उपत्यकाको निषेधाज्ञा झन् कडा : कोरोनाको 'चेन ब्रेक' गर्न सडकमा मानिस रोक्ने तयारी
किराना पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न नपाइने

कोरोना नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा कडा नियमसहित एक साता निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडा नियमसहित एक साता निषेधाज्ञा थप्ने निर्णय लिएको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यो निषेधाज्ञा थप कडा बनाइएको बताएका छन्। नयाँ नियमअनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द हुनेछन्। 

यसअघि बिहान नौ बजेसम्म यी पसल खुलिरहेका थिए। तर बुधबारदेखि ती पनि पूरै दिन बन्द हुनेछन्। फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल यसअघि झैँ बिहान बजेसम्म खुल्ने छन्। 

पराजुलीका अनुसार अत्यावश्यक सेवा कार्यालयका लागि बिहान साढे ९ देखि साढे १० सम्म र साँझ ५ देखि ६ बजेसम्ममा मात्रै सवारी चल्न दिने निर्णय पनि बैठकले गरेको छ। अब सरकारी कार्यालयका गाडी दिउँसोको समयमा गुड्न पाउने छैनन्। प्रशासनले बिहान र साँझ पैदल हिँड्न पनि रोक लगाएको छ। 

कडा कारबाही 

सरकारले गत शुक्रबार मात्रै ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश’ जारी गरेको थियो। नयाँ अध्यादेश अनुसार निषेधाज्ञा कडाइसाथ लागू गरे कोरोना महामारीको चेन चेन ब्रेक गर्ने रणनीति सरकारले लिएको हो



नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैद व्यवस्था गरेको छ। नयाँ अध्यादेशको उल्लंघन गरेमा ६ महिनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना व्यवस्था गरिएको छ। 

अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उलंघन गर्नेलाई २ सय जरिवाना लाग्ने छ।



त्यस्तै, सवारी साधन आवतजावतमा रोक लगाएको अवस्थामा अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना गराउने अध्यादेशमा उल्लेख छ।

अध्यादेशमा अनुमतिबिना सवारी साधन चलाउने लागि सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिन सक्ने जनाइएको छ। अध्यादेशको विपरितको काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेखित सजायसँगै प्रमुख जिल्ला अधिकारीले तीन लाखसम्म जरिबाना र ६ महिनासम्मको लागि बन्द गर्न सकिने व्यवस्था गरिएको छ।

  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १९:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया