'पार्टी विभाजन गर्न खोज्नेहरू छुट्टिन्छन्, जसपा आफ्नै ठाउँमा रहिरहन्छ'

पछिल्लो केही महिनायता सत्तारुढ दल नेकपा एमालेमा आएको विवादले एमाले मात्रै होइन, विपक्षी पार्टीमा पनि हलचल ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लोपटक पुस ५मा प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य विपक्षी पार्टीभित्र अब निर्वाचनमा जाने कि संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन चर्काउने भन्नेमा विवाद देखिएको थियो । अघिल्लोपटकको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिक विवाद साम्य हुने धेरैको अपेक्षा थियो । तर, राजनीतिले सीधा बाटो लिनुको सट्टा झनै जटिल मार्ग तय गर्यो । आफ्नै पार्टीबाट असहयोग भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले जेठ ८ गते पुनः संसद विघटन गरे । 

दोस्रोपटकको विघटनको विरुद्धमा जानुपर्नेमा कांग्रेस, माओवादी र जनमोर्चा एकमतले अघि बढेका छन् । यी तीन पार्टी मात्र होइन, स्वयं एमाले र जनता समाजवादी पार्टीका असन्तुष्ट पक्ष पनि अहिले प्रधानमन्त्री कदमको  विरोधमा उत्रिएका छन् । एमाले र जसपाभित्रको विवाद भुसको आगो झैँ फैलिएको छ । एकले अर्कोलाई कारबाही गर्ने शृंखला बढ्दै जाँदा एमाले र जसपा दुवै पार्टी लगभग विभाजनको अवस्थामा पुगेका छन् । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवदे एकले अर्कोलाई पटक–पटक स्पष्टीकरण सोध्दै निष्कासनसम्म गरिसकेका छन् । यसै सन्दर्भमा सहकर्मी दिपक कर्णले जसपाका महन्थ ठाकुर पक्षका नेता वृषेशचन्द्र लालसँग कुराकानी गरेका छन् :

जसपाका दुई अध्यक्ष दुईतिर छन् । एकले अर्कोलाई पटक–पटक स्पष्टीकरण सोध्दै निष्कासनसम्म गरिसकेका छन्, अब महन्थ ठाकुर समूहको कदम के हुन्छ ? जसपा फुट्ने नै भयो त ?

जसपा अहिले संकटमा फसेको सत्य हो । स्थिति विभाजनतिर नै सोझिएको देखिन्छ । अध्यक्ष महन्थ ठाकुर यसलाई रोक्ने कोसिस गर्दै हुनुहुन्छ ।

तर, उपेन्द्र–बाबुरामको समूहले त पार्टी विभाजनको कारक महन्थ ठाकुर र राजेन्द्र महतो हुन् भनेका छन् नि ?

वास्तविकता के हो भने उपेन्द्रजी र बाबुराम समूहले नै पार्टी विभाजनको नियतले गतिविधि र उपक्रम सुरु गरिरहेका छन् । सर्वप्रथम, हुँदै नभएको बैठकको निर्णय भनेर र झुटो निर्देशन दिएर लुम्बिनी प्रदेशका सांसदहरूलाई अविश्वासको प्रस्तावमा सही गर्न लगाए । पार्टीको घोषित नीति तटस्थताको भए पनि एउटा पक्षतिर नियतवश धकेल्ने प्रयास भयो । सांसदहरूले वास्तविकता थाहा पाएपछि ६ जनामध्ये ४ सांसदले फरक निर्णय लिएपछि उनीहरुलाई सांसदबाटै हटाउने कारबाहीको प्रयत्न गरियो । सर्वोच्चले यस्तो धोखाधडीलाई उल्ट्याइदिएको छ । 



दोस्रो, संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा पार्टीको घोषित नीतिविपरीत स्वविवेकको कुरा गरी उहाँहरुको नेतृत्वमा केही सांसदले विपक्षमा मतदान गरे । विभाजनको यो दोस्रो उपक्रम थियो । 

तेस्रो, उहाँको नेतृत्वमा विपक्षी गठबन्धनको दाबी पत्रमा जसपाको ३२ मध्ये १२ सांसदको हस्ताक्षर गराइयो । जबकि संसदीय दलको निर्णय त्यस्तो थिएन । बाध्य भएर संसदीय दलले आफ्नो स्थिति स्पष्ट गर्नुपर्यो । यो विभाजन गर्ने तेस्रो प्रयत्न थियो ।



चौथो, उहाँले विकसित परिस्थितिमा आन्दोलनका मुद्दाहरूको सम्बोधन गराउने प्रयास गरिरहनुभएका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्ललाई स्पष्टीकरण सोध्ने काम गर्नुभयो । यो वातावरण बिगार्ने र विभाजन गर्ने अर्को प्रयास भयो ।

स्पष्टीकरण त महन्थ ठाकुरले पनि सोध्नुभयो नि, होइन ?

उहाँले यसो किन गर्नुभएको भनेर सोध्नुभएको हो । पार्टी विभाजित गर्ने काममा लागेपछि सोध्नु बाध्यता भयो नि त !

बाबुरामजीले त भेडा भेडातिर बाख्रा बाख्रातिर बसौँ, सहमतिमै छुट्टिऔँ भनिसक्नुभएको छ । मिल्ने कुरा त कहाँ भयो र ? उहाँहरू जसरी भए पनि फुट्ने भनेर लाग्नुभएको यसबाट पनि साबित हुन्छ ।

बहुमत उहाँहरूसँग भनिन्छ नि ?

बहुमत कसैले औँलामा गनेर हुने होइन । कार्यकारिणीका सदस्यहरू सबै योग्य र विवेकशील छन् । अल्पमत–बहुमतको निर्क्योल बैठकबाट नै हुनुपर्छ । दुवै अध्यक्षको सहमतिले डाकिएको बैठकबाट । फेरि नयाँ–नयाँ परिस्थिति विकसित भयो र वास्तविकता बाहिर आयो भने मत परिवर्तन पनि हुन्छ ।

पार्टी फुटेर राजपा र समाजवादी ब्युँतिन लागेको हो ? 

पार्टी विभाजित गर्न खोज्ने छुट्टिन्छन् । जे नाम राखून् । महन्थ ठाकुर पार्टी फुटाउने गरी अघि–अघि हिँड्नुभएको होइन । पार्टीको एजेन्डाको सम्बोधन होस् । लाल आयोगको प्रतिवेदन प्रकाशित होस् । झुटा मुद्दाको खारेजी र रेशम चौधरीलगायतको रिहाइ होस् । संविधान संशोधनको वातावरण बनेर काम अगाडि बढोस् भन्ने चाहनुभएको हो । पार्टी तोड्न होइन । जसपा आफ्नो ठाममा रहिरहन्छ ।

  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १८:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया