आइसियु र भेन्टिलेटरमा किन बढे बिरामी ?
भाइरसको स्वरूप परिवर्तन भई थप घातक भएको हुन सक्ने विशेषज्ञको आशंका

काठमाडौं उपत्यकाका अस्पतालहरूमा सिकिस्त बिरामीको चाप बढ्दो छ । पछिल्ला १० दिनयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा आइसियु तथा भेन्टिलेटरमा बिरामीको संख्या बढेको देखिएको छ ।

अस्पतालमा चाप बढ्दै गएपछि भेन्टिलेटर तथा आइसियुमा रहेका बिरामीको उपचारमा समस्या आएको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौंमा हाल १९ वटा अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचार तथा हरेक किसिमका जानकारी अस्पतालहरूले दैनिक स्वास्थ्य मन्त्रालय पठाएका हुन्छन् ।

जसअनुसार जेठ १० गते ४८५ जना बिरामी आइसियुमा र २०० जना बिरामी भेन्टिलेटरमा उपचाररत छन् ।

महिनाको प्रारम्भमा १८० जना बिरामी आइसियु तथा १०१ जना बिरामी भेन्टिलेटरमा उपचारत थिए । त्यस्तै उक्त आँकडाअनुसार एकै दिनमा आइसियुमा ९७ बिरामी थपिई जेठ २ गते २७७ जना बिरामी भर्ना भए । सोही दिन भेन्टिलेटरमा पनि एकै दिनमा २८ जना बिरामी थपिए । यसरी दैनिक मात्रामा सिकिस्त बिरामीको संख्या बढ्दा उपचारमा समस्या आएको छ । सिकिस्त बिरामीको संख्या थपिँदा अक्सिजनको मात्रा पुर्‍याउन कठिन भएको अस्पतालहरूले बताएका छन् । 

किन बढ्यो सिकिस्त बिरामीको संख्या ?



अहिले १० दिनयता आइसियु तथा भेन्टिलेटरमा बिरामी बढ्नुको कारण भाइरस थप घातक रूपमा देखा परेको हुने बताउँछन् सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन । 

‘भाइरसको रूप परिवर्तन सामान्य कुरा हो यसले थप घातक रूप लिएर अहिले बिरामीमा बढी असर पारेको हुन सक्छ ।’ 



नेपालमा अहिले संक्रमणको विशेष जाँच तथा पहिचान हुने अवस्था नभएकाले संक्रमण बढी घातक भएको हो या त्यही भेरियन्टको नयाँ स्वरुप निस्किएको हो यकिनका साथ भन्न नसकिने उनले बताएका छन् ।

अहिले नेपालमा पहिलो लहरमा जुन तरिकाले कोरोनाको उपचार हुने गर्थ्यो त्यही रूपमा उपचार भइरहेको छ । यस्तो हुँदा उपचार विधिमा परिवर्तन तथा भाइरसको लक्षण परिवर्तन बारे अनुसन्धान गरी सुधारको अवश्यकता भए सुधार गर्नुपर्ने उनको भनाइ छ । 

हाल टेकु अस्पतालमा आइसियुमा भर्ना भएका बिरामीलाई पनि बचाउन गाह्रो भएको उनले बताएका छन् । 

बिरामीमा संक्रमण पुष्टि हुनु अघि घरमा बस्दा भाइरसले भित्रसम्म असर पारेको हुन सक्ने उनले बताए । यो भाइरस पहिलाको तुलनामा बढी संक्रमित भनिएको छ । संक्रमित भएको भाइरस थप घातक भई हाल बिरामीको उपचारमा समस्या भएको उनको भनाइ छ ।

पाटन अस्पतालका चिकित्सक रवि शाक्य भन्छन्, ‘अहिलेका बिरामीलाई संक्रमण पुष्टि भएको थोरै समयमै आइसियु तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको छ ।’

अहिले बिरामीलाई छिट्टै पहिचान र उपचार गर्दागर्दै पनि सिकिस्त हुने गरेका छन् । अहिले २ सातायता संक्रमण बढी घातक देखिएको उनले बताए ।

पहिला बिरामी ढिलो अस्पताल भर्ना हुँदा उनीहरूलाई आइसियु तथा भेन्टिलेटर चाहिने अवस्था हुन्थ्यो । अहिले बिरामीहरू छिट्टै अस्पताल आउँछन् तर पनि उनीहरू बढी सिकिस्त हुने गरेका छन् । 

पाटनमा सहज भयो अक्सिजन आपूर्ति 

गत साता पाटन अस्पतालमा बिरामीलाई दिने पर्याप्त अक्सिजनको मात्रा थिएन । बिरामीलाई अक्सिजनको मात्रा पुर्‍याउन नसक्ने अवस्था भएर पनि बिरामी थप गर्न सक्ने क्षमता थिएन । हाल बिरामीलाई पहिलेको तुलनामा अक्सिजन आपूर्ति सहज भइरहेको डाक्टर शाक्यले बताएका छन् ।

उनी भन्छन्, ‘अक्सिजन हिजोबाट सहज आपूर्ति भएको छ । चीनबाट राहत स्वरुप प्राप्त भएको अक्सिजन नेपाल सरकारबाट आउन थालेपछि अक्सिजनको अभाव टरेको हो ।

  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १७:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया