नेपाल सुपर लिग अनुशासन समितिले फ्रेन्चाइज टोली विराटनगर सिटी एफसीलाई कारबाही गरेको छ ।
समितिले टिमका मुख्य प्रशिक्षक यान ललाई १ वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना तोकेको छ । क्लबका निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई ३-३ खेलको प्रतिबन्ध लगाएको छ ।
विराटनगर सिटी एफसीलाई १ लाख जरिवाना लगाइएको छ । लिगको समूह चरणमा ललितपुर सिटीविरुद्धको खेलमा अनुशासन तोडेको भन्दै टिमलाई कारबाही गरिएको हो ।
समूह चरणको अन्तिम खेलमा ललितपुरविरुद्ध २-० ले पछि परेको अवस्थामा प्रशिक्षक यान लले आफ्ना खेलाडीलाई मैदान छाड्न भनेका थिए ।
प्रशिक्षकको निर्णयप्रति असन्तुष्ट देखिएका विराटनगरका अफिसियल पनि आक्रोशित थिए ।
प्ले अफमा पुग्न जित्नै पर्ने दबाबमा रहेको विराटनगर ४-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो
समितिले यानको व्यवहार अभद्र भएको र टच लाइन पार गरेर रेफ्रीमाथि गाली गरेको आरोप लगाइएको छ ।
लले लिगमा बारम्बार रेफ्रीको निर्णयमाथि प्रश्न उठाउँदै आएका थिए । एक खेलमा त उनले लिगका रेफ्री भारतीय स्कुल स्तरका रेफ्रीभन्दा पनि तल्लो स्तरको रहेको सम्म भन्न भ्याएका थिए ।
नेपाल सुपर लिग अनुशासन समितिको यो निणर्यप्रति विराटनगरले भने आपत्ति जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।