एमालेमा सकस : सके जति नेता तान्ने प्रयासमा ओली समूह, खनाल-नेपालको बाटाे कुन ?
ओलीले फ्याँके 'जेठ २' को कार्ड, नेपाललाई दवाव
फरकधार / २० जेठ, २०७८

राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा विभाजित भइसकेको नेकपा एमाले कानुनी रुपमा भने अहिलेसम्म एक नै छ । एमाले संस्थापन समूह र नेपाल–खनाल समूहमा देखिएको तीव्र मतभेदका कारण आज एकैदिन दुई समूहको बेग्लाबेग्लै बैठक बस्दैछ । 

एमाले संस्थापनको स्थायी कमिटी बैठक दिउँसो ४ बजेका लागि तय भएको छ । यता, खनाल–नेपाल समूहको बैठक भने अहिले ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ । खनाल–नेपाल समूहका ‘हार्डलाइनर’ नेता युवराज ज्ञवालीले बैठकको चाजोपाँजो मिलाएका छन् ।
 
पटकपटक सहमतिका लागि भएको प्रयास असफल भएपछि अन्ततः दुवै समूहका नेताहरु आ–आफ्नो बाटो रोज्ने निश्चितप्रायः भइसकेको एमाले नेता÷कार्यकर्ताको बुझाइ छ । नेपाल समूहका एक नेताका अनुसार जतिसक्दो धेरै आफूहरुका नेताहरु तान्ने प्रयासमा ओली समूह लागेको छ । जसको संकेत मंगलबार बसेको ओली समूहको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले दिइसकेका छन् ।
 
सञ्चारकर्मीको जिज्ञासामा उनले भनेका थिए, ‘सकेसम्म एकतालाई जोगाउन सकियोस्, धेरैभन्दा धेरै साथीहरु मूलधारमा अडिनुस् भन्ने नै प्रयास छ ।’ 

यसैबीच नेता नेपालले बुधबार आफूनिकट जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूसँग भर्चुअल छलफल गरेका थिए । छलफलका क्रममा ओलीले पटक–पटक वार्ताको नाममा झुलाउने काम गरेको ब्रिफिङ गरेका थिए । ‘ओलीले आजसम्म कहिले पनि पार्टी पद्धतिको निर्णयलाई मानेनन्, उल्लंघन मात्रै गरिरहे’, नेपालले बुधबार भनेका थिए ।
सोही निष्कर्षसहित आजलाई बैठक बोलाएका नेता नेपाल अब नयाँ पार्टी खोल्ने कसरतमा रहेको उनी निकटस्थहरुको भनाइ छ ।
 
नेपाल समूहका नेता तान्ने प्रयासमा ओली
एमाले नेपाल समूहमा केही ‘हार्डलाइनर’ र केही ‘सफ्टलाइनर’ नेताहरु छन् । यीमध्ये केही नेताहरुलाई आफ्नो समूहमा तानेर बाँकीलाई छाडेरै अघि बढ्ने रणनीतिमा ओली समूह पुगेको छ । 

बुधबार दिउँसोका लागि बोलाइएको स्थायी कमिटी बैठक आजका लागि सारिएको छ । ओली समूहका एक नेताका अनुसार नेपाल समूहका केही नेताहरुलाई तान्ने प्रयास स्वरुप हिजोको बैठक सरेको थियो । बैठक स्थगित भएपछि एमाले नेता तथा कार्यालय सचिव शेरबहादुर तामाङले फरकधारसँग भने, ‘धेरैजसो साथीहरु मूलधार (ओली समूह) मै फर्कनुहुन्छ । त्यसैको प्रयास भइरहेको छ ।’

जसको प्रयासस्वरुप हिजै प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा ईश्वर पोखरेल र योगेश भट्टराईबीच वार्ता भएको थियो । यसअघि सोमबार राति याक एन्ड यति होटलमा वार्ता भएको थियो । वार्ताबाट कुनै ठोस निश्कर्ष नदेखेपछि नेता पोखरेल पनि विवाद मिलाउने प्रयासस्वरुप लागि परेका छन् । त्यही निरन्तरता स्वरुप पोखरेलले भट्टराईसँग संवाद गरेका हुन् । 

स्रोतका अनुसार पोखरेलले यसअघि झलनाथ खनाल, माधवकुमार नेपाल र भीम रावलसँग पनि कुरा गरिसकेका थिए । 

'जेठ २' को कार्ड, नेपाललाई दवाव
अध्यक्ष ओलीले नेता नेपाल एमालेमै बस्न तयार भएमा आफू सशर्त २०७५ जेठ २ मा फर्कन तयार रहेको बताइसकेका छन् । सोमबार रातभर भएको छलफलपछि उनकै समूहका दोस्रो तहका नेताहरुले सशर्त ओली मान्न तयार भएको ब्रिफिङ नेता नेपाललाई गराएका थिए । 

सोही विषयलाई केन्द्रमा राख्दै बुधबार नेता नेपालले आफूनिकट संगठनका प्रमुखहरुलाई ब्रिफिङ गरेका थिए । तर, ओलीले यो पटक पनि छलछाम गरेर देउवा नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतमा गरेको निवेदनको हस्ताक्षर फिर्ता लिन कार्ड फ्याँकेको बुझाइ छ ।
 
संसद पुनःस्थापना हुनसक्ने देखेपछि पुनः ओलीले सो कार्ड आफूहरुमाथि फालेको हुनसक्ने उनीहरुको बुझाइ छ । तर, नेता नेपाललाई भने यसमा दवाव छ । आफ्नो समूहका हार्डलाइनर नेताहरुले नेपाललाई यो ‘ललाइ फकाई’ मा नलाग्न भनेका छन् । सोहीबारे आजको भर्चुअल बैठकमा पनि छलफल हुने बताइएको छ ।

नेपाल समूहका नेता बेदुराम भुसाल भन्छन्, ‘यहाँ हुन्छ थोरै तर बाहिर बजारमा आउँछ धेरै । एकता मिलनबिन्दुको केही भएको छैन । प्रदीप ज्ञवालीले हामी धेरैभन्दा धेरै साथीहरु ल्याउने प्रयासमा छौँ भनेर घोषणा नै गर्नुभएको छ, उहाँहरुले गर्न लाग्नुभएको पनि त्यही हो ।’ ओलीलाई कम्युनिस्ट एकता र आन्दोलनको माया नभएको टिप्पणी उनले गरे ।

नेपाल समूहमा फाटो ल्याउने प्रयास
एमाले विवाद मिलाउनका लागि गत जेठ २ मा कार्यदल बन्यो । १० सदस्यीय कार्यदल अहिले निस्क्रिय भइसकेको छ । ओलीले दोस्रोपटक संसद विघटन गरेको आक्रोशमा विपक्षी गठबन्धनसँग मिलेमतो गरेपछि नेपाल समूहमै तीव्र मतभेद देखिएको छ ।
 
ओलीले असंवैधानिक रुपमा फेरि संसद विघटन गरेको नेपाल समूहको आरोप छ । उता, विपक्षी गठबन्धनसँग मिलेर देउवालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै ओलीले नेता नेपालसहित ११ जनालाई पार्टीबाटै साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिसकेका छन् । 

कारबाहीपछि भंग भएको वार्ता प्रक्रिया अहिले अनौपचारिक रुपमा नेता–नेताबीच सुरु हुन थालेको छ । जसको पहल स्वरुप हिजो सिंहदरबारमा ईश्वर पोखरेल र योगेश भट्टराईबीच वार्ता भएको थिए । 

नेता तान्न पोखरेलको सक्रियता
पोखरेलले हिजो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा योगेशसँग भेटे । स्रोतका अनुसार पोखरेलले यसअघि झलनाथ खनाल, माधवकुमार नेपाल र भीम रावलसँग पनि कुरा गरिसकेका थिए ।

स्रोतका अनुसार वार्तामा सहभागी गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु ओली पक्षमा जान तयार छन् । आजको भर्चुअल बैठकमा नेता नेपालले गर्ने ब्रिफिङपछि उनीहरुको निर्णय आउन सक्ने निकटस्थहरुको भनाइ छ ।

ओलीका विश्वास पात्र समेत रहेका पोखरेलसँग आगामी दिनमा कसरी अघि बढ्ने र को–को साथीहरु ओली समूहमा देखिएर लाग्नेबारे छलफल अघि बढेको बुझिएको छ ।

  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १०:५:४६,   अन्तिम अपडेट : जेठ २०, २०७८ बिहीबार १२:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया