कोरोनालाई जित्दै संक्रमित

बिहीबार साँझसम्म दाङमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । २३३ जना संक्रमण मुक्त भएका छन् । बिहीबार ३८ जना मात्रै नयाँ संक्रमित फेला परेका छन् । यो तथ्याङ्क जिल्ला विपत व्यवस्थापन समिति दाङको हो । 

सामान्य उपचारार्थ १३१ र होम आइसोलेसनमा ९९३ जना रहेको समितिले जनाएको छ । समितिले दिएको जानकारीअनुसार तथ्याङ्क हेर्दा संक्रमण बिस्तारै ओरालो लाग्दै गएको छ । सावधानी, सतर्कता र उपचार व्यवस्थित बन्दै गइरहेको छ । जसका कारण संक्रमण दर घट्दै गइरहेको देखिन्छ । 

संक्रमण तीव्र रुपमा फैलँदा अस्पतालमा बेड, अक्सिजन, चिकित्सकको हाहाकार थियो । अहिले संक्रमण दर घट्दै जादाँ अस्पतालमा बिरामीको उपचार, बेड, अक्सिजन र जनशक्तिको व्यवस्थापन समेत सहज बन्दै गइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीले बताए । 

कोरोना विशेष अस्पतालमा अहिले ५२ जना उपचारार्थ अवस्थामा छन् भने १ जनालाई भेन्टिलेटरमा राखिएको छ । वलीले भने, ‘संक्रमण दर भयावह हुँदा अस्पतालमा भर्ना गर्न सक्ने अवस्था थिएन । अहिले सहज भएको छ ।’ जसका कारण बिरामी फर्काउनुपर्ने बाध्यता अहिले नरहेको उनले सुनाए । पालिका–पालिकामा आइसोलेसन र अस्पताल सञ्चालन हुँदा संक्रमितको उपचार सहज बन्दै गएकाले संक्रमण दर रोकिएको उनको भनाइ छ ।
 
बितेको २४ घण्टामा लुम्बिनी प्रदेशमा १ हजार १८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १११ जना संक्रमणमुक्त भएका छन् । संक्रमित थपिने दरभन्दा निको हुने दर पछिल्लो समयमा बढ्दै गइरहेको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बताए । 

तथ्याङ्कले पनि संक्रमणको बढ्दो दर र मृत्युदरलाई घटाउँदै लगेको देखाएको छ । निको हुनेको संख्या वृद्धि हुँदै जाँदा लुम्बिनी प्रदेश खतरामुक्त बन्दै गइरहेको समेत उनले बताए । 

यस्तो छ लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अवस्था 



संक्रमण घट्दै जाँदा योजना बनाउँदै सरकार 
कोरोना संक्रमणको भयावह स्थितिमा स्थानीय सरकारले खासै योजना बनाउन सकेन । जसका कारण संक्रमितको उपचार असहज बन्यो । तर, संक्रमणको दर ओरालो लाग्दै गर्दा स्थानीय सरकारले ठूलो योजनाको काम अघि सारेका छन् । जसको एक उदाहरण हो, तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको अक्सिजन प्लान्ट । 



अक्सिजन अभावमा धेरैको ज्यान गएको तथ्याङ्कले देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाले असारसम्ममा कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जोड्ने तयारी गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने, ‘असारसम्ममा अक्सिजन प्लान्ट हामीले जोड्ने तयारी गरेका छौँ ।’ 

प्रयोगविहीन स्थानीय तहका आइसोलेसन
दाङका दश स्थानीय तहले २०-२० बेड आइसोलेसन सेन्टर (अस्थायी कोभिड अस्पताल) सञ्चालनमा ल्याएका छन् । तर, स्थानीय तहका अस्थायी आइसोलेसन प्रयोगविहीन छन् । संक्रमित होम आइसोलेसनमा घरमै बसिरहेका छन् । जहाँ स्थानीय तहले चिकित्सकहरु पठाउन सकेका छैनन् । 

कोभिड अस्थायी अस्पतालको रुपमा तयार गरिएका संरचनाका विषयमा दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘विपत्तिका लागि तयारीमा राखेको जस्तै भएका छन् स्थानीय तहका अस्पतालमा । दुई चारजनाको उपचारमा अस्थायी अस्पताल सीमित छन् ।’ 

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ९:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया