अक्सिजन प्लान्ट तथा एचडियुका लागि थप १७ करोड ८७ लाख रुपैयाँ निकासा

१३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि सरकारले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयले उक्त रकम निकासाको स्वीकृति दिएको छ । उक्त रकममध्ये भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ निकासा गरेको छ । 

यस्तै, सरकारले यो साताभित्र विभिन्न चरणमा अक्सिजन प्लान्ट, पाइपलाइन निर्माण, एचडियु र भेन्टिलेटरका खरिदका लागि साढे ४ अर्ब रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले २६ ओटा केन्द्रीय अस्पताल र ९ ओटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो । त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ ओटा अस्पतालमा एचडीयु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ निकासाका लागि सहमति दिइसकेको छ । 

विभिन्न जिल्लाका १२ ओटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्न १६ करोड ८० लाख र अन्य अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति अर्थ मन्त्रालयले दिएको थियो । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १७:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया