वैदेशिक ऋण १६ खर्ब पुग्यो, अर्थतन्त्र भने सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

नेपालमा विदेशी दाताले दिएको ऋण बढेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/७८ को फागुन मसान्तसम्म विदेशी ऋण करिब १६ खर्ब पुगेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको विवरणअनुसार विदेशी ऋण १५ अर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । यो ऋण नेपालको कुल गार्हस्थ उत्पादन जिडिपीको ३७ दशमलव ३ प्रतिशत बराबर रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

यस्तै, गत आर्थिक वर्षभन्दा सरकारी खर्चमा संकुचन आएको छ । अर्थ मन्त्री पौडेलका अनुसार गत वर्षभन्दा चालु आवमा सरकारी खर्चमा ६ दशमलव ५ प्रतिशतले संकुचन भई ५ खर्ब ७१ अर्ब ७७ करोड रहेको छ ।

यस्तै, संघीय सरकारको बजेट घाटामा भने सुधार आएको छ । गत आवको तुलनामा यस आवमा ६५ दशमलव ५ प्रतिशतले सुधार हुँदै २९ अर्ब १६ करोड कायम रहेको अर्थमन्त्री पौडेलले जानकारी गराएका हुन् ।

यस्तै मन्त्री पौडेलले गत आर्थिक वर्षको तुलनामा यस आवको फागुन मसान्तसम्म सरकारी राजस्व पनि बढेको बताए । चालु आवमा ४.६ प्रतिशतले वृद्धि भई संघीय सरकारको राजस्व ५ खर्ब १ अर्ब ९७ करोड राजस्व संकलन भएको छ ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले चालु आवमा ७ अर्ब ४८ करोड अनुदान र ८४ अर्ब २ करोड ऋण गरी जम्मा ९१ अर्ब ५० करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको जानकारी दिए । जसमध्ये ६० अर्ब ९ करोड रुपैयाँ फागुन मसान्तसम्म उपयोगमा आएको छ ।



ठूला पूर्वाधार परियोजनामा ३८ अर्ब ६७ करोड ९१ लाख, १३३ उद्योगमा २५ अर्ब ५१ करोड गरी कुल ६४ अर्ब १९ करोड बराबरको विदेशी लगानी स्वीकृत गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए ।

साथै कोरोनाबाट प्रभावितलाई उत्थानका लागि सरकारले समावेश गरेको सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा कार्यक्रम विस्तार भएको मन्त्रालयले जनाएको छ । चालु आवको फागुन मसान्तसम्म पुनर्कर्जा कार्यक्रममा ४८ हजार ८३१ ऋणीको कुल १ खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत गरिएको छ ।



अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि ४२ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ ।

अर्थतन्त्र सकारात्मक

कोरोनाका कारण सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हाँसिल नहुने निश्चित भएको छ । सरकारले सुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनी लक्ष्य राखे पनि पछि त्यसलाई संशोधन गरी ४.०१ प्रतिशतको लक्ष्य राखिएको थियो । यद्यपि आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उक्त लक्ष्य समेत भेट्न गाह्रो हुने बताए । 

यद्यपि कोभिड १९ को महामारीबीच पनि सरकारले अर्थतन्त्र सकारात्मक नै रहेको बताएको छ । अर्थमन्त्री पौडेलले महामारीको केही असर भए पनि समग्र अर्थतन्त्र सकारात्मक नै भएको बताएका हुन् । 

‘हामीले गत वर्षको कोरोनापछि भी आकारमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेका थियौँ’, उनले भने, ‘वैशाखबाट दोस्रो लहर फैलिएपछि त्यसमा केही असर गर्ने देखिन्छ ।’

अर्थसचिव शिशिर ढुंगानाले पनि अर्थतन्त्र संकुचन हुने अवस्था नरहेको बताएका छन् । ‘बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हुने अवस्था रहेन तर पनि सकारात्मक नै हुनेछ’, ढुंगानाले भने, ‘वैदेशिक व्यापार, रेमिट्यान्स लगायतको क्षेत्र राम्रो नै रहेको छ ।’

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १५:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया