बल्ल सहज भयो काठमाडौंका अस्पतालमा अक्सिजन आपूर्ति

मित्रराष्ट्र चीनबाट ३० हजार लिटर लिक्विड अक्सिजन आयात भएसँगै काठमाडौंका अस्पतालमा अक्सिजनको आपूर्ति सहज भएको छ । चीनबाट आयात भएसँगै नेपालका अक्सिजन उद्योगमा अक्सिजन उत्पादनमा वृद्धि हुन थालेपछि अक्सिजन आपूर्ति सहज भएको हो । अक्सिजन आपूर्ति सहज भएसँगै अब अस्पतालमा सामान्य आइसोलेसनमा बिरामी थप्न सक्ने अवस्था सिर्जना भएको चिकित्सकहरु बताउँछन् । 

दुई हप्ताअघिसम्म काठमाडौंका अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको थियो । अक्सिजन अभावका कारण अस्पतालमा उपचाररत बिरामीको उपचारमा समस्या परेको थियोे । तर, यस साता भने चीनबाट अनुदानस्वरुप ३० हजार लिटर लिक्विड अक्सिजन प्राप्त भएको र नेपालमा भएका अक्सिजन प्लान्ट पनि सुचारु हुन थालेपछि अक्सिजनको अभाव टर्दै गएको हो । 

कति छन् काठमाडौंंमा अक्सिजन उद्योग ?

हाल काठमाडौं उपत्यकामा आठवटा अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् । काठमाडौंमा रहेका यी निजी तथा सरकारी अस्पतालबाट गत एक महिनाबाट नियमित चौबिसै घण्टा अक्सिजन आपूर्ति भइरहेका छन् । उत्पादनअनुसार वितरण पनि भइरहेको नेपाल अक्सिजन उत्पादन संघका अध्यक्ष गौरव शारडाले जानकारी दिएका छन् । 

कोरोनाको दोस्रो लहर आउनुपूर्व नेपालका अक्सिजन उद्योगले ५० प्रतिशत पनि अक्सिजन उत्पादन गरेका थिएनन् । अध्यक्ष शारडा भन्छन्, ‘क्षमता भए पनि बजारमा अक्सिजन खपत नहुने कारणले अक्सिजन उत्पादन भएको थिएन । अहिले अक्सिजन सक्ने जति अक्सिजन उत्पादन गरेर उत्पादनको ७५ प्रतिशत अक्सिजन अस्पतालहरुमा उपलब्ध गराएका छौँ ।’ 

उनका अनुसार काठमाडौंमा सञ्चालनमा आएका आठ अक्सिजन उद्योगले चौबिसै घण्टा उद्योग सञ्चालनमा ल्याएका छन् । जति सक्दो धेरै अक्सिजन उत्पादन गरेर कोरोनाको उपचारमा संलग्न अस्पतालहरुलाई सहज उपलब्ध गराइरहेको उनले बताए । 



मेडिसिटी अब सामान्य बेड थप्न सक्षम 

कोरोना संंक्रमित उपचारमा खटिएको ललितपुरको मेडिसिटी अस्पतालमा अहिले अक्सिजन आपूर्ति सहज भएको छ । गत हप्ताभन्दा अक्सिजनको आपूर्ति सहज भएपछि उपचारमा सहज भएको अस्पतालका जनरल म्यानेजर विजय रिमालले जानकारी दिए ।  



उनी भन्छन्, ‘अहिले अक्सिजन आपूर्ति पहिलेको तुलनामा सहज भएको छ । आइसियू तथा भेन्टिलेटरका बिरामी तथा अन्य सिकिस्त बिरामीलाई पनि अक्सिजनको सहज आपूर्ति भएको छ । अब २० देखि २५ वटा जति सामान्य आइसोलेसन बेड भने थप्न सक्ने अवस्था छ ।’

उनका अनुसार मेडिसिटी अस्पतालमा चीनबाट आएको लिक्विड अक्सिजन  भने उपलब्ध भएको छैन । अहिले मेडीसिटी अस्पतालमा ८२ वटा आइसियू,४० वटा भेन्टिलेटर र ३० वटा सामान्य बेडमा बिरामी छन् । कोरोना र अन्य रोगका बिरामीलाई पनि अहिले अक्सिजनको कमी नरहेको उनले बताए । 

स्टारमा पनि अक्सिजनको आपूर्ति सहज

स्टार अस्पतालमा पनि अक्सिजनको सहज आपूर्ति भइरहेको अस्पतालका डाक्टर अनिल पोखरेलले जानकारी दिएका छन् । अहिले कुनै पनि बिरामीलाई अक्सिजनको समस्या नपरेको उनले जानकारी दिए । उनी भन्छन्, ‘अहिले अक्सिजनमा समस्या छैन, बिरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराइरहेका छौँ ।’

बलम्बु अस्पतालमा सामान्य आइसोलेसन बेड खाली हुन थाले 

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा यस हप्ताबाट अक्सिजन आपूर्ति सहज भएको छ । अस्पतालका डाक्टर प्रविन नेपालका अनुसार अहिले अस्पतालमा सामान्य बिरामीको संख्या घटे पनि आइसियू र भेन्टिलेटर भने प्याक नै छन् । उनी भन्छन्, ‘अहिले अक्सिजनको अभाव छैन । बिरामीलाई उपचार गर्न सहज भएको छ ।’

उनका अनुसार बलम्बु अस्पतालमा आइसियू तथा भेन्टिलेटरमा बिरामीको संख्या भरिभराउ रहे पनि सामान्य अक्सिजन चाहिने तथा आइसोलेसन बेड भने ७ देखि १० वटासम्म दैनिक खाली भइरहेका छन् । 

पाटन अस्पतालमा अक्सिजन सहज

पाटन अस्पतालमा तीन दिनयता अक्सिजनको अभाव कम भएको छ । पछिल्लो हप्ता अक्सिजनको अभावका कारण बिरामीको उपचार गर्न गाह्रो भएको थियो । अस्पतालका डाक्टर रवि शाक्यका अनुसार चीन सरकारबाट अनुदानमा आएको लिक्विड अक्सिजन पनि केही सिलिन्डर आउन थालेपछि अहिले अक्सिजनको आपूर्ति सहज भएको उनले बताए । 

उनी भन्छन्, ‘हामीले १०० वटा जति कन्सन्टेटरको जोहो गर्यौ । सरकारबाट अनुदानस्वरुप आएको अक्सिजन पनि पायौँ, जसकारण अहिले वातावरण केही सहज छ।’
 
केही अस्पतालमा नेपालमा सञ्चालनमा रहेका अक्सिजन प्लान्टबाट र केहीमा अनुदानबाट आएको अक्सिजनको आपूर्तिसँगै अक्सिजनको गर्जो टर्न थालेको हो । 
 

  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १८:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया