कहाँ गयो कोरोनाविरुद्धको दुई अर्ब डोज भ्याक्सिन?
विश्वका धनी देशको कब्जामा ५७ प्रतिशत भ्याक्सिन

कोरोना भाइरस महामारी पूरै विश्वलाई तहसनहस गर्ने गरी फैलिसकेको छ। कोरोनाको यो संकटबीच छोटो समयमै विश्वभर करिब २ अर्ब डोज भ्याक्सिन पनि बनिसकेको छ। यो कोरोना संक्रमण रोक्ने कोशेढुंगा बराबर हो।

एक अनुमान अनुसार राम्रो खबर के छ भने यस सालको अन्तिमसम्म विश्वभरमा ५ अर्ब ८० करोड वयस्कलाई दिनका लागि भ्याक्सिनको डोज उपलब्ध हुनेछ। अर्कातिर नराम्रो खबर भनेको भ्याक्सिनको उत्पादन भौगोलिक रूपमा केन्द्रीकृत छ। साथै विश्वका शक्ति राष्ट्रहरू यसलाई संग्रह गर्ने अभियानमा छन्। 

यस्तोमा विश्वका सबै नागरिकलाई भ्याक्सिन पुर्‍याउने योजनामा झट्का लागिरहेको छ। विश्वमा भ्याक्सिनको उपलब्धतालाई प्रभावित पार्ने केही कारकबारे नजर लगाऊँ।

ड्युक्स ग्लोबल हेल्थ इनोभेसन सेन्टर (जीएचआईसी) का अनुसार यस साल १२ अर्ब डोज खोप उत्पादन हुन सक्छ। भ्याक्सिनको उत्पादन र आपूर्तिमाथि निगरानी गर्दै आएको एनालिटिक्स फर्म एयरफिनिटीको अनुमान अनुसार सन् २०२१ मा ११ अर्ब १० करोड भन्दा धेरै भ्याक्सिनको डोज उपलब्ध हुन सक्नेछ।

एयरफिनिटीका अनुसार पाँच वर्ष र त्यो भन्दा बढी उमेरको ७५ प्रतिशत जनसंख्याका लागि भ्याक्सिन दिन १० अर्ब ८२ करोड डोज भ्याक्सिन पर्याप्त हुन्छ।

ड्युक्स ग्लोबल हेल्थ इनोभेसन सेन्टरकी सहायक निर्देशक एन्ड्रिया टेलरले बीबीसीसँग भनेकी छन्, 'यो पटकको महामारी पूरा विश्वमा भ्याक्सिनको उत्पादन समान रूपमा नभएको कुरा प्रष्ट पारिसकेको छ।'



भ्याक्सिनको उत्पादन हुने स्थानले पनि ठूलो अर्थ राख्छ। धेरैजसो भ्याक्सिनको उत्पादन अमेरिका र युरोपमा भइरहेको छ। यी देशलाई सबैभन्दा पहिले भ्याक्सिनको डोज मिलिरहेको छ किनकि उनीहरु आफैँ उत्पादक छन्। 

यी देशले निर्यातमा प्रतिबन्ध लगाउने जस्ता अनेक विधि प्रयोग गरेर सबैभन्दा पहिले आफ्ना नागरिकका लागि खोप जम्मा गरिरहेका छन्। 



चुनौती 

भ्याक्सिनको उत्पादनमा एक अर्को ठूलो चुनौती देखिएको छ आपूर्ति संयन्त्र। भ्याक्सिनमा लाग्ने कच्चा पदार्थको आपूर्तिदेखि लिएर व्यवस्थापकीय र विशेषज्ञतासम्म एक अर्को देशबीच आपूर्ति नेटवर्क पनि राम्रो अवस्थामा छैन। त्यसको नतिजा कयौँ स्थानमा नयाँ डोज बन्नुपर्ने बेलामा उत्पादन नै ठप्प भएको छ।

यो अड्चनले भ्याक्सिन उत्पादनलाई कयौँ किसिमले प्रभावित गरिरहेको छ। एयरफिनिटीको अनुमान अनुसार यस साल वैश्विक आपूर्तिमा तीन भ्याक्सिनको दबदबा कायम रहनेछ। फाइजर/बायोएनटेक (२.४७ अर्ब डोज), अक्सफोर्ड/एस्ट्राजेनेका (१.९६ अर्ब डोज) र सिनोभ्याक (१.३५ अर्ब डोज) ।

अहिलेसम्म फाइजर र सिनोभ्याक उत्पादनको सुरुवाती लक्ष्यलाई पूरा गर्न सफल भएका छन्। तर पनि एस्ट्राजेनेले यस साल भ्याक्सिनको ३ अर्ब डोज बनाउने योजना बनाएको थियो।

यस लक्ष्यलाई पूरा गर्न कम्पनी अलग-अलग स्थानमा भ्याक्सिन उत्पादन गरिरहेका साझेदारीमा निर्भर थियो। यसका लागि भ्याक्सिन बनाउने विधि र विशेषज्ञताको आदानप्रदान पनि अनिवार्य शर्त बनेको छ।

टेलर भन्छिन्, 'एस्ट्राजेनेका यी मुद्दा सुल्झाउन लामो समय लाग् सक्छ। मलाई लाग्छ वैश्विक साझेदार र प्रविधिको हस्तान्तरणबाट उत्पादन बनाउनेबारेमा सोचिरहेका अन्य कम्पनीसँग यस्तै भइरहेको छ। यस पूरा प्रक्रियाका कारण भ्याक्सिनको उत्पादनमा ढिला भइरहेको छ। तर यसको विपरीत फाइजर र सिनोभ्याक आफ्नो स्तरमा उत्पादन बढाइरहेका छन्।'

भ्याक्सिनको संग्रह

विश्वमा भ्याक्सिन वितरणलाई प्रभावित पार्ने अर्को अहम  कारक हो- भ्याक्सिनको निर्यातमा प्रतिबन्ध। एयरफिनिटीका वरिष्ठ विश्लेषक म्याट लिनलेले ठूला देशले भ्याक्सिन लुकाउँदा विकासशील देशमा संक्रमणको खतरा बढ्दै  गएको छ।

फाइजर सबैभन्दा धेरै भ्याक्सिनको डोज बनाइरहेको छ। तर यो भ्याक्सिन ती धनी देशमा मात्रै पुग्दैछ, जसले ठूलो परिमाणमा किन्न सक्छन्। एस्ट्राजेनेको उत्पादन युरोप र भारतमा भइरहेको छ। यसको वितरण पनि त्यहीँ मात्रै सीमित छ।

एयरफिनिटीका अनुसार केवल चीन मात्रै अहिले ठूलो परिमाणमा भ्याक्सिन बनाइरहेको छ। उसले अहिलेसम्म २६ करोड ३० लाख डोज भ्याक्सिन विदेश पठाइसकेको छ। चीनले संयुक्त राष्ट्र संघको भ्याक्सिन वितरणको योजना को-भ्याक्सबाट सबैभन्दा धेरै भ्याक्सिन अन्य देशमा पठाएको छ।

निश्चित रूपमा भ्याक्सिन वितरणको मामिलामा अहिले चीनको दबदबा विश्वभर छ। लिनलेका अनुसार अर्को उत्पादक रुसले बचन त दियो तर चीनले जसरी विश्वभर सहयोगका लागि ठोस काम गर्दै गरेन।

आपतकालीन योजना छैन

एयरफिनिटीका अनुसार १७ मे सम्म रुसको स्पुतनिक-५ को ४ करोड २ लाख डोज उत्पादन भएको थियो। जसमा १ करोड ३० लाख डोज निर्यात गरिएको छ। 

स्पुतनिक-५ भ्याक्सिनमा पनि उत्पादन विधि हस्तान्तरण जस्ता समस्या छन्। रुसले सुरुआतमा विश्वस्तरमा १८ उत्पादन केन्द्रलाई लिएर सम्झौता गरेका थिए। रूसबाहिर स्पुतनिक-५ को उत्पादन केबल कजाखस्तानमा मात्रै भइरहेको छ।

धेरैजसो विकासशील देश भारतको सिरम इन्स्टिच्युटमा बनिरहेको एस्ट्राजेनेको भ्याक्सिनतर्फ नजर लगाइरहेका छन्। सिरम इन्स्टिच्युट महामारीयता हरेक वर्ष विश्वको ६० प्रतिशत भ्याक्सिन उत्पादन गर्दैछ। 

तर भारतमा यसवर्ष कोभिड-१९ को डरलाग्दो लहर आएपछि भारतले भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको छ। यसको परिणाम गरिब देशमा भइरहेको भ्याक्सिन आपूर्ति ठप्प छ।

टेलरका अनुसार भारतमा धेरै निर्भरताका कारण वैश्विक आपूर्ति नराम्ररी प्रभावित भएको छ। 'भारतमा आएको कोरोनाको दोस्रो लहरबाट विश्वका सारा योजना धर्मराएका छन्। यसको अर्को विकल्प पनि छैन । 

विश्वमा दोस्रो कुनै सिरम इन्स्टिच्युट छैन, जसले संकटको घडीमा उसको स्थान लिन सकोस्। यसकारण गरिब देश र विश्वभरमा भ्याक्सिनको सन्तुलित वितरणलाई लिएर संयुक्त राष्ट्रसंघको पहल को-भ्याक्समा नराम्रो असर परेको छ।'

को-भ्याक्समार्फत सन् २०२१ को अन्त्यसम्म करिब दुई अर्ब डोज वितरण गर्ने लक्ष्य छ। यस अभियानमा सामेल देशको २० प्रतिशत जनसंख्यासम्म भ्याक्सिन पुर्‍याउने योजना थियो। युनिसेफका अनुसार को-भ्याक्समार्फत १२५ देशलाई ७ करोड २० लाख डोज खोप पुर्‍याउन सम्भव भएको छ।

भ्याक्सिनको साझेदारी

'भ्याक्सिन कूटनीति' र भ्याक्सिनलाई लिएर एकताको कुराका बावजुद कयौँ देश यस्ता पनि छन् जसले भ्याक्सिन विदेशमा पठाउन मानेका छैनन्। एयरफिनिटीको अनुमान अनुसार यदि आपूर्तिको लक्ष्य पालन भएमा सन् २०२१ को अन्त्यसम्म पूरा विश्वभर कोरोनाविरुद्धको २ अर्ब ६० करोड डोज खोप अतिरिक्त हुनेछ।

सन् २०२१ मा को-भ्याक्सले जुन लक्ष्य राखेको छ, त्यसको कयौँ गुणा धेरै भ्याक्सिन युरोपेली संघ र पाँच अन्य देश-अमेरिका, जापान, बेलायत, ब्राजिल र क्यानाडामा ९० प्रतिशत भ्याक्सिन हुनेछ।

लिनलेले यो सरप्लस डोज संयुक्त राष्ट्रसंघको अभियान को-भ्याक्सलाई दिएमा यसले पूरै विश्वका हरेक देशका खोप अतिआवश्यक मानिसको ज्यान जोगाउन सकिनेछ।

कोभिड भ्याक्सिन

तर पनि लिनलेले यसभन्दा अघि हुने कुराबारे केही बताउन नसकिने उल्लेख गरे। यसबारे उनले कयौँ धनी देशले आफ्नो जनसंख्यालाई 'बुस्टर सट' दिनेबारेमा सोचिरहेकाले यस्तो बताएकी हुन्। अन्य कयौँ मुलुक यी भ्याक्सिन आफ्ना बालबालिकालाई पनि लगाउने तयारीमा छन्। 

निसेफमा आपूर्ति विभागका खोप केन्द्र प्रबन्धक एन अटोसेनले बताए अनुसार जुन देश आफ्ना नागरिकलाई खोप लगाउने कुरामा धेरै अगाडि छन्, उनीहरुले अन्य देशसँग भ्याक्सिनलाई लिएर द्विपक्षीय सम्झौता गरिरहेका छन्। 

भ्याक्सिनको आपूर्तिका लागि जति अर्डर भएको छ, त्यसको ५४ प्रतिशत हिस्सा धनाढ्य देशबाट भएको छ। जबकि यिनको जनसख्या विश्वको १९ प्रतिशत मात्रै छ। अटेसेनका अनुसार धनी देशलाई तत्काल भ्याक्सिनको आपूर्तिमा सन्तुलन मिलाउन आफ्नो भ्याक्सिनको अतिरिक्त डोज गरिब देशलाई दिनु जरुरी छ। गरिब देश भ्याक्सिन लगाउने दौडमा धेरै पछाडि परेका छन्। 

भ्याक्सिन

अमेरिकाले एस्ट्राजेनेको भ्याक्सिनको ६ करोड डोज बाँड्ने घोषणा गरेको थियो। तर अहिले पनि अमेरिकामा यसको प्रयोग अनुमति दिइएको छैन। अमेरिकी राष्ट्रपति जो बाइडनले अनुमति मिलेपछि अन्य भ्याक्सिनको पनि दुई करोड अतिरिक्त डोज अन्य देशलाई उपलब्ध गराउने बताएका थिए।

फ्रान्सले जुन अन्तिमसम्म को-भ्याक्स अभियानलाई भ्याक्सिनको पाँच लाख डोज दिने घोषणा गरेको छ। अटोसेन भन्छन्, 'भ्याक्सिनको खोज, उत्पादन र वितरणको गति ऐतिहासिक छ। हाम्रो सामु सबैभन्दा ठूलो चुनौती भ्याक्सिनको आपूर्तिलाई लिएर देखिएको छ।'

विश्वस्तरमा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने मानिसहरु कम-मध्यम आम्दानी भएका देशमा भ्याक्सिनको उपलब्धता सुनिश्चित गर्ने कुरा गरिरहेका छन्। त पनि अहिलेसम्म ठोस ठोस विकल्प देखिएको छैन। अटोसेन भन्छन्, 'महामारीको चक्रलाई रोक्न सीमित भ्याक्सिन आपूर्तिको वितरणमा सन्तुलन ल्याउनु अति नै जरुरी छ।'

  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १९:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया