमा गर्व पनि छ । 



कोरानो संक्रमित भई कसैको मृत्यु भएमा स्थानीय पालिकाहरुले जिल्लास्थित डिसिसिएमसीलाई जानकारी गराउँछ । ​डिसिसिएमसीले नेपाली सेनालाई र त्यसपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने टिमलाई । त्यसपछि उनीहरु लाग्छन्, शव भएको स्थानतर्फ । एउटा शव घरदेखि घाटसम्म पुर्याएर अन्त्येष्टि गर्न कम्तीमा २ घण्टा लाग्ने उनको अनुभव छ । अहिले पनि शव व्यवस्थापनमा अवरोध आउछ । पहिला त धेरै नै थियो । 

स्थानीय तहले तोकेको स्थानमा शव व्यवस्थापन गर्न जाँदा स्थानीयले अवरोध गरिरहन्छन् । मृतकका आफन्त जतिसक्दो चाँडो शव व्यवस्थापन गर्न भन्छन्, तर स्थानीयले बाटो पनि छेक्छन् । 

‘हामी गाडीमा जम्मा ५ जना हुन्छौँ । कहिलेकाहीँ तीनजना मात्रै पनि शव लिएर गएका हुन्छौँ । उनले सुनाए, बाटो छेकेर गाडी नै हिँड्नसमेत अवरोध हुन्छ । यसले हामीलाई समस्या परिरहेको छ ।’

यसरी हुन्छ संक्रमितको शव व्यवस्थापन 

कोरोना लागेर मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सुनसरीमा अहिले ३६ जना नेपाली सेनालाई परिचालन गरिएको छ । कृष्णदल गणका गणपति कर्णेल अर्जुन दुलालका अनुसार शव व्यवस्थापन गर्नेहरुलाई सुनसरीको भोक्राहस्थित आइसोलेसन सेन्टरमा राखिएको छ । तीनवटा समूह बनाएर उनीहरुलाई परिचालन गरिएको दुलालले बताए । 

गणपति दुलालका अनुसार एउटा समूह फिल्डमा, एउटा  तयारी अवस्थामा र अर्को क्वारेन्टिनमा बस्ने गरेका छन् । 

‘हामीले  पालो–पालो गरेर शव व्यवस्थापनमा खटाएका छौँ ,’ उनले भने, ‘एउटा समूह संक्रमित भइहाले पनि अरु तयारी अवस्थामा राख्नका लागि तीनवटा समूह बनाइएको हो ।’ 

सेनाले शव व्यवस्थापनको जिम्मेवारी पाए पछि पनि कसरी काम गर्ने भन्ने अन्योल सेनामा पनि रह्यो । उनले भने,‘पछि विभिन्न माध्यमबाट तालिमको कोर्स बनायौँ , कोर्स बनेपछि प्रशिक्षक प्रशिक्षण तालिम दियौँ र जनशक्ति बनायौँ ।’

गणपति दुलालले अहिले सेनासँग शव व्यवस्थापन गर्ने जनशक्तिको कमी नरहेको बताए । पहिलो लहरमा सेनाले सुनसरीमा मात्रै एक सय ४५ जना कोरोना संक्रमित भई मृत्यु भएकाहरुको शव व्यवस्थापन गरेको छ । दोस्रो लहरमा भने अहिलेसम्म २९ जनाको शव व्यवस्थापन गरिसकेको छ । 

गणपति दुलाल शव व्यवस्थापन गर्न समस्या नरहेको, तर स्थानीय पालिकासँगको समन्वयमा भने केही समस्या देखिएको बताउँछन् । पालिकाले तोकेको स्थानमा शव व्यवस्थापन गर्न स्थानीयको अवरोध भइरहन्छ । 

एउटा वडाको मानिसको शव अर्को वडामा लैजान अवरोध छ । उनले सुनाए, ‘पालिका नै अर्कोमा लानु परेमा झनै अवस्था जटिल हुन्छ ।’ 

स्थानीय सरकारले अवरोध हटाउन समन्वय गरिरहेको भए पनि अझै सहजता आइनसकेको गणपति दुलालले बताए । 

मृतकका परिवार जति सक्दो चाँडो व्यवस्थापन होस् भन्छन् । तर, प्रक्रिया पुर्याउन समय लाग्छ । गणपति दुलालले भने, ‘शव व्यवस्थापन गर्नु सजिलो काम होइन । हतारमा गर्ने काम पनि होइन, तर बुझाउन सकिएको छैन ।’

हतारमा  शव व्यवस्थापन गर्नु जोखिम पनि हो । उनी भन्छन्, ‘व्यवस्थापन गर्नेहरु संक्रमित हुन सक्छन् । तर, मृतकका आफन्त छिटो गर छिटो गर भनिरहन्छन्।’ 

  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ९:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया