निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र हिसानले शिक्षकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।
प्रदेश १ सरकार सामाजिक विकासमन्त्री उषाकला राईलाई भेटेर प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकहरुलाई खोप उपलब्ध गराउन माग गरेको हो । प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गरे ।
खोपको व्यवस्था नभए शैक्षिक गतिविधिमा असर पर्ने भन्दै सरकारको ध्यान खोपमा जानुपर्ने बताए । उनले तत्कालका लागि वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बनाइने बताए । शैक्षिक गतिविधि ठप्प भएकाले सञ्चालन गर्न सक्ने वातावरण बनाउन माग गरेको हो ।
अध्यक्ष पुरीले भने, ‘सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन । यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकोमा जोड दिए । उनले खोपलाई प्राथमिकता दिन आग्रह गरे ।
उपाध्यक्ष पोखरेलले अहिले देशभर शैक्षिक गतिविधि ठप्प प्राय भएको र यस्तो अवस्था सधैँ राखेर नहुने भन्दै उपाध्यक्ष पोखरेलले वैकल्पिक विधिबाट भएपनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन जरुरी रहेको बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
छलफलपछि प्रदेश १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताइन् । उनले कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।