कहिले खुल्छ निषेधाज्ञा ?

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरियो । कोरोना महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । 

संक्रमणदर अझै पनि ३५ प्रतिशतभन्दा बढी नै छ । मृतकको संख्या भने विस्तारै कम हुँदै गइरहेको छ । संक्रमणदर र मृत्युदर कम हुँदै गइरहेको र निको हुनेको संख्या बढ्दै गएपछि एक महिनादेखि जारी निषेधाज्ञा अब हटाउनुपर्ने माग उठ्न थालेको छ । 

गत वर्ष पहिलो लहरमा १२० दिन लकडाउन गरिएको थियो । त्यो बेला देशैभर एकैपटक लकडाउन खोलिएको थियो । बाहिरबाट उपत्यका आउन भने कडाइ गरिएको थियो ।

संक्रमण घट्दै गएसँगै निषेधाज्ञा खोल्नुपर्ने आवाज उठ्न थालेको हो । अहिले धेरैको चासो पनि कहिले निषेधाज्ञा खुल्ला भन्‍नेतिर छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर घटे पनि कम जोखिम उत्तिकै रहेको बताइरहेको छ । 
 
निषेधाज्ञा खुल्ने हल्ला चले पनि संक्रमण एकदमै कम नहुँदासम्म खोल्न नहुने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । 

जनस्वास्थ्यविद् डा. रमेश आचार्य अझै केही समय निषेधाज्ञा खोल्न नहुने बताउँछन् । संक्रमण घटे पनि नियन्त्रणमा आउन अझै समय लाग्ने भन्दै तत्काल निषेधाज्ञा खोल्न नहुने उनको सुझाव छ । ‘अहिले मास ट्रान्समिसन भएको छैन । तर भित्रभित्रै घर-घरमा भने संक्रमण बढिरहेको छ' डा. आचार्यले भन्छन्, 'यस्तो अवस्थामा निषेधाज्ञा खोलियो भने एक महिनापछि भयावह हुन्छ। त्यसैले तत्काल खोल्नु हुँदैन ।'

अझै थप १५ दिन जति निषेधाज्ञा गरेर त्यसपछि मात्रै विस्तारै खुकुलो पार्दै जानुपर्ने सुझाव आचार्य दिन्छन् ।



आचार्यका अनुसार थपिएको  १५ दिनका बीचमा व्यापक मात्रामा परीक्षण गर्नुपर्छ । त्यसपछि विस्तारै खोल्दै जाँदा राम्रो हुन्छ । निषेधाज्ञा खोल्दा सुरुमा जिल्लाभित्र मात्र खोल्नुपर्ने उनको भनाइ छ । जिल्लाभित्र मात्र खोल्दा केही दिन हेरेर संक्रमण बढ्न थाल्यो भने फेरि रोक्नुपर्ने हुन्छ । 

नयाँ भेरियन्ट निकै खतरनाक रहेको भन्दै निषेधाज्ञासँगै जनस्वास्थ्य मापदण्डमा कडाइका गर्दै अबको एक महिना पछिबाट विस्तारै निषेधाज्ञा खोल्न सकिने उनी बताउँछन् ।



अहिलेसम्मको निषेधाज्ञा प्रभावकारी देखिएको दावी गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालको  छ । अझै केही साता निषेधाज्ञा जारी रहने उनले जानकारी दिए। निषेधाज्ञाकै कारण संक्रमणदर कम भइरहेको तर अहिले नै खोल्ने अवस्था नरहेको दाहाल बताउँछन् । 

केही दिन अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ८ देखि १० प्रतिशतमा नझर्दासम्म संक्रमण नियन्त्रणमा आएको भन्न नमिल्ने बताएका थिए । अहिले पनि झण्डै ४० प्रतिशत संक्रमणदर रहेको भन्दै तत्काल निषेधाज्ञा खोल्न नसकिने उनको बुझाइ थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पनि अझै केही साता निषेधाज्ञा जारी नै रहने बताए । 

पछिल्ला केही दिनदेखि अस्पतालहरूमा चाप घट्दै गएको प्रवक्ता पौडेलले बताए । 'अहिले पनि पोजिटिभ हुने दर ४० प्रतिशतको हाराहारीमा  छ । अहिले नै निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ  भन्न सकिँदैन' प्रवक्ता पौडेलले भने।

जेठ अन्तिमसम्मको अवस्था हेरेर निषेधाज्ञा कहिले खुल्न सक्छ भन्न सकिने उनले बताए । 
 

  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १५:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया