काठमाडौंका निजी अस्पतालमा अक्सिजनको चरम अभाव उस्तै

कोरोनाको दोस्रो लहरको उपचारमा काठमाडौंका सरकारी अस्पताल त डटेर लागेकै छन् । निजी अस्पताल पनि उत्तिकै लागिपरेका छन् । हाल बिरामीको चाप सरकारी अस्पतालमा मात्रै नभई निजी अस्पतालमा पनि छ । बिरामीको चाप थेग्न अहिले अस्पतालहरुलाई निकै कठिन भइरहेको छ । नेपालका अस्पतालमध्ये सबैभन्दा बढी भेन्टिलेटर भएको अस्पताल मेडिसिटीमा अक्सिजनको चरम अभाव अझै टरेको छैन । अन्य अस्पताल पनि बिरामीले भरिभराउ छन् ।

अक्सिजनको अभावका कारण अस्पतालमा सिकिस्त बिरामी आउँदा भर्ना गर्ने अवस्था छैन । अस्पतालका प्रायः आइसियू तथा भेन्टिलेटर भरिएका छन् । दोस्रो लहरमा धेरै सिकिस्त तथा अक्सिजन चाहिने अवस्थाका बिरामी अस्पताल भर्ना भएकाले समस्या आएको उपचारमा संलग्न डाक्टरहरु बताउँछन् । 

मेडिसिटीमा बेड भरिए, जनशक्ति छ तर अक्सिजन छैन

अहिले मेडीसिटी अस्पतालमा १३२ बिरामी उपचाररत छन् । अस्पतालले राख्न सक्नेजति बेड थप गरी बिरामीको उपचार गरिरहेको अस्पतालका जनरल म्यानेजर विजय रिमालले बताउँछन् । अस्पतालमा अहिले कोभिडका बिरामी मात्रै हेर्नका लागि भनेर १०० जना चिकित्सक तथा ५०० जना नर्स खटिएका छन् । उनी भन्छन्, ‘अस्पतालमा चिकित्सकको कमी छैन, तर अक्सिजनको समस्याले अहिले कोभिड तथा अन्य बिरामीलाई हेर्न गाह्रो भएको छ । 

अहिले मेडिसिटीमा ८२ वटा आइसियू तथा ४० वटा भेन्टिलेटर सबै भरिएका छन् । अस्पतालमा बिरामी राख्ने ठाउँ छैन । अक्सिजन अभावकै कारण बिरामीको उपचार गर्न गाह्रो भएको उनले बताए । 

२४ घण्टामा मेडिसिटी अस्पतालका बिरामीलाई करिब ४०० सिलिन्डर अक्सिजनको आवश्यकता पर्दछ । गत वैशाख २८ गते अस्पतालले प्रेस विज्ञप्ति नै निकालेर यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको थियो । अस्पताललाई आवश्यक पर्नेभन्दा करिब तीन गुणा कम मात्रै अक्सिजन सिलिन्डर प्राप्त भएपछि अस्पतालले विज्ञप्ति निकालेको थियो । 



अहिले पनि अस्पतालमा २०० देखि २५० सिलिन्डर अक्सिजन आपूर्ति भएकाले बिरामीलाई सहज रुपमा अक्सिजन दिलाउन गाह्रो भएको रिमालले बताए । 

स्टार अस्पतालको अवस्था नाजुक 



 कोरोना संंक्रमितको उपचारमा खटिएको अस्पताल स्टार अस्पतालमा अहिले ४० जना बिरामी छन् । अस्पतालमा अहिले दुई सिफ्टमा चिकित्सकले बिरामीको हेरचाह गर्दै आएका छन् । एक सिफ्टमा २ देखि ३ डाक्टर तथा ४ देखि ५ जना नर्स कोरोना संंंक्रमितको उपचारमा खटिएका छन् । सामान्यदेखि नाजुक अवस्था भएका बिरामी हेर्दै आएको स्टार अस्पतालमा अहिले १४ वटा आइसियू भरिएका छन् । सिकिस्त तथा अक्सिजन चाहिने बिरामी भर्ना गर्न भने गाह्रो रहेको स्टार अस्पतालका डाक्टर अनिल पोखरेलले जानकारी दिए ।
 
ह्याम्समा आइसोलेसनका लागि बेड छ, तर सिकिस्त बिरामीका लागि ठाउँ छैन 

काठमाडौंमा अहिले कोरोनाका बिरामी उपचारमा खटिएको अर्को अस्पताल हो, ह्याम्स अस्पताल । हाल ह्याम्स अस्पतालमा ७० जना कोरोनाका बिरामीको उपचार भइरहेको छ । 

अहिले ह्याम्स अस्पतालमा २० वटा आइसियू तथा भेन्टिलेटरमा १४ जना बिरामीको उपचार भइरहेको छ । अहिले स्वास्थ्यकर्मीको भन्दा अक्सिजनको समस्याले सिकिस्त बिरामी थप्न सक्ने अवस्था नरहेको अस्पतालका कोरोना फोकल पर्सन साजन राजभण्डारीले जानकारी दिए । उनी भन्छन्, ‘अस्पतालमा अक्सिजन चाहिने बिरामी भर्ना गर्ने अवस्था छैन । तर, सामान्य आइसोलेसनका लागि ६ देखि ७ जना बिरामी थप्न सक्छौँ ।’ 

आइसियू तथा भेन्टिलेटरमा रहेका बिरामीलाई सहज रुपमा अक्सिजन दिलाउन समस्या रहेको उनले बताए । 

अस्पतालहरुले समस्या दर्साउँदै दैनिक रुपमा स्वास्थ्य मन्त्रालयमा पठाइरहेका छन् । बिरामीदेखि बेड तथा अक्सिजनको समस्या सम्पूर्ण खुलाई दैनिक स्वास्थ्य मन्त्रालयमा विवरण बुझाउने गरेको निजी अस्पतालहरुले जानकारी दिएका छन् । तर, सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आपूर्तिको आश्वासन आउने गरेको, तर परिपूर्ति हुन नसकेको उनीहरुको गुनासो छ । 

  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २१:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया