के तपाई अक्सिजन कन्सेन्ट्रेटर किन्दै हुनुहुन्छ ? सावधान !
महावीर पुन भन्छन्, 'अक्सिजन होइन, हावा दिनसक्छ'

कोरोना संक्रमित बिरामीका लागि भन्दै अक्सिजन कन्सेन्ट्रेटरको माग बढ्दो छ । सरकारी होस् वा गैरसरकारी निकायले अक्सिजन कन्सेन्ट्रेटरतर्फ बढी ध्यान दिइरहेका छन् । तर, ती कन्सेन्ट्रेटरको गुणस्तरमा भने कमैले ध्यान दिएको पाइएको छ ।
 
राष्ट्रिय आविस्कार केन्द्रमा गरिएको परीक्षणको क्रममा प्रति मिनेट ९० प्रतिशत अक्सिजन दिन्छ भनेर किनिएको कन्सेन्ट्रेटरमा ४० प्रतिशत मात्र अक्सिजन दिएको पाइएको हो । केन्द्रका प्रमुख डा. महावीर पुनले ५ लिटर प्रतिमिनेट फ्लो रेटमा ९० प्रतिशत अक्सिजन दिने भनिएको कन्सेन्ट्रेटरले ४० प्रतिशत मात्र अक्सिजन दिने पाइएको बताए । 

अक्सिजन कन्सेन्ट्रेटर किन्दा राम्रोसँग बुझेर मात्र किन्न पुनको सुझाव छ । किन्न लागेको अक्सिजन कन्सेन्ट्रेटरले कति प्रतिशत अक्सिजन दिन्छ भन्ने कुरा जाँच्न चाहेको खण्डमा आविष्कार केन्द्रले जाँच गरिदिने उनको भनाइ छ । 

कन्सेन्ट्रेटर किन्दा के-के कुरामा ध्यान दिने ?
पुनका अनुसार कन्सेन्ट्रेटर किन्दा त्यसको फ्लो रेट हेर्नुपर्छ । कुनै कन्सेन्ट्रेटरमा ५ लिटर अथवा ७ लिटर प्रतिमिनेट फ्लो रेट रहने भनिए पनि त्यसले दिने अक्सिजनको प्रतिशत हेर्नुपर्ने उनको भनाइ छ । 

‘जस्तो कि १–७ प्रतिमिनेट भनेको छ । त्यसको अर्थ त्यसले १ देखि ७ लिटर प्रतिमिनेट अक्सिजन दिन्छ भनेको होइन्। त्यसले हावा चाँही १ देखि ७ लिटर दिन्छ भनेको हो ।’ डा. पुनले भने । 

त्यसको पछाडि लेखेको ९०–३० प्रतिशत लेखेको कुरा चाँही हेर्नुपर्ने उनी बताउँछन् । त्यसको अर्थ त्यो कन्सेन्ट्रेटरले १ लिटर प्रतिमिनेट हावा फाल्दा ९० प्रतिशत शुद्ध अक्सिजन दिन्छ र ७ लिटर प्रतिमिनेट हावा फाल्दा ३० प्रतिशत मात्र शुद्ध अक्सिजन दिन्छ भनेको उनको भनाइ छ । 

कोरोनाले च्यापेका बिरामीलाई अक्सिजन कन्सेन्ट्रेटरको अक्सिजनले मात्र नपुग्ने उनी बताउँछन् । १–७ लिटर प्रतिमिनेट ९० प्रतिशत (1~7L/min (90%~30%)​ भनेर लेखिएको कन्स्ट्रेटर मात्र राम्रो हुने उनको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ९:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया