भारतको खोप निर्माता कम्पनी सेरम इस्टिच्युटले केही समयका लागि खोप निर्यात रोकेको छ । सेरमले १८ मेमा एक विज्ञप्ति जारी गर्दै पहिलो प्राथमिकता आफ्नो देशका नागरिकलाई भएको भन्दै खोप निर्यात नगर्ने जनायो । सेरमले २–३ महिनाभन्दा अगाडि खोप निर्यात गर्न नसक्ने प्रस्ट पारेको हो ।
नेपालमा त्यही कम्पनीको पहिलो डोज लगाउनेको संख्या झण्डै १५ लाख छ । खोप उत्पादक कम्पनीको यस्तो विज्ञप्तिपछि सो जनसंख्या अन्योलमा परेको छ । एकातिर पहिलो डोज लगाएको कति समयभित्र दोस्रो डोज लगाइसक्नुपर्ने हो भन्ने यकिन छैन । त्यसमाथि अब दोस्रो डोजका लागि खोप नै कहिले आउने निश्चित नहुँदा उनीहरू थप चिन्तित बनेका हुन्।
भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज, नेपालले किनेको १० लाख डोज, कोभ्याक्स सुविधामार्फत पाएको तीन लाख ४८ हजार डोज र भारतीय सेनाले नेपाली सेनालाई छुट्टै दिएको एक लाख डोज गरी झण्डै २५ लाख डोज खोप नेपाल आएको थियो । ती सबै खोप सोही कम्पनीको थियो । नेपालमा १७ लाखभन्दा बढी जनसंख्याले कोभिसिल्डकै पहिलो डोज लगाएका थिए । तीमध्ये तीन लाख ६२ हजार जनाले दोस्रो डोज पनि लगाइसकेका छन् । अब कोभिसिल्डकै पहिलो डोज लगाएका झण्डै १५ लाख जनसंख्या भने खोप कहिले आउने हो भन्ने टुंगो नहुँदा चिन्तित बनेको छ ।
तत्काल भारतबाट खोप आउने संकेत छैन
खोप उत्पादक कम्पनीले नै दुई–तीन महिना खोप निर्यात नगर्ने भनेर प्रस्ट पारेपछि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खोप आउने आशा मारिसकेको छ । पहिलो डोज लगाएकालाई दोस्रो डोज पनि त्यही कम्पनीको लगाउनुपर्ने हुन्छ । त्यसैले पनि नेपालले १५ लाख डोजका लागि सेरम कम्पनीमाथि नै भर पर्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले थप खोपका लागि लामो समयदेखि पहल गरे पनि कहिले कमिसन त कहिले अन्य कारणले आउन सकेको छैन । कम्पनीसँग पटक–पटक आग्रह गर्दा पनि खोप दिने संकेत नमिलेपछि मन्त्रालयका अधिकारी निरास बनेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम खोप ल्याउने कुरा अब मन्त्रालय हातमा नरहेको बताउँछन् । ‘अब प्रधानमन्त्री स्तरबाट सीधै कूटनीतिक पहल गरेपछि मात्र केही होला, नत्र हाम्रो तर्फबाट सकिएन,’ डा. गौतमले भने ।
पहिलो डोजको कोभिसिल्ड खोप लगाएकाहरूलाई वैशाख २३ गतेदेखि जेठ २३ गतेभित्र दोस्रो डोज दिइसक्नुपर्नेछ । मन्त्रालयले सीधै कम्पनीसँग र कूटनीतिक पहलमार्फत खोपका लागि पहल गर्दा जुलाईसम्म पर्खन भनेको उनको भनाइ छ ।
कोभ्याक्स कार्यक्रम प्रभावित
विश्वका सबै मुलुकलाई समान रूपमा खोप उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमले विभिन्न देशलाई खोप उपलब्ध गराइरहेको छ । उक्त कार्यक्रममार्फत नेपालले पनि तीन लाख ४४८ हजार डोज खोप पाएको छ । उसले नेपाललाई २० लाख डोज खोप दिने भनेको थियो । पहिलो चरणमा कोभिसिल्ड खोप नै दिएको थियो ।
कम्पनीले खोप तत्काल निर्यात गर्न नसक्ने जनाएपछि कोभ्याक्स कार्यक्रम नै प्रभावित भएको हो । कोभ्याक्स कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघको बालबालिका नियोग युनिसेफले खोप किनेर वितरण गर्दै आएको छ ।
सेरमले कोभ्याक्स कार्यक्रमका लागि झण्डै एक अर्ब डोज खोप उपलब्ध गराउनुपर्ने थियो । यो कार्यक्रम अन्तर्गत दुई अर्ब डोज खोप वितरणको लक्ष्य राखेको थियो । तर, सेरमले मार्चदेखि अहिलेसम्म कोभ्याक्स कार्यक्रमलाई खोप उपलब्ध गराएको छैन । आगामी जुन महिनासम्म पनि खोप उपलब्ध गराउने नसक्ने जनाएपछि यो कार्यक्रम पनि प्रभावित भएको हो ।
पहिलो र दोस्रो डोज फरक–फरक कम्पनीको खोप लगाउन मिल्छ कि मिल्दैन ?
कोरोनाविरुद्धको खोपको पहिलो डोज कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो डोज पनि त्यही लगाउनुपर्छ भन्ने विज्ञहरूको सुझाब छ । किनभने, औषधिको उत्पादन गर्दा नै त्यहीअनुसारको पदार्थ र एन्टिबडी बनाइएको हुन्छ । हुन त यो खोप आफैँमा अहिले परीक्षणको अवस्थामा छ । यस्तो अवस्थामा यसका प्रभावबारे थप कुराहरू खुल्दै जाने छन् । तर, पहिलो र दोस्रो डोज खोप फरक–फरक लगाएको खण्डमा के हुन्छ भन्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।
यो विषयमा अध्ययन हुनै बाँकी रहेको भन्दै जोखिम नमोल्ने हिसाबले त्यही खोपको दोस्रो डोज पनि लगाउनुपर्ने उनको भनाइ छ । अघिल्लो जुन खोप लगाएको हो, त्यही कम्पनीको खोप ल्याएर लगाउनुपर्ने डा. पुनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।