देउता कुरी बस्ने फूलमाला लास पर्खिरहन्छन् हिजोआज

ललितपुरको बंगलामुखी मन्दिरको मुख्य प्रवेशद्वार बन्द भएको वर्ष दिन बितिसक्यो । कोरोना कहरपछि बन्द भएको मन्दिरको मूल ढोका भक्तजनका लागि अझै खुलेको छैन । रामेछापकी पवित्रा कार्कीले सोही मन्दिरमा ग्राहक कुरी बसेको झण्डै १९ वर्ष भयो । यो लामो यात्राको दौरानमा पवित्राले बितेका २ वर्ष जति संकट कहिल्यै व्यहोर्न परेको थिएन । जस्तै अप्ठ्यारोमा पनि मान्छेहरू मन्दिर आउँथे, पूजा गर्थे, उनको व्यापार चलेकै थियो । व्यापारसँगै गुजारा पनि चलेकै थियो ।

कोरोनापछि भने उनलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल परेको छ । मन्दिरमा भक्तजन आउँदैनन् । अलिकति त बिक्ला कि भनेर लुकाएर राखेको फूल साँझसम्म ओइलाइ सक्छ । फूलसँगै उनका सपना ओइलाउँछन् । त्यही फूल पनि प्रहरीले देखे मिल्काइदिन्छ । फूलसँगै छरिन्छ पवित्राको मन ।

पवित्रा फूल बेचेर दैनिक ५ सय देखि १ हजार रुपैयाँ आम्दानी गर्थिन् । बिहीबार र शनिबार तथा चाडपर्वका बेला फूलले उनलाई राम्रैसँग उकास्थ्यो । त्यही पैसाले जीवन चलाउँदै आएकी पवित्रा जीवन धान्नै मुस्किल परेपछि अब गाउँ फर्कने विचारमा छिन् । भन्छिन्, ‘गाउँ फर्किन पनि मैले सोचेको जस्तो सजिलो रहेनछ । सबै ठप्प छ । सहज रूपमा गाडि पाइने अवस्था छैन । रिजर्भ गरेर जान सक्ने हैसियत छैन । भात खाने पैसा नभएका बेला कसरी जानु ?’

पवित्राको आडैमा बसेर १० वर्षदेखि फूल माला बेच्दै आएकी मीना श्रेष्ठको कथा पनि उस्तै छ । कोरोना कहरपछि बीचको केही समय उनले ८ सयको व्यापार गरिन् । जुन सामान्य अवस्था हुँदा उनको दैनिक आम्दानी थियो । त्यो आठ सय पनि उनले गत वर्षको सोह्र श्राद्धका बेलामा कमाएकी हुन् । त्यसयता उनको व्यापार छैन । यो काठमाडौंमा अर्को कुनै काम गर्ने उनमा सिप छैन । सिप भए पनि काम पाउने अवस्था छैन ।

उनी भन्छिन्, ‘२ वर्षको कमाइ ८ सय । सम्झनुस् के खाएर जीवन चलेको होला ।’ मीनाको एक्लो ज्यान पनि होइन । विगत १० वर्षदेखि मीनाले फूल, माला तथा पूजाका सामग्री बेचेर दुई छोरा र आफ्नो ज्यान पाल्दै आएकी थिइन् । आम्दानी सानै भए पनि जेनतेन उनको परिवारको गुजारा चलेकै थियो । कोरोनाले उनको रोजीरोटीको बाटै खोसिदियो । तर, अब के गर्ने उनी अन्योलमा छिन् । भन्छिन्, ‘यो समय कहिले सहज भएर जाने हो ? हामी जस्ता दुखियारीका दिन कहिले फिर्ने हुन् ?’ 

यो समस्या पवित्रा र मीनाको मात्रै होइन ।  पशुपतिमा विगत ९ वर्षदेखि फूलको व्यापार गर्दै आएकी हिमाली दाहालको मन कोरोना कहरपछि कयौं पटक अमिलो भयो । हिमालीका २ छोराछोरी छन् । उनका श्रीमानले उनलाई छाडेको ११ वर्ष भयो । श्रीमान् कहाँ छन्, के गर्छन् उनी खोजी गर्न पनि चाहन्नन् । जवाफ दिन पनि मन छैन ।



छोराछोरीका लागि पनि केही गर्नै पर्ने बाध्यतासँग जकडिएर फूल व्यापारमा लागेकी हिमालीलाई कोरोना कहरका कारण छोराछोरीका आवश्यकता पूरा गर्नै मुस्किल छ । उनी भन्छिन्, ‘आफू त पेटमा पटुका कसेर पनि निदाइन्थ्यो । बालख छोरोछोरी सम्झेर मन भक्कानिन्छ । 

बितेको १० वर्षमा हिमालीले कयौं पटक ‘महिनावारी’ का प्रश्न सामना गरिन् । ग्राहकहरू फुल किन्नुअघि उनीसँग महिनावारी भएको हो भनेर प्रश्न गर्ने । उनी आत्तिन्थिन् । व्यवसायका सुरुवाती दिनमा हिमालीले महिनावारी भएका बेला फूल बेच्न मन्दिर गइनन् । उनको घर–व्यवहार चलेन । उनी मन नमानेर पनि महिनावारीका बेला फूल बेच्न गइन् । सुरुका केही समय उनी आफैंलाई डर लाग्थ्यो ।



भगवान् रिसाउलान्, पाप लाग्ला यस्तै-यस्तै । तर, बिस्तारै बानी पर्दै गयो । यी नौ वर्षमा उनले महिनावारी भएका बेला बेचेको फूलले त्यस्तो कुनै अनिष्ट भएको छैन पशुपतिमा । फूल किन्ने ग्राहकको जीवनमा । त्यसैले उनले फूल बेच्न छाडिनन् । कुसँस्कारले असर नगरेको उनको व्यापारमा कोरोनाले असर गर्‍यो । उनी हिजोआज घाटमा ल्याइने लास कुरी बस्छिन् । भगवानको पूजा नभए पनि अन्तिम संस्कारमा फूल बिक्ला भन्ने उनको उद्देश्य हो । त्यो पनि पुलिसको आँखा छलेर बस्नु पर्छ ।

२० वर्षदेखि काठमाडौंको संकटा मन्दिरमा फूल बेच्दै आएकी रमिता पराजुलीले विभिन्न संकट झेलिन् । तर, कोरोना संकटले उनको जीवनमा नराम्रोसँग असर गर्‍यो ।

अघिल्लो वर्षको चैतदेखि उनले आफ्नो व्यवसाय सञ्चालन गर्न सकेकी छैनन् । फूल तथा दियो बेचेर रोगी श्रीमान्, छोराछोरी र उनी भएको सानो परिवारको गुजारा चलाउँदै आएकी रमिताले यो संकटको घडीमा गाउँ फर्किन पनि सकिनन् । भन्छिन्, ‘न अवस्था सहज भइहाल्छ कि भनेर कुरेर बसियो । अहिले जीवन धान्नै मुस्किल छ ।

बरु पहिला नै गाउँ फर्किनु पर्ने रहेछ भन्ने लागिरहन्छ ।’ कोरोना कहरअघि उनको कमाइ दैनिक ५ सयदेखि २५ सयसम्म थियो । हिजोआज मन्दिर बन्द छन् । मानिसहरू घरभित्र थुनिएका छन् । रमिताका फूल, माला र दियो राखेर बेच्ने नाङ्ला घरमै थन्किएका छन् । 

विश्वमै महामारीका रूपमा फैलिएको कोरोना कहरले थुप्रैको जीवनमा असर गरेको छ । त्यसमाथि सामान्य फूलको व्यापार गरेर जीवन धान्ने महिलाको जीवनमा यसले ठूलो प्रभाव पारेको उनीहरूको गुनासो छ ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १३:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया