कोरोना खोपमा यसरी हुँदैछ पहल, चीन र अमेरिकाबाट एक करोड डोज ल्याउने योजना
आगामी दस दिनभित्र खोपमा ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरिदका विषयमा हप्ता १० दिनमा ब्रेक थ्रू हुने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले खोप खरिदका लागि विभिन्न देशसँग गहन छलफल भइरहेको बताएका छन्। उनले यसको नतिजा केही दिनमा आउने दाबी गरेका छन्। 

मन्त्री ज्ञवालीले अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशसँग अस्ट्राजेनिका खोप विषयमा पहल भइरहेको उल्लेख गरे।

अमेरिकाले ६ करोड डोज अस्ट्राजेनिका खोप स्टकमा राखेको छ। त्यो खोप उपलब्ध गराइदिन भन्दै मन्त्री ज्ञवालीले केही दिन अगाडि अमेरिकी विदेशमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए। 

संवादका क्रममा सकारात्मक प्रतिक्रिया आएको ज्ञवालीले बताए। ‘अमेरिकाले ६ करोड डोज अस्ट्राजेनिका खोप बुक गरेर राखेको छ। तर, उसका नागरिकलाई मोडर्ना, फाइजर लगायतका अन्य खोप लगाइरहेको छ', ज्ञवालीले भने, 'त्यसैले स्टक गरेको त्यो खोप हामीलाई दिन अनुरोध गरेका छौँ। यसमा सकारात्मक प्रतिक्रिया आएको छ।’

अमेरिकाको खोप वितरण प्रक्रिया निकै लामो भएकाले केही समयभित्रमा खोप उपलब्ध गराउने बारे निर्णय आउन सक्ने उनले दाबी गरेका छन्। 

उच्चस्तरीय पहल



मन्त्री ज्ञवालीले खोपका लागि नेपालले उच्चस्तरीय पहल गरिरहेको जानकारी दिएका छन्। केही दिन अगाडि मात्रै भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई ​राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र पठाएर १७ लाख डोज खोप उपलब्धका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन्। 

खोप उत्पादक देशहरूसँग पनि  नेपालले कूटनीति पहल गरिरहेको उनले बताएका छन्। अस्ट्राजेनिका खोप उत्पादन गर्ने बेलायत, नेदरल्याण्ड, कोरिया, अस्ट्रेलिया लगायतसँग पनि कूटनीतिक पहल भइरहेको मन्त्री ज्ञवालीले उल्लेख गरे।



‘हामीले जुन देशमा अस्ट्राजेनिका खोप उत्पादन हुन्छ, ती देशहरूसँग पनि कुराकानी गरिरहेका छौँ, उनले भने, '​अस्ट्राजेनिको खोप स्टक राखेर उनीहरूले अरू खोप प्रयोग गरिरहेका छन् भन्ने जानकारी पाएका छौँ। त्यो प्राप्तिका लागि पहल भइरहेको छ।'

चीन र अमेरिकासँग जोड

भारतले नेपालले किनिसकेको १० लाख डोज खोप यो वर्षको अन्त्यमा मात्रै दिने बताएको छ। पुणेस्थित सेरम इन्स्टिच्युटले कोभिशिल्ड खोप तत्काल दिन नसक्ने बताएपछि सरकार विकल्पमा गएको हो।

त्यही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग बुधबार कुरा गरेर १० लाख डोज सहुलियतमा मगाउन सफल भएकी छन्। तर भारतले खोप दिन नसक्ने अवस्था आएपछि नेपालले चीन, अमेरिका, रसिया र बेलायतलाई विकल्प बनाएको हो। 

नेपालले खोपका खरिद गर्न मुख्य ४ मुलुकसँग पहल गरिरहेको छ। त्यसका लागि चार देशलाई पत्राचार समेत गरिएको ज्ञवालीले बताए। चीनको सिनोफार्म, अमेरिकाको जोनसन एण्ड जोनसनसँग, रुसको स्पुतनिकसँग र भारतको सेरम इन्स्टिच्युटसँग पत्राचार गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए। 

तीमध्ये चीनको सिनोफार्म र अमेरिकाको जोनसन एण्ड जोनसनसँग खोप खरिदका लागि गहन छलफल भइरहेको मन्त्री ज्ञवालीले बताए। दुवै देशसँग पहिलो चरणमा ५०/५० लाख डोज खोप खरिदका लागि गृहकार्य भइरहको उनको भनाइ छ। 

ज्ञवालीका अनुसार पहिलो चरणमा ५०/५० लाख डोज खोप खरिद गरिनेछ। एकैचोटि धेरै ल्याउँदा भण्डार लगायत व्यवस्थापन गर्न कठिन हुने भएकाले खेप मिलाएर ल्याइने उनले बताएका छन्। 

सन् २०२१ भित्रै लक्षित समूह सबैलाई खोप लगाउने गरी पहल भइरहेको ज्ञवालीले बताएका छन्। यसका लागि अर्थ मन्त्रालयले ३६ अर्बभन्दा बढीको स्रोत पनि सुनिश्चित गरिसकेको उनले बताए।

यसैबीच चीनले दिन लागेको १० लाख डोज खोप लिन सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज जाने भएको छ। चीनले बेइजिङबाट ८ लाख डोज र तिब्बत सरकारले कुङमिङबाट २ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १८:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया