नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउने आफ्ना पार्टीका प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई स्वआलोचना गर्दै पार्टी मूलधारमा फर्कन निर्देशन गरेका छन् ।
अध्यक्ष पोखरेलले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पार्टीको सूर्य चिन्हबाट निर्वाचित केही पालिका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले गैरराजनीतिक गतिविधि, अराजकता र दलीय अनुशासन उल्लंघन गरी फ्लोर क्रस गरेर हराइएको दाबी गरेका छन् ।
पोखरेलले २०७८ सालको जेठ ६ गते एमालेको अनुशासन र संसदीय परम्परा उल्लंघनकाे कालो दिनको रुपमा अंकित हुने भन्दै फ्लोर क्रस गर्नेहरुको पहिचान भइसकेको बताए ।
आधिकारिक उम्मेदवार हराउन लागेकाहरुको नामावली स्थानीय पार्टीबाट सिफारिस भई आएको भन्दै पोखरेलले सबैले स्वआलोचना गरी मूलधारमा फर्कने समय अझै बाँकी रहेको बताए ।
फ्लोर क्रस गरेका एमालेका सबै मतदातालाई आत्मालोचनासहित सम्बन्धित पार्टी कमिटीमा सम्पर्क राख्न अध्यक्ष पोखरेलले निर्देशन दिएका छन् । त्यसो नगरेमा कारबाहीको प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।
पाखरेलले भनेका छन्, 'निर्देशन पालना नगरे पार्टीको विधान र संसदीय दलको विधान र नजिर आकर्षित हुने कुरा सबैमा विदितै छ । पार्टी अनुशासन कायम राख्नु र संसदीय मूल्य स्थापित गर्न पार्टी कटिबद्ध छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।