काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा थप कडाइ हुनेछ । किराना पसल तथा डिपार्टमेन्ट स्टोर समेत बन्द हुने भएपछि आज बजारमा किनमेल गर्नेको भीड लागेको छ ।
काठमाडौंका कालिमाटी, इन्द्रचोक, असन, बसन्तपुर लगायतका क्षेत्रमा किनमेल गर्नेको भीड लागेको हो । भोलिदेखि बन्द हुने भएपछि मानिसहरू सामान किन्न तँछाडमछाड गरेको देखिन्छ ।
उपभोक्ताहरूले एक हप्तालाई पुग्ने गरी खाद्यान्न, तरकारी लगायतका सामान किन्न थालेका हुन् । भोलिदेखि बन्द हुने भएपछि आज नै एक हप्ताको लागि सामान किनेर राखेको बसन्तपुर गणेशथानमा बस्दै आएका हरी तामाङले बताए ।
‘अहिलेसम्म २/२ दिन बिराएर सामान किन्ने गरेको थिएँ । निषेधाज्ञा थप कडा गरेपछि एक हप्ताको लागि सामान किन्नु पर्यो ।’ हरिले भने ।
मरुगणेश घर भएकी सुभद्रा मानन्धरले पनि आजै झण्डै १५ हजार बराबरको खाद्यान्न, तरकारी तथा फलफूल किनिन् । ‘घरमा धेरै मान्छे छन् । दिनभर घरमै बस्दा अहिले खाने काम मात्र त भइरहेको छ । एक हप्ताको लागि भनेर सामान किनेकी हुँ ।’ सुभद्राले भनिन् ।
हिजो अस्तिको तुलनामा आज बजारमा निकै बढी भीड देखिएको छ । व्यापारीहरूलाई समेत आज बिहान सामान बेच्न भ्याइनभ्याइ थियो । भोलिदेखि बन्द हुने भनेपछि बिहान ग्राहकको भीड निकै बढेको वसन्तपुरका एक व्यापारी नारायण पराजुली बताउँछन् ।
छैन कुनै स्वास्थ्य सुरक्षा मापदण्ड
भोलिदेखि बन्द थप कडा हुने भएपछि एकाबिहानै ग्राहकहरू सामान किन्न निस्किए । जसले गर्दा कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिएन ।
ग्राहकहरूले मास्क लगाउनु बाहेक भौतिक दूरी कायम गर्ने मापदण्ड त नियममा मात्र सीमित बन्न पुग्यो । सुरक्षाकर्मी आएर माइकिङ गर्दै भीडभाड नगर्न आग्रह गरेपनि कसैले टेरेनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।