'कोरोना निको भइसकेपछि पनि फोक्सोमा असर देखिन सक्छ, पहिल्यै साबधान बनौँ'

कोरोना संक्रमित बिरामीमध्ये धेरैलाई अहिले श्वास–प्रश्वासको समस्या रहेको पाइएको छ । धेरै विशेषज्ञले पनि कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव फोक्सोमा रहने बताएका छन् । कोरोना भाइरसको पहिलो चरणको संक्रमणमा पनि दीर्घरोगका बिरामी बढी प्रभावित देखिए । 

दीर्घरोगका बिरामीमध्ये पनि फोक्सोका बिरामीलाई कोरोना भाइरसले बढी प्रभाव पार्छ । कोरोना भाइरसले फोक्सोमा कसरी असर गर्छ त ? वरिष्ठ छातीरोग विशेषज्ञ नीरज बमसँगको सहकर्मी नमिता दाहालले गरेको कुराकानी

कोरोना भाइरसले शरीरको कुन अंगमा असर बढी गर्छ ?

कोरोना भाइरस श्वास–प्रश्वासबाट सर्ने रोग हो । कोरोना भाइरसलाई आरएनए भाइरस पनि भनिन्छ । यो विशेषतः फोक्सोबाट नै सर्छ । एउटा रोगी व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा उसको थुक अथवा सिँगानका छिटाबाट स्वस्थ व्यक्तिले सास फेर्दा उसमा सर्ने गर्छ । नाक वा मुखको माध्यमबाट फोक्सोमा पुग्छ । यसले विशेषतः फोक्सोमा नै संक्रमण गर्छ । शरीरको अन्य अंगमा भन्दा यस भाइरसले फोक्सोमा संंक्रमण गर्छ । 

फोक्सोमा पुगेपछि कोरोना भाइरसले कस्तो प्रभाव पार्छ ?

फोक्सोमा पुगेको कोरोना भाइरसले विभिन्न क्रिया–प्रतिक्रिया उत्पन्न गर्छ । फोक्सोका विभिन्न तन्तुमा यसले असर गदर्छ । फोक्सोको अन्तिम विन्दु ‘अल्भ्यालाई’ लाई असर गर्छ । अल्भ्यालाईको माध्यमबाट अक्सिजन रगतमा जाने गर्छ र रगतका कोषिकामा भएको कार्बनडाइअक्साइड अल्भ्यालाईमा आई बाहिर जाने प्रक्रिया हुन्छ । ग्यास आदान–प्रदान गर्ने प्रक्रियामा कोरोना भाइरसले असर पार्छ । 



फोक्सोमा भएका तन्तुहरुमा क्रिया–प्रतिक्रिया उत्पन्न गराई पानीजस्तो ‘डिप्लामेटी नेगेटर्स’ उत्पन्न गराई सास फेर्न गाह्रो हुने हुन्छ । जसका कारण कोरोना लागेका र सिकिस्त बिरामीमा श्वास–प्रश्वासको समस्या आउँछ । 

बिरामीहरुलाई सास फेर्न गाह्रो हुनुको मुख्य कारण यही हो । शरीरलाई आवश्यक अक्सिजन पुर्याउनका लागि कोरोना लागेका बिरामीले छिटो–छिटो सास फेर्नुपर्छ । 



मृत्युको कारण नै फोक्सोमा असर हो त ? 

प्रायः कोरोना भाइरसबाट संंक्रमित भएका बिरामीलाई श्वास–प्रश्वासमा समस्या भएर नै मृत्यु भएको पाइन्छ । अक्सिजनको मात्रा शरीरमा कम हुनु भनेको नै फोक्सोमा समस्या आउनु हो । फोक्सोमा रहेका तन्तु तथा कोषिकाले राम्रोसँग काम गर्न नसकी मानिसलाई श्वास–प्रश्वासमा समस्या हुने गरेको पाइन्छ । 

अत्यधिक मात्रामा अक्सिजनको आवश्यकता पर्नु भनेको फोक्सोमा ठूलो मात्रामा निमोनिया देखिनु हो । अहिले अक्सिजनको कमी भई आइसियू तथा भेन्टिलेटरमा भर्ना भएका बिरामीको फोक्सोमा दाग देखिएको छ । एक्सरे गरेर हेर्दा यस्ता दाग देखिएका छन् । निमोनिया साधारणतया ६ देखि आठ घण्टामा निको हुन्छ भने पनि फोक्सोमा रहेको दाग कहिले सञ्चो हुन्छ भन्न सकिँदैन ।

यसले पछिसम्म समस्या ल्याउन सक्छ ?

फोक्सोमा रहेको निमोनिया एक्सरेमा पनि सामान्यतः ६ हप्तामा सन्चो भएको देखिन्छ । तर, फोक्सोमा रहेको दागले भने दीर्घकालीन समस्या पनि ल्याउन सक्छ । यस्ता दागहरुले फाइब्रेटिक चेन्जेजहरु ल्याउने, लामो समयसम्म यसले दुःख दिने हुन सक्छ । फोक्सोका दाग हटेनन् भने फोक्सोको काम गर्ने क्षमता घटेर जान्छ।

यस्ता दागहरुले निकट भविष्यमा निमोनिया, ब्याक्टेरियल इन्फेक्सन भइराख्ने हुन सक्ने हुन्छ । कोरोना भाइरस भाइरल इन्फेक्सन भएकाले यसले पछि पनि फोक्सोका रोगहरु फङ्गल इन्फेक्सन आई दुःख दिने हुन सक्छ । 

अक्सिजन लेभल घटेमा के गर्ने ?

कोरोना भाइरसको संंक्रमण भई आइसियू तथा भेन्टिलेटरमा नै भर्ना भएर उपचारबाट निको भएका बिरामीमा अस्पतालबाट घर फर्किसकेपछि पनि अक्सिजनको समस्या हुन सक्छ । धेरै कोरोना संक्रमितको उपचारका क्रममा यस्ता समस्या आएका छन् । 

घरमा बस्दा अक्सिजन लेभल घटेमा झुकेर व्यायाम गर्नुपर्छ​ । फोक्सोलाई प्राथमिकता दिएर लामो सास लिने, मांसपेशी तन्काउने खुम्च्याउने गर्नुपर्छ । होम आइसोलेसनमा बसेका बिरामीले पनि यस्ता व्यायाम गर्नुपर्छ । घोप्टो परेर सुत्ने ‘टोन पोजिसनिङ’ले अक्सिजन लेभल घटबढ भएमा सास फेर्न सजिलो बनाउँछ । यस्ता व्यायाम स्वस्थ व्यक्तिले पनि गर्दा हुन्छ । यसले सबैलाई स्वस्थ रहन मद्दत गर्छ ।’ 

फोक्सोबाहेक अन्य अंंगमा संंक्रमण हुने कत्तिको सम्भावना छ ?
  
कोरोना भाइरसका कारण यदि फोक्सोमा दाग देखियो भने दीर्घकालीन रुपमा यसले अन्य अंगहरुमा पनि संंक्रमण हुन सक्छ । फोक्सोमा संंक्रमण देखिएपछि यसले रक्तचाप घट्ने, मिर्गाैलामा असर गर्ने, कलेजोमा असर गर्नेलगायत धेरैवटा अंंगमा संक्रमण (मल्टिअर्गान डिस्फङ्सन सिस्टम) भएर मानिसको मृत्यु हुन सक्छ । बिरामीमा पिसाब रोकिने, मिर्गाैलामा समस्या हुने कलेजोमा समस्या हुने, जन्डिसलगायत समस्या ल्याउने गर्छ । 

यस्ता समस्या हुनबाट जोगिन के गर्न सकिन्छ ? 

मुख्य कुरा त जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोरोना भाइरसको संक्रमणबाट बचौँ । केही समस्या आउँदैन । मास्क लगाउने, साबुन–पानीले हात धुने कुरा मन्त्रजस्तै भइसकेको छ । सुरुवाती चरणमा यस्ता कुरामा ध्यान दिएमा संक्रमण हुँदैन र यसले समय, पैसा तथा आफ्नो ज्यान सबैको सुरक्षा हुन्छ । 

जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना मात्रै होइन, अन्य रोगबाट पनि आफूलाई दीर्घकालीन रुपमा सुरक्षित राख्न सकिन्छ । खोप पनि जति सक्दो लगाऔँ । खानपानमा ध्यान दिने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, फलफूल तथा हरियो सागपात भएको खानामा जोड दिने, प्रोटिनयुक्त प्रशस्त झोल पदार्थको सेवन गर्ने गर्नुपर्दछ । यस्ता खानेकुराले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले यस्ता खानेकुरामा ध्यान दिनुपर्छ ।  

आइसियू तथा भेन्टिलेटर बसेर निको भएका बिरामीका लागि कस्तो सुझाब दिनुहुन्छ ? 

फोक्सोमा समस्या भई सिकिस्त भएका बिरामीले पुनः अस्पताल धाउन नपरोस् भन्ने हो भने निरन्तर स्वास्थ्य जाँच तथा चिकित्सकको परामर्श लिई राख्नुपर्छ । यस्ता बिरामीलाई विभिन्न प्रकारका निमोनिया, जस्तैः ढुसीयुक्त निमोनिया, ब्याक्टेरियल निमोनिया देखा पर्न सक्ने सम्भावना छ । 

नेपालमा हालसम्म पुनः अस्पताल भर्ना हुनुपर्ने बिरामी निकै कम छन्, अस्पतालबाट घर फर्किने समयमा पूरै सञ्चो भएको निश्चित नभई घर पठाउँदैनौँ । पठाइएका बिरामीको पनि अक्सिजन लेभल जाँच गरेर मात्रै पठाउने गरेका छौँ । 

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १९:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया