नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले बजेटमार्फत सरकारले ल्याएको खानीजन्य पदार्थ निर्यात गर्ने कार्यक्रम सरकारको नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
थापाले सरकारले भारतको स्वार्थमा खानीजन्य पदार्थ निर्यातका लागि बजेटमा समावेश गरेको घुमाउरो आरोप लगाएका छन् । उनले यार पोस्नका लागि सरकारले योजना ल्याएको बताए ।
थापाले लेखेका छन्, संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ’नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ ।
बजेटमा राखिएको उक्त कार्यक्रमबाट वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रष्ट भएको थापाले बताए । उनले लेखेका छन्, यो ’नीतिगत भ्रष्टाचार हो’। आफ्ना ’यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ ।
चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको थापाले स्मरण गरे । उनले यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने बताए ।
अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अनदेखा गर्दै सरकारले जस्केलाबाट ल्याएको जनविरोधी कार्यक्रमलाई आफूहरुले प्रतिरोध गर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।