साढे दुई करोड जनसङ्ख्या इन्टरनेटको पहुँचमा : नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले साढे दुई करोड जनसङ्ख्या इन्टरनेटको पुहुँचमा पुगेको दाबी गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा २ करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कुल २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

नेपालमा कुल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११-२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसङ्ख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । १ करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा १ करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोगकर्ता थपिएका छन् ।

त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका छन् ।

आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छन् । गत माघको तुलनामा फागुनमा ५ लाख ३० हजार ८०६ जना बढेका छन् । गत माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।



प्राधिकरणको तथ्याङ्कअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेका छन् । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडिएसएलका ८ लाख १२ हजार र एफटिटिएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।



  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १४:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया