अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा

संयुक्त राज्य अमेरिकाले कोरोना महामारीसँग जुधिरहेका नेपालसहित १६ एसियाली विकासशील देशहरूलाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालले चीन र अमेरिकाबाट ५०/५० लाख डोज खोप किन्ने तयारी गरिरहेका बेला यस्तो घोषणा भएको हो। अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले दिएका छन्। 

'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता  र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को  सफलता प्राप्त भएको छ', ढकालले भनेका छन्, 'हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने जानकारी गराएको छ।'

यसअघि यही शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप दिन आग्रह गरेकी थिइन्। तर अमेरिकाले नेपाललाई दिने खोपको परिणाम भने एकिन भएको छैन। 

राष्ट्रपति भण्डारीले भारत, चीन, बेलायत, अमेरिका र रसियाका राष्ट्र प्रमुखसँग खोप उपलब्ध गराइदिन भन्दै पत्र पठाएकी थिइन्। 



राष्ट्रपति भण्डारीले समकक्षी बाइडेनलाई लेखेको पत्रमा अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड डोज खोपमध्ये केही खोप नेपाललाई उपलब्ध गराउनका लागि अमेरिकालाई आग्रह गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीले बाइडेनलाई लेखेको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा बुझाएका थिए। खोप ल्याउनका लागि पछिल्लो समय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कूटनीतिक पहल गरिरहेका थिए। 



पत्र बुझेपछि दूतावासका अनुसार अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्विपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन पहल गर्ने जानकारी दिएका थिए। त्यसलगत्तै अमेरिकाले नेपालसहित एसियाका १६ राष्ट्रलाई खोप दिने घोषणा गरेको हो। 

अमेरिकाले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आग्रह सुनेको भन्दै धन्यवाद दिएका छन्। उनले यो सहयोगका लागि नेपाल र नेपालीको तर्फबाट धन्यवाद दिएका छन्। 

यसअघि अघिल्लो साता बुधबार राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोन गरेर खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्। त्यसलगत्तै चीनले दिने घोषणा गरेको १० लाख डोज खोप यही आइतवार र सोमबार काठमाडौं आइसकेको छ। 

सच्याइएको*** यसअघि राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाललाई उद्धृत गरेर ५० लाख डोज खोपसम्बन्धी विवरण उल्लेख गरिएकोमा सच्याइएको छ। -सम्पादक

  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार २१:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया