काठमाडौँ महानगरले सञ्चालन गर्यो ३०९ बेडको आइसोलेसन र कोभिड विशेष अस्पताल
उपत्यकाका ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर सहयोग, ४४ हजारको निशुल्क पिसिआर जाँच

काठमाडौँ महानगरपालिकाले ३०९ बेड क्षमताको आइसोलेसन तथा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । 

महानगरले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।

महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ सिलिन्डर अक्सिजन सहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएकाे महानगरले जनाएको छ । 

यस्तै, नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छेत्रपाटी निःशुल्क चिकित्सालयमा आइसियू र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइसकेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । 

महानगरले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराएको छ । कोरोना उपचारलाई सहज बनाउन उक्त सहयोग गरिएको जनाएको छ ।

कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा बिस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । 



महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)लाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट (काठमाडौं मोडल अस्पताल)लाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ । 

वीर अस्पताललाई ५० वटा मनिटर पनि उपलब्ध गराइएको महानगरले जनाएको छ । महानगरपालिका मार्फत गरेको उक्त सहयोगले राजधानी वासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यको छ । 



शाक्यले भने, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुनेछ ।’  

महानगर प्रमुख शाक्यले महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पिसिआर मेसिन, मनिटर र बेड उपलब्ध गराएको पनि जानकारी दिए । विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पिसिआर मेसिनलगायतका सामग्री भगिनी सम्बन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् । 

महानगरले बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं. १०२ मार्फत १० वटा र ननकाेभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार ननकाेभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।
 
४४ हजारको निशुल्क पिसिआर परीक्षण    
हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजारभन्दा बढीले निःशुल्क पिसिआर जाँचको सुविधा लिइसकेको महानगरले जनाएको छ । महानगरले अहिलेसम्म नगरक्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिसिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जनाएको छ ।

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार ९:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया