कसले लिने मृत्युको जिम्मेवारी ?
अस्पतालको लापरबाहीले बिते आदर्शका पिता

कमेडियन आदर्श मिश्रका बुवा विनोद मिश्रको मंगलबार बिहान निधन भयो। विगत ४ वर्षदेखि मिर्गौला रोगसँग लडिरहेका विनोदको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ।

विगत ४ वर्षदेखि नारायणी अस्पतालमा डायलासिस गराउँदै आएका आदर्शले सोमबार राति मात्रै राम्रो उपचारका लागि आफ्ना बुवालाई चितवनको भरतपुर अस्पताल ल्याएका थिए। अस्पतालमा पालो कुर्दाकुर्दै विनोदको निधन भयो।

आदर्शले नारायणी अस्पतालले बुवाको उपचारमा पटकपटक लापरवाही गरेको बताउँदै आएका थिए। हप्ताको २ पटक ४/४ घण्टा डायलासिस गराउन पनि उनले निकै सास्ती व्यहोरेको जनाएका थिए। सोमबार पनि अस्पतालले ४ घण्टा गराउनु पर्ने डायलासिस ३ घण्टा मात्रै गराएपछि उनी बुवाको राम्रो उपचारका लागि राति नै एम्बुलेन्समा भरतपुर आएका थिए।

४ वर्षअघि मिर्गौला रोगले थलिएका बुवालाई लिएर २ वर्षअघि आदर्श मिर्गौला प्रत्यारोपणबारे बुझ्न काठमाडौं आएका थिए। त्यतिबेला उनकी आमाकी दिदी विनोदलाई मिर्गौला दिन तयार भएकी थिइन्। आदर्शकी आमाकी दिदी भारतीय नागरिक भएकै कारण महाराजगन्जस्थित टिचिङ अस्पतालले मिर्गौला ‘ट्रान्सप्लान्ट’ गर्न नमिल्ने भनेर फिर्ता पठायो।

तर, नेपालको कानुन अनुसार नजिकको नातेदार विदेशी नागरिकले अङ्गदान गर्न सक्ने उल्लेख गरेको छ। मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २५५ (संशोधन २०७५) को दफा २ (७) मा अङ्गदान गर्नसक्ने नातेदारको सूची छ। त्यसै गरी मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका २०७५ को दफा ७(५) ले विदेशी नागरिकको लागि नाता प्रमाणित गर्ने निकाय तोकेको छ।



यसरी विदेशी नागरिकको हकमा सम्बन्धित विदेशी नियोगबाट नाता प्रमाणित गरेको हुनुपर्नेछ। जस अनुसार आदर्शकी आमाकी दिदी विदेशी नागरिक भए पनि उनले आदर्शका बुवालाई अङ्ग प्रत्यारोपण गर्न पाउने प्रावधान छ।

आदर्शले मंगलबार बिहान अस्पतालबाट कानुनमा विदेशी नागरिकले अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था हुँदा हुँदै पनि आफ्नो बुबाको ट्रान्सप्लान्ट हुन नदिने नेपाल सरकार विरुद्ध मुद्दा लड्न चाहेको उल्लेख गरेका थिए। उनले केही समय अघि आफ्नी आमा भारतीय भएकै कारण बुवाको किड्नी ट्रान्सप्लान्ट हुन नसकेको भन्दै दुखेसो पोखेका थिए।



आदर्शका बुवाको निधनको खबरसँगै धेरैले उनको मृत्युको जिम्मेवारी नेपाल सरकारका साथै सम्पूर्ण मेडिकल माफियाले लिनु पर्ने बताएका छन्। सधैँ ४ घण्टा गर्दै आएको डायलासिस सोमबार पनि ४ घण्टा नै गराएको भए विनोदको मृत्य नहुने उनका आफन्तले बताउँदै आएका छन्। मिर्गौला रोग विशेषज्ञले पनि नियमित ४ घण्टा भइरहेको डायलासिस समय एक्कासि कटौती गर्दा अन्य प्राणघातक स्वास्थ्य समस्या देखिने बताएका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मिर्गौला पीडितको उपचारका क्रममा सातामा ३ पटक ४/४ घण्टाका दरले डायलासिस गर्नु पर्ने उल्लेख गरिएको छ। तर नेपालमा भने अधिकांश मिर्गौला बिरामीले साताको २ पटक मात्रै डायलासिस सेवा पाउने गरेका छन्। आदर्शका बुवाको पनि गत वर्ष भएको लकडाउनसँगै अस्पतालले ४ घण्टाको डायलासिस समय घटाएर साढे २ देखि ३ घण्टामा झारेको थियो।

त्यसपछि आदर्शले सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका थिए। उनले बारम्बार सरकार तथा सरोकारवालाहरुसँग जवाफ माग्दै आएका थिए। तर उनका प्रश्न सामाजिक सञ्जालमै सीमित भए। केही मिडियाले उनका आवाजलाई समाचार बनाए पनि विनोद मिश्रले न्याय पाउन सकेनन्। 

  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १३:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया