सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पद खाली भएका गैरसांसद मन्त्रीहरुले सरकारी निवास नछाडेको भन्दै आलोचना भइरहेका बेला आफ्नो बचाउ गरेका छन्।
केपी ओली नेतृत्वको सरकारबाट बिदा भएका ती सातजना मन्त्रीहरुले सरकारी निवास नछाडेको भन्दै समाचार आएपछि आफ्नो बचाउ गरेका हुन्।
गृहमन्त्री रामबहादुर थापा, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी एवम् युवा तथा खेलकुद मन्त्री दावा तामाङले मन्त्री क्वार्टर नछोडेको समाचार आएपछि उनीहरुले भ्रम फैलाउन खोजेको गुनासो गरेका हुन्।
सरकारी निवास नछाडेको भनेर आएका समाचारमा आपत्ति जनाउँदै निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जिसीले वक्तव्य नै निकालेका छन्। उक्त समाचारले आफूहरुको मानहानी भएको भन्दै उनीहरुले सच्चिन आग्रह गरेका छन्
गैरसांसद व्यक्तिहरु लामो समय मन्त्री बन्न पाउने नपाउने विषयमा सर्वोच्चबाट 'मन्त्रीको रुपमा काम नगर्नु नगराउनु' भनी जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई बर्खास्त भनेर गलत नियतका साथ समाचार लेखिएको उनीहरुले जनाएका छन्।
'बर्खास्त गरिएका मन्त्रीहरुले मन्त्री क्वार्टर छाडेनन् भन्ने शीर्षकमा आएका भ्रामक समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एकपटक मन्त्री बनेका व्यक्ति ६ महिना नपुग्दै पुन: मन्त्री बन्न पाउने कि नपाउने विषयमा सम्मानित सर्वोच्च अदालतको विचाराधीन मुद्दामा तत्काल 'मन्त्रीको रुपमा काम नगर्नु नगराउनु' भनी आएको अल्पकालीन अन्तरिम आदेशलाई नै अन्तिम फैसलाको रूपमा बुझेर मन्त्रीबाट बर्खास्त गरिएको भनी मनगढन्ते रुपमा नेतालाई बदनाम गराउने उद्देश्यले सम्प्रेषित समाचार गलत रहेको व्यहोरा अनुरोध छ,' जिसीले भनेका छन्।
त्यस्तै निवर्तमान शहरी विकास मन्त्री स्वकीय सचिव बालकृष्ण सापकोटाले पनि समाचारमा भनिए जस्तो विषय नरहेको प्रष्ट पारेका छन् । सत्यतथ्य नबुझी चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण सही नहुने बताउँदै उनले भ्रममा नपर्न आग्रह गरेका छन्।
'सत्यतथ्य नबुझी चरित्र हत्या गर्ने उद्देश्यले गलत मनसायका साथ समाचार सम्प्रेषण गरिएका छन्, जसलाई किमार्थ सही मान्न मिल्दैन,' सापकोटाले भनेका छन्, 'त्यसैले यस्ता भ्रामक समाचारमाथि विश्वास नगर्न अनुरोध छ। देशलाई गुमराह गर्ने समाचार सम्प्रेषण नगरी समयमै सच्चिन आग्रह गर्दछौं।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।