नेकपा एमालेका नेता वामदेव गौतमले झापा संघर्षका तीन जना नेता गणतन्त्रको विरोधी रहेको बताएका छन् । गणतन्त्र दिवसमा शुभकामना दिँदै नेता गौतमले तीन नेता गणतन्त्रको विरोधी रहेको बताएका हुन् ।
२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याउने युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको नेता गौतमको भनाइ छ ।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको गौतमले बताएका छन् ।
गौतमले लेखेका छन्, 'विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो ।'
गणतन्त्र विरोधी नेताका रुपमा गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा मालेका सिपी मैनाली लगायतलाई संकेत गरेका छन् ।
एमालेको उक्त बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म आफैँ भएको गौतमले दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।