समाजवादको बाटो र आजको आवश्यकता

एकजना नेताले भन्दै हुनुहुन्थ्यो, “पार्टी कामको लागि माधवकुमार नेपाल र हामी उपत्यका बाहिर थियौँ । हाम्रो बास एउटै होटलमा भयो । बेलुकी पख म उहाँको कोठामा गएँ । सुरुमा उहाँ रिसाउनुभयो, तपाईहरुले मलाई यसो गर्ने, उसो गर्ने भन्दै । खासमा हामीले उहाँको भन्दा फरक विचार समूहलाई साथ दिइरहेका थियौँ । एकछिनपछि शान्त हुनुभयो अनि कुराकानी सुरु भयो । कुराकानीको क्रममा सोध्नु भयो “रक्सी खानु हुन्छ कि खानुहुन्न ? चुरोट ? आदि । मैले केहि नखाने जवाफ दिएपछि उहाँ खुसी हुनुभयो ।”

२०५० जेठ ०३ गते पोखराबाट चितवन जाने क्रममा नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय जिप दुर्घटनामा मृत्यु भयो । माधवकुमार नेपाललाई पार्टीका कार्यकर्ताले विश्वास गरी महासचिवको जिम्मेवारी दिए । उनी एक असल आचरण र निष्ठावान छवि बनाउन सफल नेता हुन् ।  त्यसैले उनलाई कार्यकर्ताले १४ वर्षसम्म पत्याएका थिए । १४ वर्षको अवधिमा पार्टी र कम्युनिष्ट आन्दोलनलाई थप उचाइ दिन नसके पनि जोगाएका पक्कै हुन् । आन्दोलनलाई ढल्न नदिएको पक्कै हो । सशस्त्र द्वन्द्वको कठिन समयमा संगठन भत्किन नदिनु पनि पनि चानचुने कुरो थिएन । 

शान्ति सम्झौताको लागि र ०६२÷०६३ को जनआन्दोलनमा उनले खेलेको भूमिका अतुलनीय छ । यस अन्तरालमा उनले पटक पटक पार्टी महासचिवमा निर्वाचित भए । केपी ओलीको पूर्ण समर्थन र सहयोगमा २०५४ साल माघमा सम्पन्न छैटौँ महाधिवेशनबाट पार्टी महासचिवमा निर्वाचित भए । त्यस्तै २०५९ माघमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट पुनः सर्वसम्मत महासचिव भए । राजनैतिक रुपमा फरक विचार लिएर केपी ओली माधवकुमार नेपालको प्रत्यासी थिए । आफ्नो विचार प्रस्तुत गरे पश्चात ओलीले अन्त्यमा नेपाललाई सर्वसम्मत बनाउन महासचिवको उम्मेदवारीबाट पछि हटे । २०६५ मा झलनाथ खनाल अध्यक्षमा निर्वाचित नहुन्जेलसम्म नेपाल नै पार्टी प्रमुख रहे ।

यति लामो समयसम्म पार्टी प्रमुखमा रहन कार्यकर्ता र नेताहरुको ठूलो समर्थन छ । त्यो समर्थन गर्ने मध्ये एक केपी ओली पनि हुन् । स्व. मदन भण्डारीले पनि राम्रो विश्वास गरेको नेता हुन नेपाल । धेरै सभा, सम्मेलनमा भण्डारी र नेपाल सँगैको वक्ता हुन्थे । नेपाल कुशल संगठक हुन् भनेर अहिले पनि धेरै कार्यकर्ताले दाबी गर्छन् । कार्यकर्ताको काम झर्को नमानी समाधान गर्ने उनको कुटिल स्वभावबाट म आफै प्रभावित छु । संगठन विधि र विधान अनुसार चल्नुपर्छ भनेर कट्टर अडान लिने नेतामा चिनिन्थे नेपाल । यसो भनि राख्दा उनको कार्यकालमा विपक्षी पार्टीहरुले अडान नरहेको नेता, 'एमाले–न पोथी, न भाले' भन्ने आरोप नलगाएका  होइनन् । 

२०६४ मा योङ कम्युनिस्ट लिग नेपालको पुनर्गठनपछि नेकपा एमालेलाई प्रत्यक्ष असर हुनेगरी अराजक, अराजनीतिक र हिंसात्मक गतिविधि गर्यो । प्रतिकारात्मक आन्दोलनका नेता कार्यकर्ताहरूलाई ओलीले खुलेर सहयोग गर्न थाले । ओली यस किसिमको भूमिकाबाट पार्टी भित्र र र युवा कार्यकर्ता माझ प्रिय नेता बन्न पुगे । युवा नेताहरु र सुरुबाट ओलीको विचारलाई समर्थन गरेका नेताको साथ ओलीले पाइराखे । नेकपा एमालेको २०७१ मा सम्पन्न नवौँ महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै नेतृत्वमा ओली निर्वाचित भए । ओली झन् चर्चित हुन पुगे । २०७२ असोज २५ गते ओली प्रथम पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भए । ९ महिनाको कार्यकालमा ओलीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको सशक्त प्रतिरोध गरे । साम्राज्यवादी भारतलाई घुँडा टेक्न बाध्य बनाए ।

चीनसँग पारवहन र यातायात सम्झौता गरेर एकपक्षीय परनिर्भरतामा रहेको नेपालको भूराजनीतिलाई सधैँको निम्ति तोडे । यी र यस्ता खालका दीर्घकालीन महत्वको कामले ओली मुलुकभरीका नागरिकबीच चर्चित बन्न पुगे । सबैको मन मस्तिष्कमा बस्न सफल भए । ओलीले एक असल नेताले खेल्नुपर्ने भूमिका खेले वा भनाैँ, आफ्नो कर्तव्य र राज्यप्रतिको जिम्मेवारी पूरा गरे । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरे । गठबन्धनले “ओलीको नेतृत्वमा स्थायी सरकार” नारालाई प्राथमिकता दिएर जनता माझ मत अपिल गर्यो । गठबन्धनले दुईतिहाइ नजिक जनमत प्राप्त गर्यो । ओलीको नेतृत्वमा सरकार गठन भयो । मन्त्रीहरु नेताहरुकै सहमतिको आधारमा नियुक्त गरियो । 



ओली र प्रचण्डले जनताको मतको सम्मान गर्दै नेकपा (एमाले) र माओवादी केन्द्र बीच पार्टी एकता गरे । पार्टीमा दुई अध्यक्ष तथा साठी र चालीस प्रतिशत प्रतिनिधित्व हुने गरी एकता गरिएको थियो । यो सम्पूर्ण निर्णयमा साविकको एमाले तर्फबाट माधवकुमार नेपालले केही भूमिका पाएनन् । अन्य निकायमा ओली र प्रचण्डले आफ्नै हिसाबले नियुक्त दिन थाले । जसबाट नेपाल र खनाल समूह असन्तुष्ट हुन पुग्यो । सरकारले एक हिसाबले सन्तोषजनक काम गरिरहेको थियो । सरकारका कतिपय विधेयकहरु विवादित बन्न पुग्यो । जस्तैः मिडिया विधेयक, गुठी विधेयक । यी विधेयकले सरकारको चर्को आलोचना हुन थाल्यो । सरकारले विधेयक फिर्ता लियो तर आलोचना रोकिएन । संचार माध्यमहरु खुलेर सरकारको आलोचना गर्न थाले । 

पहिलेदेखि असन्तुष्ट बनेका नेपाल समूहलाई पार्टी भित्र ओलीको आलोचना गर्न झन् सहज भयो । यता ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति बाहिरियो । जुन आम कार्यकर्ता र नेपाली जनताले रुचाउने कुरो थिएन । किनकि यो स्थायी नेतृत्व सहितको स्थायी सरकारको विपक्षमा अथवा निर्वाचनमा जनतामाझ लगिएको नारा विपरीत थियो । प्रचण्डले पार्टी अध्यक्ष भएर उल्लेख्य भूमिका खेल्न सकेनन् । केपी ओली चुनावी नाराविरुद्ध पनि उभिएनन् । अथवा  भनौँ गोप्य सहमति कार्यन्वयन गर्ने पक्षमा लागेनन् । प्रचण्डले एकल अध्यक्ष वा प्रधानमन्त्रीको माग गर्न थाले, यसमा पनि ओली तयार भएनन् । यही समयबाट पार्टी भित्र विवादको राँको बल्न थाल्यो । 



राजनीति पूरै जनताभन्दा स्वार्थ केन्द्रित हुन पुग्यो । प्रचण्डमा पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने स्वार्थ । माधवकुमार नेपाल र झलनाथ खनालले आफ्नो भूमिका र आफ्ना मान्छे नियुक्ति गर्ने स्वार्थ । वामदेव गौतमले पनि यो विवादको बीचमा खेलेर आफूले सुविधा लिने स्वार्थ । केपी ओलीबाट यो सबै पूरा नहुने भएपछि यो प्राप्त गर्नको निम्ति पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टीको प्रयोग गरे । पार्टी विधि र विधानको चर्चा गरे । हो पार्टी विधि र विधानमै चल्नुपर्छ र असल कार्यकर्ता र नेताले यसको वकालत सधैँ गर्नुपर्छ । तर, यहाँ पार्टीको निम्ति भन्दा स्वार्थ पूर्तिको लागि विधानको वकालत गरिएको थियो । देश र जनताको लागि कसैले सोचेको थिएन । चुरो कुरा यही थियो ।

यता ओली अल्पमतमा परेपछि पार्टी बैठक नबोलाउने, बैठकमा अन्य सदस्यको कुरा नसुन्ने र कतिपय बैठकमा उपस्थित नहुने खालको अनुचित काम गरे । ओलीले पार्टीले सरकारलाई प्रभावकारी काम गर्न नदिएको आरोप लगाउन थाले । ओलीको आरोप प्रचण्ड-माधवका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्य प्रस्तुतिबाट पुष्टि हुन्छ । प्रचण्ड-माधव निकट मन्त्रीहरुको गतिविधि कामभन्दा गफ गर्ने अनि प्रधानमन्त्रीलाई अपजस खुवाउने खालको थियो । यसको सबैभन्दा असल उदाहरणका लागि प्रचण्ड बुहारी बिना मगरलाई हेर्न सकिन्छ । वास्तवमा उनले भत्ता पचाउने बाहेक केही काम गरिनन् । 

यता ओलीले राम्रो कार्य सम्पादन गर्ने गोकर्ण बिस्ट र लालबाबु पण्डित जस्ता मन्त्रीलाई जिम्मेवारीबाट हटाएर भुल गरे । ओलीले पार्टीको विधि र विधान मान्न पर्दथ्यो । उनले सरकारमा जाँदा सारा जनता र मुलुकको अभिभावक भएर भूमिका  खेल्ने र पार्टीमा जाँदा पार्टीको एउटा विभागको जिम्मा सम्हालेको जसरी भूमिका खेल्न पर्दथ्यो । यो सबै घटनाक्रम नियालेर विश्लेषण गर्दा माधवकुमार नेपाल ठीक हुन कि झैँ लाग्थ्यो ।

पार्टी विवाद चरम रुपमा पुगेपछि ओलीले संविधानको धारा ७६ को उपधारा २, ३, ४, र ५ मिचेर संसद विघटन गरे । जुन अत्यन्त असंवैधानिक कदम थियो । अहिले सर्वोच्चले पुष्टि पनि गरिसकेको छ । केपी ओलीको उद्देश्य सही थियो होला, उनको राजनीतिक विश्लेषण पनि सही थियो होला, मुलुकको समय खर्च गर्न चाहेनन् होला । तर, उनले संविधान अनुसार नै कदम चालु पर्दथ्यो । यद्यपि केपी ओलीको विश्लेषण ठीक रहेछ भन्ने अहिले पुष्टि भइसकेको छ ।

तर, त्यतिबेला केपी ओली गलत बाटोमा थिए । यो सबै हेर्दा त्यस बखत केपी ओली गलत छन् भन्ने सबैलाई लागेको थियो, केही विश्लेषणात्मक क्षमता भएका बाहेकलाई । फरक यति हो, कसैले व्यक्त गरे, कसैले व्यक्त गरेनन् । कसैले राजनीतिक कारणले गर्दा ओलीको कदमलाई बचाउ गरे । ओली आफैले संसद भंग बाध्यात्मक कदम हो भनेका थिए । जे सुकै भएपनि ओलीले संविधान मिचेर संसद भंग गर्न हुँदैन थियो । 

जब सर्वोच्च अदालतले कमरेड ऋषि कट्टेललाई न्याय दिलायो र नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्कायो र पुनः एकता गर्न समय दियो, एकता गर्न कुनै नेता तयार भएनन् । बरु बिदाइ कार्यक्रम राखियो । विधि र पद्धतिको सवालमा असल छवि बनाएका नेता नेपालले स्वार्थको लागि पार्टी विधि र विधानको प्रयोग गरेका थिए, उनी पनि विधि र विधानको विपरीत उभिने नेता हुन् भन्ने पुष्टि गरी छाडे । उनले आफू निकट सांसदहरुलाई पार्टी ह्विप विपरीत ४ पटकसम्म उभ्याए । उनको साथमा भएका ४० भन्दा धेरै सांसद संख्या घटेर अहिले २७ मा पुगेको छ । 

कमरेड माधव नेपालले आफ्नो एजेण्डाहरुमा पार्टीभित्र बसेर बहस गर्न सक्नु पर्दथ्यो । नेपाली जनताले ५ वर्ष केपी ओली नेतृत्वको नेकपालाई सरकार चलाउने जिम्मा दिएका हुन् । सफल भएपनि उनले जस लिने हुन्, असफल भएपनि उनले नै । असफल भए, अबको निर्वाचनमा जनताले उनलाई ब्यालेटमार्फत दण्डित गर्नेछन् । नेकपा एमालेको नवौँ महाधिवेशनमा कार्यकर्ताले बहुमतसहित पार्टी चलाउने जिम्मा केपी ओलीलाई दिएका हुन् । माधवकुमार नेपाल पार्टी भित्रको प्रतिपक्ष हुन् । उनले पार्टीभित्रै प्रतिपक्षको भूमिकामा रहन पर्दथ्यो । 

कार्यकर्ता र जनता चेतनशील छन् । यसको मुल्यांकन गर्नेछन् । गलत गरेमा महाधिवेशनमा कार्यकर्ताले दण्डित गर्नेछन् । यो कुरा माधवकुमार नेपालले ख्याल नगरी स्वार्थ केन्द्रित राजनीति गरेको आभास भइरहेको छ । यो सबै बुझ्न नसकेका नेपाल, सुरुमा ओलीसँगै थिए । ओली र माधव अलग हुँदा माधव पक्षका केही नेता ओली तिर लागे । पछि स्वार्थको लागि माधव प्रचण्डसँग नजिक भए, फेरि उनी पक्षका केही नेता ओली तिर गए । अहिले कांग्रेसलाई सहयोग गर्दैछन्, यो घटनाले उनी पक्षका केही नेता ओलीतिर लाग्ने निश्चित छ । उनले आफूलाई सुधारेनन् भने उनको पतन निश्चित छ ।

अतः नेपाली राजनीतिमा दूधले नुहाएको कोही छैन । को कम खराब र को बढी खराब भन्ने मात्र हो । समकालीन नेताहरुमा अरुभन्दा केपी ओली धेरै ठीक भन्ने मात्र हो । उनले राष्ट्रियता र विकासको पक्षमा खेलेको भूमिकाले यही पुष्टि गर्छ । पछिल्लो पुस्तामा झन् राजनीतिक संस्कार र प्रशिक्षित कार्यकर्ता अत्यन्त कम छन् । मुलुक, राष्ट्र र वर्गीय जनताको निम्ति योगदान दिनभन्दा आफ्नो स्वार्थ पूर्ति गर्न राजनीतिमा होमिएका छन् । पार्टीको नीति र विचारप्रति बेखबर छन् । नेताको गुलामी गरी नेतालाई खुसी बनाएर आफ्नो दुनो सोझ्याउने कार्यमा तल्लिन छन् । नेतामा पनि असल कार्यकर्ताको साटो गुलामी कार्यकर्ताको संरक्षण गर्न रुचाउने प्रवृत्ति बढेको छ । असल कार्यकर्ता संगठनभित्र अल्पमतमा पर्ने गरेका छन् । आफू अघि बढ्न नेताको चाकडी गर्नुपर्ने बाध्यतामा छन् । असल कार्यकर्ता अन्यायमा छन् । जनता पनि यो सबैबाट वाक्कदिक्क भई निरंकुश राजतन्त्र पो ठीक हो कि भन्ने अवस्थामा पुगेका छन् । प्रतिगामीहरुले यसको फाइदा उठाउन खोजिरहेको अवस्था छ । साम्राज्यवादीले यसको फाइदा उठाइरहेका छन् । सामन्तीहरुको उत्साह बढेको छ । 

पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, केपी ओली, माधवकुमार नेपाल लगायत लाखौँ जनताले लडेर प्राप्त गरेको जनअधिकार गुम्ने चिन्ता छ । हजारौँ शहीदहरुको सपना चकनाचुर हुने चिन्ता छ । एमाले लगायतका अन्य पार्टीको संघर्ष अर्थहीन हुने खतरा छ । ६० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रमाथि खतरा छ । समाजवादमाथि खतराको घण्टी बज्नै लागेको छ । समाजवाद संविधानमा त लेखिएको छ, लेखेर मात्र समाजबाट आउने होइन दलाल पूँजीवाद विरुद्धको संघर्षबाट प्राप्त गर्ने हो । यसको लागि त्यही अनुरुप काम गर्नु पर्दछ । यो सबैको निम्ति संघर्ष पार्टी संगठनले गर्ने हो । नेता कार्यकर्ताले भूमिका खेल्ने हो । समाजवाद प्राप्तिको निम्ति लड्ने हतियार हो संगठन । 

सिकार गर्न जाँदै गर्दा हतियार बलियो, गतिलो र भरपर्दो हुनुपर्छ, नत्र सिकार गर्न सकिन्न । कमरेड मदन भण्डारीको पनि यही मान्यता थियो । समाजवादको बाटो तय गर्दै गर्दा सामन्तवाद र साम्राज्यवादको शोषण, उत्पीडनलाई अन्त्य नगरी सम्भव छैन । भण्डारीले नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको आठौँ नम्बरमा उल्लेख गरेका छन्, वामपन्थी एकता र पार्टी एकीकरणको निति । उनले व्याख्या गरेका छन्, “सैद्धान्तिक, राजनीतिक र विचारधारात्मक संघर्षको क्रममा समान मतमा रहेका समूह वा व्यक्तिलाई सम्मानपूर्वक ढंगले पार्टीमा एकताबद्ध बनाउनुपर्छ, एकीकरणलाई व्यापक र सुदृढ बनाउनु पर्छ । यसले संगठन तेज हुनेछ ।“ यसको थालनी भण्डारीले २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण गरी नेकपा (एमाले) बनाई सुरु गरेका थिए । तत्कालीन नेकपा (एकताकेन्द्र) सँग पनि वार्तालापको क्रममा थिए । 
 
वामपन्थी एकता र पार्टी एकीकरणको नीतिबिना पार्टी हिँड्यो भने संविधानमा उल्लेखित समाजवाद प्राप्ति गर्न कठिन हुन्छ । तर, एकीकरण गर्दा सांगठनिक हैसियत र प्रष्ट वैचारिक धरातल नमिली गर्न नहुने रहेछ भन्ने माओवादी केन्द्रसँगको एकताबाट पाठ लिइसक्यौँ । त्यसैले सांगठनिक हैसियत र प्रष्ट वैचारिक समानतामा रही व्यक्तिगत स्वार्थ भुलेर एकता र गठबन्धन गर्नुपर्छ । आम कार्यकर्तामा कम्युनिस्ट आचरण कायम गराउनुपर्छ । यसको लागि संगठन सुदृढीकरण आवश्यक छ । यसो गर्दा मात्र संगठन बलियो हुन्छ र समाजवाद प्राप्त गर्न सकिन्छ अर्थात हतियार बलियो, गतिलो र भरपर्दो हुन्छ । र, सिकार गर्न सकिन्छ । त्यसैले नेताहरुले आत्मालोचना सहित सुध्रने र  संगठन सुदृढीकरण आजको प्रमुख आवश्यकता हो । समय अझ बाँकी छ र यो गर्न सकिन्छ पनि ।

(लेखक मोदनाथ सिलवाल एमालेको युवा संगठन, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् ।)

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १३:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया