आइसियुमै नर्सको घाँटी समाते, शौचालयमा लुक्दा पनि छाडेनन् अनि हामफालेर ज्यान बचाए
स्वास्थ्यकर्मी भन्छन् : न्याय नपाए सामूहिक राजीनामा दिन्छौंँ

कोरोनाको दोस्रो लहरबाट सबैभन्दा प्रभावित नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बिहीबार साँझ स्वास्थ्यकर्मीले कुटिनु पर्‍यो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्त आक्रमणमा उत्रिएपछि ज्यान जोगाउन झ्यालबाट हामफालेर हिँड्नुपरेको अस्पतालका नर्सहरुले बताएका छन्। 

कुटपिटको घटनापछि अस्पतालमा डाक्टर र नर्ससहितका स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन्। चिकित्सकीय पोसाकमै उनीहरुले अस्पताल परिसरमा आन्दोलन गरेका छन्। कोरोनाको यति ठूलो महामारीविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि  एमालेकै एक नेतासहितको संलग्नतामा भएको कुटपिटको घटनाको देशभर विरोध भइरहेको छ।

राजीनामा

आफ्ना सहकर्मी कुटिएपछि भेरी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन एवम् कोरोना फोकल पर्सन डाक्टर संकेत रिसालले दोषीमाथि कारबाही भएर पीडितले न्याय नपाएमा सम्पूर्ण स्वास्थ्यकर्मीले राजीनामा दिने बताएका छन्। 

‘यस्तो महामारीका बेला काम गरिरहेका छौंँ । पन्ध्र दिनयता यो तेस्रो घटना हो', उनी भन्छन्, 'लगातार भइरहेको कुटपिटको घटना अब अति भयो भनेर आन्दोलनमा उत्रिएका हौँ ।’

रिसालका अनुसार ५/६ जनाको समूह अस्पतालको आइसियु जस्तो संवेदनशील ठाउँमै पसेका थिए। त्यहाँ पसेर उनीहरुले ड्युटीमा रहेकी नर्सको घाँटी समातेर आक्रमण गरेका थिए । 



उक्त समूह आक्रमणमा उत्रिएपछि आइसियुमा खटिएका ३ जना नर्स र एक जना डाक्टरले अस्पतालको दोस्रो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । ड्युटीमा डाक्टर दीपक गुप्ता तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठ खटिएका थिए । 

‘एक्कासी यस्तो घटना भएपछि नर्सहरू डराएर शौचालय लुकेका थिए', उनले भने, 'उनीहरुले शौचालयको ढोका समेत फुटाएर पिट्न आए। त्यसपछि साथीहरु दुई तला माथिबाट हामफालेर ज्यान जोगाउन बाध्य भए।’ 



कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको एक दिन बित्न लाग्दा पनि सम्बन्धित पक्षबाट ठोस कदम नचालिनु निन्दनीय भएको उनले बताए। ‘कोरोनाको यो संकटको घडी बुझेर हामीले चटक्कै काम छोडेका छैनौँ', उनले भने, 'तर सुनुवाइ भएन भने हामी सबैले सामूहिक राजीनामा दिन्छौँ।’

बिरामीको ज्यान गएको कुरामा आफूहरु संवेदनशील रहेको उनले बताए। ‘बिरामीको ज्यान गएको छ। त्यसप्रति हामी पूर्ण संवेदनशील छौँ', उनले थपे, 'तर हामीमाथि भएको घटनाको छानबिन गरेर न्याय पाउनु पर्छ, यो हाम्रो मुख्य माग हो।’

मध्यपश्चिम क्षेत्रका २५ वटा जिल्लाको केन्द्रीय अस्पतालका रूपमा अहिले भेरी अस्पतालमा कोरोनाका बिरामीको उपचार भइरहेको छ। यो अस्पतालले एकै पटक ३ सय १९ जनासम्म कोरोना संक्रमितलाई राखेर उपचार गरेको छ।

लखेटी लखेटी कुटियो

दाङका एकजना ५४ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीलाई लखेटी लखेटी कुटेका हुन्। अहिले पनि भेरी अञ्चल अस्पतालमा १७५ जना कोरोनाका बिरामीको उपचार भइरहेको छ। बिरामी अस्पताल भित्र छन् भने अधिकांश स्वास्थ्यकर्मी अस्पताल प्राङ्गणमा बसेका छन्। 

बिहीबार साँझ भएको उक्त घटनाका कारण अस्पतालको स्थिति अझै तनावग्रस्त छ। बिरामीलाई स्वास्थकर्मीले नहेर्दा आउने संकटबारे आफूहरु सचेत रहेको उनले बताए। 

‘हामीले आलोपालो गरेर बिरामी हेरिरहेका छौंँ। कुनैपनि बिरामीको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने हाम्रो चाहना हो', रिसालले थपे, 'छिटोभन्दा छिटो दोषीलाई कारबाही हुनुपर्छ।'
 
अहिले अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । अहिले केही स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन्। अन्य केही छलफलमा रहेको डाक्टर रिसालले जानकारी दिएका छन् ।

अहिले प्रहरी, अस्पताल प्रशासन, मेडिकल एसोसिएसनबीच वार्ता चलिरहेको छ। यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको बताएको छ।

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १५:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया